सिधै बेडमा पुगेको अक्सिजन अब सिलिन्डरमै भरिने

|

पर्वत : पर्वत अस्पतालमा झन्डै ८० लाख रुपैयाँको लगानीमा टर्कीमा बनेको अक्सिजन प्लान्ट जडान कार्य सुरु भएको छ। कोभिड–१९ संक्रमणको बेलामा अक्सिजनको आवश्यकता उच्च हुनु तथा १५ शैय्याको अस्पतालको स्तर वृद्धि गरेर ५० शैय्यामा परिणत भइसक्न लाग्दा थप एउटा अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार नेपाल मेडिकल एसोसिएसनको सहयोगमा एक दिनमा ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको प्लान्ट भदौ ३० मा अस्पतालमा आइपुगेको थियो। कोभिडको जोखिम कायमै रहेकाले चाँडै प्लान्ट जडानको काम सक्ने गरी प्राविधिक कार्य चलिरहेको छ।

‘हाम्रो अस्पताल १५ बाट ५० शैय्या क्षमतामा स्तर वृद्धि भएको छ, अहिले ओपिडीमा मात्रै दैनिक करिब दुई सय बिरामी आउँछन्, बिरामीको चाप बढ्दै जाँदा हामीलाई अक्सिजन पनि धेरै आवश्यक छ,’ उनले भने, ‘अस्पतालको आवश्यकता पूरा हुने गरि ८० लाख मूल्यको उच्च गुणस्तर र टर्कीस प्रविधिको प्लान्ट पाएका छौँ, ८/१० दिनभित्रमा जडानको काम सकिन्छ।’

यसअगाडि गण्डकी प्रदेश सरकारको लगानीमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेकोमा अस्पतालले एकाएक दैनिक थप ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने भएको छ। 

यसको श्रेय भने पर्वतकै कुश्मा नगरपालिका–१ पाङ घर भई हाल ट्रमा सेन्टरका निर्देशक एवं हाड जोर्नी तथा नशा रोग विशेषज्ञ तथा नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. बद्री रिजाल र जलजला गाउँपालिका–७ धाइरिङ घर भएका डा. राजेश शर्मालाई जाने अस्पतालका अध्यक्ष पहाडीले बताए। 

‘बेलाबेलामा बद्री जीसँग कुराकानी हुन्थ्यो,सहयोग गर्ने त्यस्तो केही छ भने गृह जिल्लालाई पनि हेर्ने भन्ने कुरा भएपछि उहाँ र डा. राजेश जी को पहलमा करिब करोडको लगानी भएको छ,’ उनी भन्छन्, ‘टर्कीमा बनेका यस्ता प्लान्ट तीन वटा आएकामा एउटा पर्वत, एउटा भोजपुर र अर्को एउटा कुन ठाउँमा भन्नुभयो कुन्नि त्यहाँ जोडिँदै छ रे।’

सिधै बेडमा पुगेको अक्सिजन अब सिलिन्डरमै भरिने

अहिलेसम्म दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको पर्वत अस्पतालले अक्सिजनलाई सिलिन्डरमा भरेर राख्न सकेको थिएन। प्लान्टबाट उत्पादन भएको अक्सिजनलाई सिलिन्डरमा भर्नको ‘अक्सिजन कम्प्रेसर’ उपकरणको आवश्यकता पर्दछ। 

तर अस्पतालमा त्यो उपकरण नहुँदा प्लान्टबाट जोडिएको अक्सिजन पाइपलाइन बिरामी राख्ने शैय्यामा लगेर जोडिएको थियो। तर अबको केही समयमा नै सिधै शैय्यामा जोडिएको पाइपलाइन बन्द गरेर भरिएका सिलिन्डरमार्फत अक्सिजन आपूर्ति हुन लागेको छ। 

लायन्स क्लब अन्तर्राष्ट्रिय कोषको एक करोड ९० लाख अनुदानमा आइसियु भेन्टिलेटर, हेमोडालिसिस मेसिन, पूर्ण डिजिटल एक्स–रे प्रिन्टिङ मेशिन, लगायतका सामग्री अस्पतालमा आएर बसेका छन्। 

यही सामग्रीमा रहेको अक्सिजन भर्ने कम्प्रेसर मसिनको काम नै प्लान्टबाट उत्पादित अक्सिजनलाई सिलिन्डरमा भर्ने हो। लायन्स क्लबले अस्पताललाई औपचारिक रूपमा सामग्री हस्तान्तरण गरेपछि झन्डै ३६ लाख मूल्यको उक्त कम्प्रेसरबाट सिलिन्डरमा ग्यास भर्न सुरु गर्ने तयारी अस्पतालले गरेको छ। 

प्लान्टबाट सिधै शैय्यामा अक्सिजन लैजाँदा प्लान्टमा समस्या आएमा वा विद्युतीय समस्या आएमा चुनौती रहने गरेकोमा सिलिन्डरमा भरेपछि बिरामीको लागि कुनै जोखिम नरहने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडीले बताए। 

कम्प्रेसरको अभावमा आफ्नै प्लान्टबाट उत्पादित अक्सिजन भर्न नसकिँदा सिलिन्डरमा भरिएको अक्सिजन लिनको लागि पोखरा जानुपर्ने बाध्यता रहेको थियो। 

प्रदेश सरकारको बजेटमा जडान गरिएको प्लान्टबाट दैनिक १५ सिलिन्डर र अहिले जडान गर्न लागिएको प्लान्टबाट दैनिक ३५ गरी एक दिनमा ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता पर्वत अस्पतालसँग रहने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.