|

कञ्चनपुर:  नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि कञ्चनपुरका नौ स्थानीय तहका ९२ वडा मध्ये एक वडामा मात्रै महिला सभापति चयन भएका छन। अन्य ९१ वडामा पुरुष सभापतिमा चयन भएका छन।

पुनर्वास नगरपालिका ३ मा बुद्धिमाया तामाङ्ग  मात्रै वडा सभापति भएकी छन्। यस अघि वडा सचिव रहेकी उनी सहमतिमा सभापति बनेकी हुन्।

भीमदत्त नगरपालिका १७ मा वडा सभापतिका लागि चन्द्रकला पाठकले उम्मेदवारी दिइन्। भीनपा १७ की वडा समिति सदस्य रहेकी पाठक पदम बुढासित सभापतिमा पराजित भइन्। वडा सभापतिमा बुढाले ८१ र पाठकले २६ मत पाइन्। बुढा दोस्रो पटक वडा सभापति भएका हुन्। स्थानीय तह निर्वाचनमा बुढा वडा अध्यक्षमा पराजित हुँदा पाठक सदस्यमा निर्वाचित भएकी थिइन्।

अधिकारकर्मी मिना भण्डारी भीनपा २ मा वडा समितिको नेतृत्वका लागि आकाँक्षी थिइन्। १३ औं महाधिवेशनमा नगर समिति सदस्य भएकी उनी यस पटक वडा सभापति हुनेमा ढुक्क थिइन्। ‘वडा सभापतिमा दाबी गरेको हो, सहमति भएपछि बाहिरिए’, उनले भनिन्। वडा सभापतिमा उत्तम भट्ट फेरि दोहोरिएका छन। ‘दाबी त गरे, पछि छाडे, त्यसैले नेतृत्वमा जान नसक्नु एउटा कारण त आफैं हो’, उनी भन्छिन््,‘ अर्को चाहिँ मलाई जिम्मेवारी वहन गर्ने हिम्मत पनि छैन।’

महिलाहरू घरायसी कामकाज लगायतले व्यस्त हुने भएकाले नेताहरूको सोचाई पनि नेतृत्व हाँक्न नसक्ने देखिएको भण्डारी बताउँछिन् ।

कांग्रेसको १४ औं महाधिवेशन समितिका निर्वाचन अधिकृत हरक सिंह ९२ वडामा तामाङ्ग बाहेक अन्यले वडा नेतृत्वका लागि दाबी समेत नआएको बताउँछन्।

‘निर्वाचन कार्यक्रमसम्म पुग्दा वडा सभापतिमा दाबि नै आएन’, उनी भन्छन, 'खै के भएर हो, वडा सभापति मात्रै होइन, खुला क्षेत्रीय प्रतिनिधिमा समेत महिला आएनन्।’

परम्परावादी सोच र पितृसत्तात्मक सामाजिक संरचनाका कारण महिलाहरू वडाको नेतृत्वमा आउन नसकेको उनी बताउँछन्।

वडामा सभापति सहित दुई उप सभापति, दुई सचिव, दुई सह सचिव र अन्य सदस्यहरू हुने गरेका छन्। वडा समितिको कोषाध्यक्ष मनोनित हुने व्यवस्था छ।

वडाबाट आउने क्षेत्रीय प्रतिनिधिमा पनि महिला, दलित, जनजातिका लागि विधानमा व्यवस्था गरिएको छ। विधानको त्यहीं व्यवस्था अनुसार मात्रै क्षेत्रीय प्रतिनिधि आएका छन्।

भीमदत्त नगरपालिकाका उप-मेयर सुशिला चन्द सिंह भीनपा ६ बाट क्षेत्रीय प्रतिनिधि आएकी छन। उनी काँगेस क्षेत्र नं ३ को क्षेत्रीय समितिको सचिवका लागि दाबेदार छिन्।

महिलाप्रतिका विश्वास, अघि बढ्नलाई प्रोत्साहन नहुने र नेतृत्व हाँक्न नसक्ने सोचका कारण महिलाहरू वडाको नेतृत्वमा आउन नसकेको उप-मेयर चन्द बताउँछिन्।

‘पार्टीभित्र महिलालाई पार्टीको नेतृत्वमा आउन प्रोत्साहन चाहिने हुन्छ, त्यसो हुन सकेन’, उनी भन्छिन्, ‘ हाम्रा भएन, राम्राको मूल्याङ्कन भएन्।’

पार्टीमा असहयोग भएपछि महिलाहरूसित कोटामा क्षेत्रीय प्रतिनिधि आउन बाहेक अन्य विकल्प नभएको उनको भनाई छ।

उनी कांग्रेसले २०१६ मा सालमा मन्त्री बनाएकी द्वारिकादेवी ठकुरानीकी भतिजी हुन्। ठकुरानीलाई मन्त्री बनाएको पाँच दशकसम्म पनि महिलाहरू कांग्रेसको वडा समितिको नेतृत्व पाउन पनि नसक्ने अवस्थामा छन्।

संविधानमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था गरिएको छ। संविधान अनुसारको कांग्रेस वडा सभापतिमा ३१ जना महिला सभापति हुनु पर्ने हो। त्यस विपरित वडामा महिला प्रतिनिधित्व एक प्रतिशत मात्रै छ।

भीमदत्तका उप मेयर सिह संविधान व्यवस्था अनुसार पनि कांग्रेसभित्र अनिवार्य रुपमा पार्टीका सबै संरचनामा ३३ प्रतिशत प्रतिनिधित्व गराउनु पर्ने बताइन्। ‘ बोलीमा लोकतान्त्रिक पार्टी भनेर मात्र भएन, वडा, नगर, क्षेत्र, जिल्ला सबैमा पार्टीभित्र ३३ प्रतिशत महिला सहभागिता हुनु पर्छ’, उनी भन्छिन््।

नेपाली कांग्रेस कञ्चनपुरका पूर्व सचिव यज्ञराज चटौत वडाबाट महिला नेतृत्व नआए पनि नगर क्षेत्रमा आउन सक्ने बताउँछन्। ‘वडामा नेतृत्व आउन सकेन', उनी भन्छन,‘अब नगर र क्षेत्रको प्रतिनिधित्व आउँछन्।’

पूर्व सचिव चटौतले भने अनुसार आगामी असोज ९ गते हुने नगर तथा गाउँ अधिवेशनमा महिलाहरू नेतृत्वमा आउन सम्भावना न्यून छ। अहिलेसम्म कुनै पनि तहमा महिलाले नेतृत्वका लागि दाबी गरेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.