|

ओम कोइराला

राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन। मदन भण्डारीको मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रहेछ। जनताको छोरा मर्दा देश रुँदो रहेछ। मदनको मृत्युपछि मदनकै शोक सभामा जेबी टुहुरेले यो शोक गीत गाइरहँदा सभामा उपस्थित मान्छेको आँखा रसाइरहेका थिए। यो शोक गीत थियो।

जेबीको स्वरले सबैलाई भावुक बनायो। यसको रचना गरेका थिए अनिल पौडेलले, शब्द चयन गरेर अनुकूलको शब्द राख्न सक्ने अनिल र त्यसलाई मान्छेको मन छुने गरी स्वर दिने जेबी टुहुरे।​

आमा दिदी बैनी हो। कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर,
तिमीजस्तै दिदी बहिनी चन्द्रमामा पुगिसके आफ्नो शक्ति चिनिसके तिमी भने मजेरीमा...

जब मञ्‍चमा जेबीको स्वरमा गीत गुञ्‍जन थाल्छ। दर्शक दीर्घामा बसेका श्रोता दर्शक आफैं नाच्न थाल्छन्। ननाचे पनि ताली पिट्छन्। मञ्‍च झैं गुन्जिन्छ दर्शक दीर्घामा। जेबी मञ्‍चमा आफै पनि नाच्न थाल्नु हुन्छ। उचालिन्छ मञ्‍च। यो त सबैले महसुस गरेकै हो। 

मैले जेबी टुहुरे आउनु हुन्छ भनेर कल्पना पनि गरेको थिइनँ। तर‚ जेबी टुहुरे मेरो अगाडि उभिनु भएको देख्ता मलाई के भनौं अँगालोमा बाधिउँ कि फेरि त्यो नगर्नु भनेको छ कोरोनाकालभरि। दाइले मुठी पारेर माथि उठाउनु भयो। फेरि दुई जनाका मुड्की जोड्यौं।

म सोच्दै गए जेबी टुहुरे दाइ नेकपा (माले) को मात्रै गायक हुनुहुन्थ्यो। उहाँ जनगायक हुनुहुन्थ्यो। बुर्जुवाहरुकोमा गएर गाएको भए उहाँ! भन्ने थिए। स्वर सम्राट तर जनताको गीत जनतासँगै बसेर गाएकोले उहाँ जनगायक हुनुभएको थियो। हामीले गत भदौ १० गते ७२ वर्षका जेबी टुहरेलाई भौतिक रूपमा गुमायौँ।

राजनीति प्रारम्भ, उद्यम र राजनीति

२०३० को सेरोफेरो मोरङको मधुमल्लामा कम्युनिष्ट पार्टीको संगठन बनाउन लाग्नुभएको थियो। त्यहाँ जेबी टुहुरे‚ उहाँको पूरा नाम जुठबहादुर हो। टुहुरे उहाँको टाइटल। जेबी, लव प्रधान, एकराज भट्टराई , लेखनाथ घिमिरे, ददीराम आचार्य र त्यो बेलाका खरो कम्युनिष्ट खगेन्द्र केसी पनि त्यहाँ थिए। उनीहरूले त्यहाँ कम्युनिष्ट पार्टी बनाएका थिए।

ददीराम आचार्य पछि कांग्रेस भए। लेखनाथ घिमिरे र एकराज भट्टराई शिक्षक भएरै अवकाश लिए। लव प्रधान राम्रो कलाकार भएकाले विराटनगरमा गएर चुलाचुली आर्ट सेन्टर खोलेर बसे। अब जेबी टुहुरेलाई के गर्ने भन्ने संकट थियो।

त्यो बेला मदन भण्डारी नेकपा मालेको पूर्व उत्तर क्षेत्रीय कमिटीको सचिव हुनुहुन्थ्यो। उहाँको सोच मानिसले अब जागिर होइन उद्योग व्यवसायमा लाग्नुपर्छ भनेर साथीहरूलाई त्यता लगाउनुभयो। त्यसैबेला जेबीलाई लज खोल्न सल्लाह दिएर लज खोल्न लगाउनुभयो।

विराटनगर बस स्टेसन नजिकै शान्ति शीतल लज र अर्को मौसम लज चलाउनुभयो। दाइ गीत गाउन सक्रिय हुनुहुन्थ्यो। दाइको जीवन राम्रो गरी चल्न थाल्यो। नत्र हात मुख जोड्न गाह्रो थियो।

