|

झापा : कोरोना भाइरस संक्रमण दर कम भएसँगै झापाका सामुदायिक तथा निजी विद्यालयहरू पुनः सञ्चालनमा आउन थालेका छन्। केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आइसकेका छन् भने कुनै स्थानीय तहले असोज १ देखि सञ्चालनमा ल्याउने तयारी गरेका छन्।

कोरोना भाइरसको दोस्रो लहरसँगै गत वैशाखदेखि बन्द भएका विद्यालयहरू पुनः सञ्चालन गर्ने अधिकांश स्थानीय तहले भौतिक उपस्थितिमा नै प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप गराउने तयारीमा जुटेका हुन्। सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार तयार गरिसकेको छ।

कार्यविधिअनुसार सम्बन्धित स्थानीय तहले चालु हप्तामा भएको परीक्षण, संक्रमण र मृत्युदर, जनसंख्या आदिको अलग अलग मूल्यांकन गरी आएको प्राप्तांकलाई एकीकृतरुपमा जोडेर रेड, एम्बर, यल्लो, ग्रिन कलरले जोखिमको भ्यालुसहित स्तर निर्धारण गर्ने र सोही अनुसार विद्यालय खुलाउने भनिएको छ।

रातो र एम्बर जोनमा वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने, यल्लो जोनमा एक तिहाइ विद्यार्थीलाई आलोपालोमा बोलाएर विद्यालय खोल्न पाउने र ग्रिन जोनमा पूर्ण भौतिक रुपमा विद्यालय खोल्न पाउने व्यवस्था गरेको छ।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाका सबै विद्यालय भदौ २२ देखि सञ्चालनमा आएका छन्। कचनकवल यल्लो जोनमा रहेकोले विद्यार्थीलाई आलोपालोमा बोलाएर विद्यालय सञ्चालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका छवि बस्नेतले जानकारी दिए।

हल्दिबारी गाउँपालिकामा असोज १ देखि सबै विद्यालय खुलाउने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले बताए। सरोकारवालासँगको छलफलपछि गत शुक्रबार गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार विद्यालय खुलाउने निर्णय भएको उनले बताए। निर्णय गर्नु अघि हल्दिबारी ग्रिन जोनमा थियो। दुई जना संक्रमितको मृत्युपछि हाल यल्लो जोनमा रहेको छ।

बिर्तामोड नगरपालिकाले असोज ४ देखि आंशिक रुपमा विद्यालय खुलाउने निर्णय गरेको छ। बिर्तामोड पनि यल्लो जोनमा रहेको छ। बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले मन्त्रालयले तयार गरेको निर्देशिका पूर्ण रुपमा पालना गरी भौतिक रुपमा प्रत्यक्ष पठनपाठन गराउने निर्णय गरिएको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए।

त्यसैगरी भद्रपुर नगरपालिकाले असोजको पहिलो साताभित्र विद्यालय खुलाउने तयारीमा जुटेको नगर शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए। विद्यालय खुलाउने विषयमा नगरपालिकाले शिक्षा शाखा, शिक्षक र सरोकारवाला निकायसँग छलफल थालिसकेको बताउँदै उनले भने, ‘नगर कुन जोनमा पर्छ, त्यसको लागि स्वास्थ्य कार्यालयसँग हामीले माग गरेका छौं।’

मेचीनगर नगरपालिका पनि विद्यालय खुलाउने तयारीमा रहेको जनाइएको छ। मेचीनगरका संस्थागत विद्यालय सञ्चालकहरूले विद्यालय सञ्चालन गर्ने वातावरण तयार गरिदिन अनुरोध गर्दै आइतबार नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। अभिभावकहरूबाट समेत विद्यालय सञ्चालनमा दबाब आउन थालेको भन्दै विद्यालय बन्द हुँदा विद्यालयमा आश्रित सयौँ श्रमजीवी शिक्षकहरूको रोजगारी संकटमा पर्न गएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

जिल्लाका अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, बाह्रदशी गाउँपालिकाले पनि विद्यालय खुलाउन सरोकारवाला निकायसँग छलफल थालेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.