|

उत्तर कोरियाले आज (बुधबार) पूर्वी तटीय भूभागबाट दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। केही दिनअघि मात्र उसले क्रुज मिसाइल परीक्षण गरेको थियो। उसले गरेको क्रुज मिसाइल पारमाणविक क्षमतायुक्त भएको विश्वास गरिन्छ।

दक्षिण कोरियाली सेनाका ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाले पूर्वी समुद्रतटबाट दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। उनले एक विज्ञप्ति जारी गर्दै दक्षिण कोरिया र अमेरिकाले परीक्षणबारे विस्तृत जानकारी बटुल्न लागिपरेको र यसको विश्लेषण गरिरहेको पनि उल्लेख गरेका छन्।

उत्तर कोरियाले दिउँसो साढे १२ बजेतिर परीक्षण गरेको र आकाशमा ६० किलोमिटर माथि करिब ८ सय किलोमिटर टाढासम्म गएको दक्षिण कोरियाले जनाएको छ।

दक्षिण कोरियाले सीमा क्षेत्रमा अमेरिकीसहित आफ्नो सेना तम्तयार अवस्थामा राखेको जनाएको छ। साथै सेना सावधान रहेको पनि जनाएको छ।

अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले भने उत्तर कोरियाली मिसाइल परीक्षणले तत्काल अमेरिकालाई कुनै खतरा उत्पन्न नभएको दाबी गरेको छ।

जापानी प्रधानमन्त्री योसिहिडे सुगाले उत्तर कोरियाली मिसाइल परीक्षणलाई शत्रुतापूर्ण कदम भन्दै भर्त्सना गरेका छन्। यसबाट त्यस क्षेत्रको शान्ति तथा सुरक्षामा खलल पुगेको पनि उनले आरोप लगाए।

जापानी प्रधानमन्त्री सुगा र दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनबीच मिसाइल परीक्षणबाट आफ्नो देशको सुरक्षामा पर्ने असरबारे वार्ता गर्ने भएका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिनले नियमित ब्रिफिङमा सम्बन्धित पक्षले यस्ता परीक्षण रोक्नुपर्ने बताए।

कोरियाली प्रायद्विपमा दक्षिण कोरियासँग कूटनीतिक वार्ता भइरहेका बेला उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो। केही दिनअघि मात्र दक्षिण कोरियाले पनि आफूले विकास गरेको ब्यालेस्टिक मिसाइल पनडुब्बीबाट परीक्षण गरेको थियो।

उत्तर कोरियाले लगातार शस्त्र प्रणाली त्यसमा पनि विशेषगरी आणविक शस्त्र विकास गरिरहेको अनुमान अमेरिकालगायत पश्चिमा देशले गरेका छन्। उत्तर कोरियाको आणविक कार्यक्रम बन्द गर्न र बन्द गरेमा ऊविरुद्धको नाकाबन्दी खुकुलो पार्न सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच वार्ता भएको थियो। तर, यसको एक वर्षपछि नै दुवै देशबीचको वार्ता रोकिएको थियो।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.