जेबी दाइले लज चलाएको मलाई थाहा थिएन। एकदिन मदनले एउटा चिठ्ठी शान्ति शीतल लजमा गएर जेबीलाई दिनु भन्नुभयो। पत्र सानो थियो। जेबी दाइले बस्न भन्नुभयो। यता यति हेर्दै एउटा पोको दिनुभयो त्यसमा वर्ग संघर्ष थियो। एस एन एस लेखेको।

अर्कोपटक मदनले मलाई त्यहीँ बोलाउनुभएको थियो। मदन बस्ने कोठाबारे जेबी दाइले कोठा नम्बर भनेर पठाउनुभयो। उहाँ अरू दुईजना साथीसँग कुरा गर्दै हुनुहुन्थ्यो। म फर्केर तल जेबी दाइसँग नै आएर पर्खिएँ।

साथीहरू निस्किएपछि उहाँ आएर मलाई जान भन्नुभयो। हामी त्यो बेला खाली बस्दैनथ्यौं। जेबी दाइ र मैले कामको अनुभव साटासाट गर्‍यौं । संगठन विस्तार गर्नेबारे कुरा गर्‍यौं।

मदनले विराटनगरमा मजदुर नेता नवराज गौतमलाई नेपाली कागजको हस्तकला कारखाना खोल्न लगाउनुभयो। सुबोध प्याकुरेललाई प्लाष्टिक कारखाना खोल्न लगाउनुभयो।​घृत न्यौपानेलाई कोशी पुस्तक पसल चलाउन लगाउनुभएको थियो। नवराज जेल परेपछि उनको कारखाना धरापमा पर्‍यो। शान्ति शीतल लज राम्रो गरी चल्यो। घृतको कोशी पुस्तक पसल अहिले पनि छ। प्याकुरेल बन्धुको सानो प्लाष्टिक कारखाना अहिले ठूलो भएको छ।

सेल्टर बनेको लज

जेबी दाइको मौसमी लज अर्को सेल्टर भयो। त्यो अझ बसपार्कभित्र थियो। त्यहाँ आउन जान अझै सजिलो भयो। कतैबाट आएर खत्रक्क त्यहाँ गयो। मदन भेटिनुहुन्थ्यो।

जेबी र लव प्रधान त्यो बेलामा एउटा जोडी हुन् भन्थे। दुवैजनाको राम्रो कला एकजना राम्रो गायक अर्को। लव प्रधान पक्राउ परेको १५ दिनमा सायद कागज गरेर छुटेर आए भन्थे। जेबी चार महिना धनकुटा जेलमा बसेर निस्कनुभयो।

त्यसपछि उहाँ झनै धेरै गतिशील हुनुभयो। जेबी दाइले एउटा गीत गाउनुभयो। त्यो मञ्‍जुलको रचना थियो। तिमी मलाई किन्न सक्तैनौ। सम्पत्तिवाला हो भने गीत राम्रो थियो। त्यो गीत पनि जेबीले गाउनुभयो। जेबी दाइ अनन्त यात्रामा हिँड्नुभयो।

धेरै नै टाढा जानु छ, राता मान्छेहरूले, गारो र सारो भन्दैनन् आँटी छोरा हो जस्ता थुप्रै गीतमा जेबीलाई भेटिन्छ। मदन भण्डारीको मृत्युपछिको एउटा ठूलो सभामा पहिलोपटक मदनको सम्झनामा एउटा गीत गाउनुभयो। मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ। जनताको छोरा मर्दा देशै रुँदो रैछ।

यो गीत गाइरहँदा उपस्थित त्यहाँ उपस्थित सबैका आँखा रसाए। मन पग्लियो। मदनप्रतिको भावना छताछुल्ल भएर पोखियो। यसरी जेबी दाइले निरन्तर जनतासँग गीत संगीतबाट जोडिएर रहनुभयो।

सांस्कृतिक कार्यक्रमको लहर

जेबीले आफू संगठन बनाउने भन्दा पनि साथीहरूले व्यवस्था गरेको ठाउँमा गएर गीत गाउने थियो। पार्टीको निर्देशनमा गाउँगाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्थ्यो। संकल्प पत्रिका मासिक प्रकाशन हुन्थ्यो। त्यो हाम्रा हातहातमा हुन्थ्यो। त्यही पत्रिकाका नाममा संकल्प गीत कार्यक्रमको ब्‍यानरमा सांस्कृतिक कार्यक्रम हुन्थ्यो। त्यहाँ प्राय प्रमुख गायकको रूपमा जेबी दाइ हुनुहुन्थ्यो।

