|

काठमाडौं :  संसदबाट बजेट प्रतिस्थापन विधेयक पारित नभएपछि  सरकारी कोषबाट हुने आर्थिक कारोबार रोकिँदा त्यसको असर  सरकारी स्वास्थ्य संस्थाहरुमा पर्न थालेको छ।

सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेट प्रतिस्थापन विधेयक संसदबाट पारित नहुदाँ हाल सरकारी कोषबाट हुँदै आएको आर्थिक कारोबार रोकिँदा त्यसको असर सरकारी ठूला अस्पतालहरुमा पर्न थालेको हो।

स्वायत्त रुपमा सन्चालन भएका केही ठूला अस्पताल (त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, पाटन अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टर, सिभिल अस्पताल) लगायतका अस्पताल स्वायत्त रुपमा चलेका हुँदा खासै असर नपरे पनि अन्य सरकारी रुपमा सन्चालन भएका केन्द्रीय, प्रादेशिक अस्पतालहरुमा भने यसको असर पर्ने बताइन्छ।

सरकारी खर्चबाट चल्दै आएका वीर अस्पताल, टेकु अस्पताल र उपत्यका बाहिरका सरकारी अस्पतालहरुमा आर्थिक कारोबार रोकिन पुगेको हो। यसरी आर्थिक कारोबार रोकिँदा अस्पतालबाट दिने अत्यावश्यक सेवादेखि नियमित सेवा  प्रभावित हुने अवस्थामा पुग्न थालेको  अस्पतालहरुले बताएका छन्।

अस्पतालहरुमा उपकरण, औषधीदेखि अन्य स्वास्थ्य सामाग्रीहरु खरिदसम्मलाई असर पर्न थालेको नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापा बताउँछन्।

आर्थिक वर्ष सुरु भएपछि कारोबार नै नभएको हुँदा अब औषधीसहित अन्य स्वास्थ्य उपकरण व्यवस्था गर्नु पर्ने बेला भएको हुँदा अप्ठ्यारो पर्न थालेको उनको भनाइ छ। 

'नयाँ आर्थिक वर्ष सुरु भएपछि कारोबार भएको छैन, अस्पतालमा दैनिक आकस्मिक सेवाका लागि विभिन्न औषधि तथा उपकरणहरु किन्नुपर्छ, कतिपय उपकरणहरु किनेर लामो समयसम्म राख्न नमिल्ने हुँदा यस्तै अवस्था रह्यो, भने गाह्रो हुन्छ' उनले भने।

यता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल यसको असर खासै नपरे पनि यस्तै अवस्था केही समय लम्बियो भने सेवा प्रभावित हुने बताउँछन् अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला। उनले भने ‘अहिले त खासै असर परेको छैन, केही दिन यस्तै अवस्थामा रह्यो भने असर पर्छ।'

यस्तै वीर अस्पताल र कान्ति बाल अस्पतालमा समेत यसको प्रत्यक्ष असर पर्ने बताइन्छ। वीर, कान्ति अस्पतालमा विकास समितिसमेत भएकाले अस्पतालको आन्तरिक कमाइबाट विकास समितिका कर्मचारीहरुलाई तलव भत्ता दिन पुगे पनि अन्य कर्मचारी र स्वास्थ्य उपकरणहरु खरिद गर्न, नियमित सेवा प्रवाह गर्न सरकारी कोष नै खर्च गर्नुपर्छ ।

यता त्रिवि शिक्षण अस्पतालमा भने सरकारी कोषबाट हुने आर्थिक कारोबार केही समय रोकिँदा अस्पतालको सेवामा खासै असर नपर्ने तर लामो समय यस्तै अवस्थामा रहँदा भने असर पर्ने बताउँछन् अस्पतालका प्रवक्ता रामबिक्रम अधिकारी।

उनका अनुसार टिचिङ अस्ताल एक स्वायत्त संस्था भएको र यसमा विश्व विद्यालय अनुदानबाट बजेट आउने र अस्पतालकै आन्तरिक स्रोतबाट पनि कमाइ हुने हुँदा केही समय केही असर नपर्ने बताउँछन्।

​ ‘हामीलाई प्रत्यक्ष रुपमा सरकारी कोषबाट रकम आउँदैन, विश्व विद्यालयबाट अनुदान आउँछ, हाम्रै आन्तरिक स्रोतबाट पनि रकम जुट्ने गर्छ जसले गर्दा केही समय हाम्रो सेवामा खासै असर गर्दैन तर अस्पतालमा २५ सय कर्मचारी रहेको र तिनका लागि महिनामा नै ९ करोडभन्दा बढी तलब दिनु पर्ने हुन्छ, यसका साथै मेडिकल उपकरणहरु औषधीहरु पनि खरिद गर्नु पर्ने हुँदा यस्तै अवस्था लामो समयसम्म पुग्यो भने असर गर्न सक्छ।‘ प्रवक्ता अधिकारीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.