म खोज्दै थिएँ, आफैँलाई खोइ कहाँ छु? आफ्नै परिचयबाट अनभिज्ञ थिएँ
म कसरी चिनाऊँ आफूले आफूलाई ,आफ्नै अस्तित्वदेखि नै अलमल थिएँ
प्रत्येक रात भोलि परिष्कृत हुने आशामा सुत्छु, फेरि नौलो दिन लिएर उठ्थें
को हुँ ,के हुँ ,कहाँ छु र कहिलेसम्म छु? भन्ने प्रश्नको उत्तर खोजिरह्न्थें ।
मलाई यो शरीर नै आफ्नो होइन जस्तो लाग्छ, यो त समयसँगै फेरिइसकेछ
मेरोरूप रंग मेरो होइन रहेछ त्यसैले थाहै नदिई उमेरसँगै फरक भइसकेछ
मेरो आफ्ना परिवार पनि त मेरा रहेनछन् नि समयसँगै बद्लिसके छन्
हिजोको परिवार टाढा गराइ फेरि अर्कै दुनियाँमा रमाइसकेँछु, अपनाइसकेँछु ।
म आज यहाँ छु, अनि हिजो त्यहाँ थिएँ, र भोलि कता पुग्ने हो थाहा छैन
परिचयसँगै स्थान अनि समाज फेरिँदै छ, अरू के के फेरिने हो थाहा छैन
जन्मेर हुर्केको स्थान पनि बिरानो एकदिन हुनेछ भनेर सोचेको पक्कै थिएन
जुन ठाउँलाई आफ्नो बनाउन आएँ त्यसले कहिल्यै मलाई आफ्नो मानेकै छैन ।
समयको के भरोसा, आजपछि मेरो भोलि हुने हो कि होइन
भोलिको आशामा मैले आज सकेसम्म पूरा जिउन छोडेकी पनि छैन
त्यसैले मैले सायद मेरा चाहनाहरूलाई असीमित बनाएकी छैन
अनि प्रत्येक दिन अथवा क्षणको विश्रामपछि मृत्युलाई बिर्सेकी नै छैन ।
कसैको छोरी, पत्नी, आमा अनि आत्मीय बनेर मैले आफ्नै परिचय बिर्सिएँछु
क्रमश: परिचय फेरिँदै जाँदा म कहाँनीर बाहिरबाट खुम्चिएरभित्र हराएँछु।
बाहिर भिडमा आफूलाई खोज्दा खोज्दै कतिखेर आफूलाई आफैँभित्र भेट्दैछु।
त्यसैले म अब भन्न सक्छु मेरो अस्तित्व बाहिरी आवरणले छोपेर मभित्रै लुकिरहेछ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।