नेताका लागि एमाले आफूले पाएको बिर्ता जस्तो हुन थाल्यो। इमान्दार मानिसहरू किनारा लाग्दै गए। स्वार्थी मानिसले पार्टी भरिन थाल्यो। पार्टीमा एकै खाले जमिन्दारको प्रवेश भयो। अनि जेबी जस्ता इमान्दार मानिस किनारा लाग्दै गए। गायक पनि त्यति नै आउन थाले झन्। पार्टीले सरकार बनाएपछि त पुराना मान्छे चिन्न छाडे। केही नेताहरू मन्त्री भए। मन्त्री भएपछि खोलो तर्यो लौरो बिर्सिए जस्तै भयो।

उहाँले आमा दिदी बहिनी हो भन्ने गीत गाउन थालेपछि महिला पुरुष सवै उठेर नाच्न थाल्थे। संकल्प गीत कार्यक्रममा जेबी टुहुरे पनि आउने भनेपछि आमा दिदी बहिनीहरू उल्टिएर कार्यक्रममा जान थाल्नुभयो। जेबी दाइ लज श्रीमती र छोराको जिम्मा छाडेर हप्तौँ सांस्कृतिक कार्यक्रममा जानुहुन्थ्यो।

संकल्प गीति कार्यक्रममा चाहिँ भूमिका मञ्जु‍लले बाँध्ने। भूमिकाले मानिसलाई जुरुक्क उचाल्थ्यो। त्यो बेलाका मैले जानेका गायक रामेश, मञ्‍जुल, अरिम‚ शम्भु राई, लोचन भट्टराई, सीमा पोखरेल, मधु ,ओम श्रेष्ठ, खेम नेपाली , विजय सुब्बा थिए। रामेश र मञ्‍जुलको जोडी त गजब नै थियो। उनीहरू राल्फा सांस्कृतिक समूहबाट आएका थिए।

जेबीको माओवादी यात्रा

प्रजातन्त्र आएपछि पार्टीमा धेरै नयाँ मानिसको प्रवेश भयो। पार्टीमा पनि मदनपछिको नेतृत्व स्वार्थी हुँदै गए। मदन बित्नु भएपछि पार्टीमा अगाडिको जस्तो अवस्था पनि रहेन। हिजो मदनले कलाकार भनेपछि सारै माया गरेर सारै अनुशासनमा राख्नुभएको थियो।

नेताका लागि एमाले आफूले पाएको बिर्ता जस्तो हुन थाल्यो। इमान्दार मानिसहरू किनारा लाग्दै गए। स्वार्थी मानिसले पार्टी भरिन थाल्यो। पार्टीमा एकै खाले जमिन्दारको प्रवेश भयो। अनि जेबी जस्ता इमान्दार मानिस किनारा लाग्दै गए। गायक पनि त्यति नै आउन थाले झन्। पार्टीले सरकार बनाएपछि त पुराना मान्छे चिन्न छाडे। केही नेताहरू मन्त्री भए। मन्त्री भएपछि खोलो तरो लौरो बिर्सिए जस्तै भयो।

जेबी दाइ माओवादीमा जान लागेको थाहा पाएर पार्टीका नेतालाई भनियो। यो कुरा खेम नेपालीले मलाई सुनाउनुभएको थियो। नेताहरूले रोकियो भने। तर अन्तत: उहाँ माओवादीमा जानुभयो। जेबी दाइलाई शम्भुहरूले जाऊँ भने‚ प्रचण्ड आफैँले आउनुहोस् भने। त्यहाँ गएर के गर्नु भयो? दाइ गएकोमा म जस्ता धेरै जना सारै दु:खी भयौं। यता एउटा पुराना साथीहरूको एउटा ठूलो पंक्ति थियो। राजनीतिका कुरा भए।

मैले जेबी दाइ नेकपा एमालेभित्र के समस्या भयो र उहाँ माओवादीमा जानुभयो। जेबी दाइ त्यसै माओवादीमा जाने मानिस हुँदै होइन। तर, जानुभयो। दाइ माओवादीमा गएको थाहा पाएको थिएँ। मैले त्यसपछि भेटेको थिइनँ। दाइलाई माओवादीले सभासद पनि बनाइ दिएको थियो।

