भएभरको पानी खनिनु, ढिस्कामुनि घर, सडकको एकत्रित भेल एकै ठाउँबाट बग्नु

|

पर्वत : भदौ १७ गतेको भीषण वर्षाका कारण पहिरो जाँदा पर्वतका ४ ठाउँमा ११ जनाको मृत्यु भएको १२ औं दिन भएको छ। परिवार नै सोत्तर भएकादेखि कोही जोगिएर कोहीको मृत्यु भएका कारण पीडितसहित जिल्लावासीका आँखा अझै पनि ओभाएका छैनन्।

एकै परिवारका ५ जनाको मृत्यु भएको कुश्मा नगरपालिका–३ दुर्लुङमा त गत वर्ष पनि पहिरोमा नै परेर ९ जनाको मृत्यु भएको थियो। यसैले पनि पहिरो भन्नासाथै पर्वतवासीको आङ नै जिरिङ्ग हुने गर्दछ। परिवार नै सखाप हुने ठूला पहिरा पहिले नआउने गरेको भए पनि पछिल्लो समय देशका विभिन्न ठाउँमा समेत यस्तै खालका प्राकृतिक विपद आइरहेका छन्।

भदौ १७ गते राति करिब २ बजे कुश्मा नगरपालिका–३ दुर्लुङमा माथिबाट खसेको पहिरोले घर पुर्दा ७० वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भगवती पौडेल, १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनीता पौडेल र ९ वर्षीय विनोद पौडेलको मृत्यु भयो।

कुश्मा नगरपालिका–११ पकुवामा पनि ४० वर्षीया मायाकुमारी पौडेल, उनका ३ वर्षीय छोरा प्रयुष र सासु ७० वर्षीया डल्ली पौडेल पाध्याको मृत्यु भयो। पकुवाकै अर्को ठाउँमा सुतिरहेका बेला आएको पहिरोले पुर्दा ३५ वर्षीया दुर्गा पौडेल र उनका ७ वर्षीय छोरा गणेशको मृत्यु भयो। मोदी गाउँपालिका–५ अम्बोटकी ५० वर्षीया फूलमाया थापाको पहिरोमा परेर नै मृत्यु भयो।

भएभरको पानी खनिनु, ढिस्कामुनि घर

दुर्लुङ पहिरो

दुर्लुङमा पहिरो गएलगत्तै सुरक्षा निकाय, प्रशासन, सरोकारवाला कार्यालयका कर्मचारी कोही उद्धारका लागि त कोही पहिरोको कारण खोज्न घटनास्थलमा पुगे। उनीहरूमध्ये धेरैलाई पहिरो जानुको कारण सोध्दा निश्चित ठाउँमा खन्याएझैँ गरी मुसलधारे वर्षा हुनु, ढिस्कामुनि घर हुनु र मोटर बाटोका कारण भेल एकोहोरिएर नयाँ ठाउँबाट बग्नुलगायत देखिएको जवाफ दिए। 

भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलको पुरानो घर दुर्लुङ नै हो। जुन घरमा ५ जनाको मृत्यु भयो, त्यो घर पौडेलका परिवारले ५० वर्षअगाडी बनाएको थियो।

घटना भएको थाहा पाएपछि त्यहाँ पुगेका उनले भू–बनोटबारे राम्रोसँग अध्ययन गरे, निष्कर्षमा मृत्युको मुख्य कारण ढिस्कामुनि घर रहनु निकाले। त्यससँगै पर्वत सदरमुकाम कुश्माबजारबाट मोदी गाउँपालिका–५ पातिचौरको भागमा एकाएक अत्यधिक वर्षा हुनु पहिरोको कारक रहेको उनको भनाई छ।

‘घरभन्दा माथि पहिरो सुरु भएको स्थानमा ढिस्को रहेछ। त्यो पनि चर्किएको र त्यही ढिस्कामा गह्रौँ खालका रुखहरू रहेका थिए। त्यहाँ मोटरबाटो नभएकाले बाटोको दोष छैन। माथिबाट सीधै पहिरो लगाइदिएको जस्तो देखिने, कोप्रो परेर झुन्डिएको भाग ह्वात्तै खसेर आएको छ,’ उनी भन्छन्, ‘कुश्मादेखि पातिचौरसम्म मोदी खोलाको तीरमा हेर्ने हो भने २/३ सय पहिरा होलान्, भएभरको आकाश नै त्यति भागमा खनिएछ।’

