|

पर्सा : कन्टेनर कर्पोरेशन अफ इन्डिया (कोन्कर) को नेपालमाथिको मालवस्तु ढुवानी गर्ने एकाधिकार तोड्दै भारतकै निजी रेल कम्पनी हिन्द टर्मिनल्स प्रा.लि.ले पहिलो पटक कार्गो रेल नेपाल ल्याइपुर्‍याएको छ। हिन्द टर्मिनल्सले ८८ वटा कन्टेनर बोकेको कार्गो रेल हल्दिया पोर्टबाट पहिलो पटक नेपालको पहिलो सुख्खा बन्दरगाह ल्याइपुर्‍याएको हो। 

आयातमुखी अर्थतन्त्र बोकेको नेपालका आयतकर्ताले खरिद गरेका विभिन्न मालबस्तु  समुद्रिक बन्दरगाहबाट रेल मार्फत पनि सोझै नेपाल आउन थालेको डेढ दशक भयो। तथापि भारत सरकार मातहतको कोन्करले मात्र मंगलबारसम्म ढुवानी गर्दै आएको थियो। बुधबारबाट भने भारतकै नीजि रेल कम्पनी हिन्दले पनि सेवा दिन सुरु गरेको छ। 

रेल सेवाबाट ढुवानी हुनुपूर्व नेपालीले भारत तथा तेस्रो मुलुकबाट खरिद गरेका मालवस्तु सबै वाइरोडको बाटोबाट ट्रक र चक्कावाला कन्टेनरले ढुवानी गर्दै आएका थिए। त्यसलाई थोरै भए पनि रेल संचालकले प्रतिष्थापन गरेको थियो।

रेल सेवामा पनि एउटा कम्पनी कोन्करको मात्र बाहुल्यता हुँदा ढुवानी खर्चमा नेपालीलाई बढि भार परिरहेको व्यवसायीहरुको गुनासो थियो। निजी कम्पनीको प्रवेशले मालवस्तु ढुवानीको लागतमा पनि प्रतिष्पर्धा हुने र लागत कम पर्ने अपेक्षा सहित नेपालले १० बर्ष अगाडिबाट निजी कम्पनीलाई पनि प्रवेश दिन भारत सरकारसँग पहल गर्दै आएको हो। 

त्यो पहल बल्ल पूरा भएमा वीरगन्जका आयातकर्ताहरु खुसी भएका छन्। दुई मुलुकवीच रेल सेवा सम्झौतामा संशोधन भई भारत सरकारबाट इजाजत प्राप्त नीजि क्षेत्रलाई ढुवानीको लागि बाटो खुल्ला हुँदा नेपालका लागि राहत भएको अझ राहत भएको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिस गजुरेलले बताए।

नेपालको अन्तर्राष्ट्रिय व्यापार लागत न्यून गर्दै सहजीकरण गर्ने अभिप्रायले स्थापना भएको सुख्खा बन्दरगाह जस्ता व्यापारिक संरचनाको समुचित परिचालनमा प्रति इकाई लागत कम गर्न निजी रेल प्रवेश महत्वपूर्ण हुने नेपाल इन्टरमोडल यातायात विकास समितिको विश्वास रहेको उनको भनाइ छ। 

हल्दिया बन्दरगाहबाट वीरगन्ज स्थित सुख्खा बन्दरगाह प्रवेश गरेको रेललाई हिन्द टर्मिनल्स प्रा.लि.का आधिकारिक प्रतिनीधि अविनव गुप्ताले सुख्खा बन्दरगाहमा नै आई नेपाली पक्षलाई पहिलो र्‍याक बुझाएका छन्। २६ वटा रेल रहेको हिन्दले यो रेललाई भने नेपालका लागि नै तयारी गरेको गुप्ताले प्रष्ट पारे।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.