एक दिन म एकजना साथी भेट्न कन्चनबारी गएको थिएँ। साथी भेटेर म फर्किन लागेको थिएँ। जेबी दाइलाई देखेर मैले बोलाएँ। दाइ आउनुभयो। हामी त्यहाँ एक ठाउँमा बस्यौं। दाइ तपाई हामीलाई छाडेर जानुभयो। तपाईंलाई यतिबेला सहयात्रीलाई बिर्सेर कसरी जान सक्नुभयो दाइ? हामीले त सारै दु:ख उठाएका थियौँ। यो पार्टी बनाउन हामीले के गरेनौँ? तपाईलाई के भयो, जान अगाडि कम्तीमा हामीसँग कुरा गरेको भए। हामीले त्यसलाई मिलाउन सक्थ्यौँ कि।

दाइ सभासद हुनुभएछ। बधाई छ भनें। दाइले धन्यवाद भन्नुभयो। दाइ निकैबेर बोल्नु भएन। आँखाबाट बरर आँसु खसाउनुभयो। मैले पनि त्यो हेर्न सकिनँ। मेरो पनि आँखा रसाए। म पनि बोल्न सकिनँ। एक छिन एक-अर्कालाई हेरिरह्यौं।

दाइले, ओमजी ! मलाई त्यहाँ जाने कुनै रहर थिएन। मन पनि थिएन। शम्भु राईहरूले त्यता जान जोड गर्दै थिए। एक दिन प्रचण्ड कमरेडले भेटेर हामी तपाईंको कदर गर्छौं‚ हामीसँग राम्रा गायक छैनन् भने। म सोचेर भन्छु भनें। फेरि अर्को पटक भेटेर के सोध्नु भयो। त्यो बेलामा थुप्रै कलाकार माओवादीमा गएका थिए। त्यसैमा जेबी पनि जानुभएको रहेछ।

तपाईंहरूको सम्बन्ध अहिले पनि त्यस्तै छ। तपाईंहरुलाई सम्झिरहन्छु। तर, माथिकाहरूले पुराना पद चिह्न छाडे। यसो केही भनौँ भने भन्ने पनि कोही थिएन। नेताहरूमा साह्रै अंहकार बढ्यो।

तपाईंहरूलाई सम्झँदा अहिले पनि बेकारमा त्यहाँ गएँ जस्तो लाग्छ। त्यहाँ पनि एकपटक सभासद् बनाइदिए। त्यो मात्र सबै कुरा होइन रहेछ। मुख्य कुरा त भावना हो। भावना जोडियो भने मानिस भोकभोकै भए पनि बस्न सक्छ। तर त्यहाँ त साह्रै निराशा छ। युद्धबाट आएकाहरूमा हामी युद्धबाट आएको भन्ने अहंकार छ। हामीलाई मान्छे गन्दैनन्। पुष्पकमलले लगे, सभासद बनाइ दिए। त्यति भए उनको काम पूरा भयो।

मैले भने त्यो ठुलै ठाउँभएको छ। धेरै मानिस एउटा आकर्षण देखेर मानिस त्यता लागेका छन्। यो पनि एउटा भेल हो भेलमा मुडा टिपे जस्तै त्यहाँ टिप्न गएकाहरु थुप्रै छन। जव गएकाहरुले केहि पाउदैनन्। विस्तारै धरातल हेर्न थाल्छन्। अनि मानिसले छाड्दै छाड्दै जान्छ।

खहरे खोलामा बाढी आएको बेला खोला ठुटाहरु जम्मै छोपिएर ढाकिन्छ। जव बाढी घटतै जान्छ। त्यसपछि ठुटालाई छोप्ने बालुवा बग्दै जान्छ। अनि ठुटा धेरै दिन महिलाले नकोरेर फिजाएको कपाल जस्तै जिङरिङ्ग हुन्छ भनें। 

उहाँ उठेर पनि हिड्न सकिरहनु भएको थिएन। मलाई पनि त्यस्तै भएको थियो। दाइ हिड्न ठीक पर्नुभयो र दुई पाइला अगाडि सारेर फेरी फर्कनु भयो। अनि स्वर हालेर एउटा गीत गाउनु भयो। धेरै हिड्यौं फरक बाटो गन्तव्य भेटेनौ। मिलीजुली हिडेपुगिन्छ फरक पर्दैन जेबी दाइ यो गीत गाउदै जान तयार हुनुभयो।       म दाइलाई छाड्नगाडीसम्म गएँ। त्यो दिन गाउनु भएको त्यो गीत अहिले पनि मेरो कानमा ठोकिइ रहेको छ।

