|

काठमाडौं :  यस वर्ष पनि मनसुन लम्बिने भएको छ। सामान्यतया जुन १० तारिखमा सुरू भएर सेप्टेम्बर २३ मा सकिनुपर्ने मनसुन यस वर्ष पनि एक हप्ताभन्दा धेरै समय लम्बिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सकिनुपर्ने समयमा विकास भएको भारतको मध्यप्रदेश आसपासको न्युन चापीय क्षेत्र र स्थानीय वायुको प्रभावको कारण मनसुन लम्बिने संकेत देखिएको मौसमविद् मीनकुमार अर्यालले बताए। निम्न चापीय क्षेत्र, स्थानीय वायु, जलवायु परिवर्तन लगायत विभिन्न कारणले पछिल्लो केहि वर्षयता मनसुन दुई सातासम्म लम्बिदै आएको छ।

यसवर्ष अघिल्लो वर्षको तुलनामा धेरै पानी परेको मौसमविद् अर्यालले जानकारी दिए। यस वर्ष जुन १० तारिख आसपासमा सुरू भएको मनसुन सुरुमै अत्यधिक सक्रिय भएर भारी तथा अति भारी वर्षा हुँदा मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ।

अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई काठमाडौं उपत्यकासहित बागमती,लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ।

बागमती र गण्डकी प्रदेशमा हल्का पानी परेको छ भने लुम्बिनी प्रदेशका केहि स्थानमा ठूलो पानी परिरहेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा दिउँसो पानी पर्न रोकिनेछ भने साँझ पख फेरी पानी पर्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। दिउँसो लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा भारी बर्षा हुने उनले बताए। बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.