पहिरो सुरु भएको स्थान पहिले ढुंगा निकालेको खानीजस्तो पनि देखिएको बताउँदै उनले ढिस्को चर्किएको देखेर घरकी बुहारीले त्यो पुरेर समेत आएको उल्लेख गरे। ‘चर्किएको ढिस्कोमा पानी छिर्न नदिन पुरेर आएकी मान्छेले त्यसपछि हुन सक्ने जोखिमलाई अनुमान गरेर घरमा नबस्नुपर्ने थियो। छिमेकीले पनि घर खतरामा छ है त भनेका रहेछन् नि,’ उनले भने, ‘चिरा परेको ठाउँको सीधा तल घर थियो, करेसासम्म आयो आँगनमा पनि पहिरो पुगेन। पर्खालमा ट्वाक्क लाग्यो, घर थचक्क बस्यो ५ जनालाई लग्यो।’

पकुवा पहिरो

कुश्मा नगरपालिका–११ पकुवामा ३ जनाको ज्यान लिएको पहिरोको कारण सडकबाट एकोहोरिएर गएको भल रहेको भू–संरक्षण अधिकृत पौडेल बताउँछन्। वैज्ञानिक तवरबाट नखनिएका सडक र त्यसमा पनि वैज्ञानिक तरिकाले भल व्यवस्थापन गर्न नसक्दा जहाँको जमिन कमजोर छ, त्यहीँबाट भल बग्न थाल्दा नसोचेका ठाउँमा पहिरो जान थालेको उनको भनाई छ।

‘मोटरबाटो खनेपछि आउनसक्ने भललाई समयमै व्यवस्थापन गर्नु पर्छ कि पर्दैन? पानी छिरलिएर बग्न पाएको भए त्यहाँको घटना नै नहुने रहेछ। बाटोको कारण भएभरको पानी रोडमा बग्दै एकै ठाउँबाट झरेर गयो,’ उनले भने, ‘पुराना जमानाका पुराना खोल्साबाट पहिलेकै प्राकृतिक तरिकाले भल जान पाएको भए यस्तो शोकमा बाँच्नुपर्ने थिएन। हरेक जिल्लाको हालत उस्तै छ।’

पकुवाकै अर्को पहिरो घरकै करेसाबाट आएको छ, जसले घरको भित्ता भत्काउँदा नजिकै सुतेकाको मृत्यु भयो। घरको मुख्य भाग केही पनि भएको छैन तर त्यही घरको कोठीमा सुतेकाले प्राण गुमाउनुपर्‍यो।

​पर्वतसहित आफ्नो कार्यक्षेत्रमा परेका ५ जिल्लाको भूगोल, बनोट, माटो र चट्टान, सडक निर्माण, बस्तीको अवस्थिति लगायतमा चासो राख्दै आएको कार्यालय प्रमुख पौडेलले पहिरोमा मानिसको मृत्यु हुनुको मुख्य कारण डाँडामुनि भिरालो जमिनमा बस्ती बसाउनु, खोला किनारमा च्यापेर बस्ती बसाल्नु, पहिरोका दायाँ बायाँ रहेका घरमा जोखिम मोलेर बस्नु तथा नयाँ संरचना निर्माण गर्नु, जलवायु परिवर्तनको प्रभाव, कमजोर माटो र चट्टान तथा भूकम्पका कारण हल्लिएर कमजोर बनेको जमिन रहेको बताउँछन्।

बस्तीमा खोला हैन, खोलामा बस्ती पस्यो

कार्यालय प्रमुख पौडेलले मानवीय व्यवहारका कारण नै आजभोलि बाढी, पहिरो र डुबानको समस्यामा जनता परेको बताए। बस्तीमा खोला पसेको नभई खोलामा बस्ती पसेकाले देशका धेरै ठाउँमा दुर्दशाका समाचार आउने गरेको उनको भनाई छ।

‘मान्छे त चेतनशील प्राणी हो, जति आधुनिकतामा आयो उति नै सचेत हुनुपर्नेमा झनै अचेत बन्दै आएको जस्तो देखिन्छ। मोटरबाटोमै जोडेर घर किन बनाउन परेको होला? खोल्सा मिच्दै पुरपार पारेर घर किन बनाएको होला? प्राकृतिक रूपमा खोल्सामा बग्ने गरेको पानीको वेग किन परिवर्तन गर्न खोजेको होला?,’ प्रश्न गर्दै उनले  थपे, ‘प्रकृति मिचेर बसे पनि पानी कम परेको बेलामा त ठिकै हो ठूलो वर्षा भएको बेलामा त पानीले बाटो छोड्दैन। बस्तीमा खोला होइन कि, खोलामा बस्ती पसेको हो। मान्छेले अतिक्रमण गरिरहेको छ। घर बनाउन पाए भइहाल्यो। पहिले–पहिले खोल्सा राखेर पानी सुरक्षित तरिकाले पठाइन्थ्यो, अहिलेको बलवान मान्छेले खोलै फर्काउन खोजेको छ। प्रकृतिसँग जबरजस्तीको लडाईं लडेर पनि मान्छेको प्राण बाँच्छ र?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.