दाइले त्यो खहरे मात्रै चाहिं होइन भन्नुभयो। मैले दाइ हामीले यति सारो मिहिनेत गरेर जनताको घरघरमा गएर मार्क्सवाद बारे जनताको आन्दोलन बारे यति मिहिनेत गरेकाको त खुट्टा काम्छ। त्यो आन्दोलन त विना मिहिनेत , विना अध्ययन आएका ति मानिस त्यहाँ लुट्न पाउञ्जेल त्यहाँ बस्ने हो। जव पाउन छाड्छ त्यसपछि धेरै मानिस त्यसकै विरोधमा लाग्ने छन्। त्यहाँका इमान्दार मानिसहरु खुम्चिएर बस्छन्।

उहाँले मैले मै बसेको ठाउँलाई, सभासद बनाउने ठाउँप्रति इमान्दारि देखाउनै पर्छ भन्नु भयो। छुट्टिने बेलामा दाइ संझना रहि रहोस्। हाम्रो प्रेम सदभावना सधैं रहोस्। हाम्रो बाटो बेग्लाबेग्लै भयो। तर उदेश्य एउटै हो। एकदिन हामी एकै ठाउँ आउने छौं भन्नु भयो। दाइलाई त्यो आशा थियो। हाम्रो शरीर बाध्यतामा छुटियो। तर मन पटक्कै छुटिन मानेको थिएन।

अन्तिम भेट

हालसालैको कुरा हो। म डाइलोसिस सकेर घर मैं बसिरहेको थिए। मेरो मोवाइलको घन्टी बज्यो। यसो हेरे मोवाइलमा महेश कार्कीको नाम थियो। उनले आज म तपाइँको पुरानो साथी लिएर आउँदैछु, को होला अन्दाज गर्नु भने।

मेरो सारै पुरानो साथी भन्दा भनेर मनमा कौतुहल बोकेर बसे। अलिक बेर पछि मोटर आएर पर रोकियो। महेश त्यसपछि एउटी छोरी गाडीको अगाडिबाट खेम नेपाली अन्तिममा ओर्लनु भयो। जेबी टुहुरे। महेश अगाडि थिए सँगै मणिराम, मेरो त हर्षले बोली पनि आएन।

मैले जेबी टुहुरे आउनु हुन्छ भनेर कल्पना पनि गरेको थिइन। तर जेबी टुहुरे मेरो अगाडि उभिनु भएको देख्ता मलाई के भनौं अँगालोमा बाधिउँ कि फेरी त्यो नगर्नु भनेको छ कोरोनाकाल भरी। दाइले मुठी पारेर माथि उठाउनु भयो। फेरी दुई जनाका मुड्कि जोड्यौ।

भित्र बोलाएँ। पहिले सन्चो बिसन्चो सोधा सोध गर्यौं। म त विरामी भएको हेर्न आउनु भएको जेबी दाइ आफैं पनि विरामी हुनुहुन्थ्यो। कान्छीछोरी पनि साथमै आएकी थिइन।

जेबी दाइसँग भावना जोडिएको थियो। यो भेटमा मैले,तपाई जाँदा हामी रोएका थियौ कसरी के भयो भनेर सोधेँ। धेरै वर्ष जन्मघर बसेर कर्मघर जाँदाको पीडा जस्तै भएको त्यो पिडा थोरै दिन रहन्छ। यो पिडा नजोडिउञ्जेल रह्यो। दुई कम्युनिष्ट पार्टी जोडिएपछि बल्ल एकै ठाउँमा आएका थियौ।

जेबी दाइ, खेम , छोरी, मणिराम जी ले मेरो डाइलोसिस गर्ने ठाउँ हेर्नुभयो। मैले डाइलोसिस गर्ने तरिका बताएँ देखाएँ जेबी दाइ भावुक हुनुभयो। उहाँपनि विरामी हुनुहुन्थ्यो। मेरो अवस्था देखेर उहाँ विरामी पनि नभए जस्तै हुनुभयो।

उहाँ उठेर पनि हिड्न सकिरहनु भएको थिएन। मलाई पनि त्यस्तै भएको थियो। दाइ हिड्न ठीक पर्नुभयो र दुई पाइला अगाडि सारेर फेरी फर्कनु भयो। अनि स्वर हालेर एउटा गीत गाउनु भयो। धेरै हिड्यौं फरक बाटो गन्तव्य भेटेनौ। मिलीजुली हिडे पुगिन्छ फरक पर्दैन जेबी दाइ यो गीत गाउँदै जान तयार हुनुभयो।

      म दाइलाई छाड्न गाडीसम्म गएँ। त्यो दिन गाउनु भएको त्यो गीत अहिले पनि मेरो कानमा ठोकिई रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.