|

बैतडी  : राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना बैतडीमा पनि जारी रहेको छ।  पहिलो चरणको गणनाअन्तर्गत सुपरीवेक्षकहरूले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम जारी रहेको हो। 

घर तथा घरपरिवार सूचीकरणका लागि यहाँका गाउँगाउँमा सुपरीवेक्षक खटाइएका जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। सूचीकरणका लागि जिल्लाभरी ८० जना सुपरीवेक्षक परिचालन गरिएका हुन्। 

असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर, जनगणना घर र जनगणना परिवार संख्या  गणना गर्ने काम भइरहेको प्रमुख पन्तले बताए। उनले भने,‘पहिलो चरणमा मुख्य गरी घर तथा घरपरिवारको गणनाको  काम भइरहेको छ।’

यसका साथै घरको विवरण, घरमुलीको नाम,घर कुन प्रयोजनामा रहेको छ, पशुपंक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायतका २० प्रश्नसमेत सुपरीवेक्षकले सोध्ने गरेका छन्।

भदौ ३० गतेदेखि गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई संकलन गरेको तथ्यांक इन्ट्रीमा भने समस्या भइरहेको पन्तले बताए। भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक संकलनको काम प्रभावित भएको छ। उनले भने, ‘सुपरीवेक्षकले मोबाइल एपको सहयताले फिल्डबाटै दैनिक डाटा इन्ट्री गर्नुपर्छ तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या हुँदै आएको छ।’

सदरमुकामस्थित दशरथचन्द, पाटन नगरपालिकाबाहेक अन्य स्थानीय तहमा खटिएका सुपरीवेक्षकलाई तथ्यांक इन्ट्री गर्न समस्या देखिएको हो। 

विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८९८ रहेको छ।

पहिलो चरणमा संकलन गरिएको तथ्यांकको आधारमा  मूलगणना गरिने कार्यालयले जनाएको छ। मूल गणना अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ। 

सरकारले प्रत्येक १०-१० वर्षमा जनगणना गर्ने गर्दछ। यसपालिको जनगणना ‘मेरो गणना, मेरो सहभागिता,  राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ भइरहेको  हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.