‘कति मैलो। दिनुस् धोएर पर्सि ल्याइदिउँला’, मेरो गलामा रहेको परिचय–पत्रको फित्ता (डोरी) देखाउँदै उसले भनी।
दाहिने हातले तानेर हेरेँ। अलि मैलो भएको रहेछ। कपडा धोए पनि परिचय–पत्रको फित्ता धुन ध्यानै गएनछ।
‘घर लगेर धुन त अप्ठ्यारो होला नि ‘म्याम’, जिस्क्याउँदै भनेँ, ‘सरले के भन्नु होला?’
‘किन लगाउनु त यस्तो मैलो! फोहोरी!’, आँखा तर्दै उसले भनी, ‘वेला वेला धोएर लगाउन सकिँदैन?’
चुपचाप उसलाई हेरेँ। शरीरका कपडा मात्र होइन परिचयपत्रको डोरी पनि सुकिलो थियो। कताकता लाज लाग्यो।
‘भोलि नबिर्सी धुनु नि’, आदेश दिएर ऊ बाहिर निस्किई।
०००
‘धोए त सुकिलो हुने रहेछ’, आइतवारको पहिलो भेटमै व्यङ्ग्य गरी। धोइदिने मान्छेले वास्ता नगरेर नि’, मैले जवाफ फर्काएँ।
०००
कोरोना संक्रमणको जोखिम बढेको थियो। सरकारको तथ्यांकअनुसार दिनमै १० हजारको हाराहारीमा संक्रमित थपिइरहेका थिए। दैनिक २०० भन्दा बढीको मृत्यु भइरहेको थियो।
संक्रमणको त्रासले कार्यालयमा कर्मचारी घटाइएको थियो। एउटा कोठामा एक जना मात्र बस्ने व्यवस्था मिलाइएको थियो। अत्यावश्यक काममा बाहेक एकलाई अर्काको कोठामा नजान र मुखमा मास्क नछाड्न कार्यालयको उर्दी थियो।
०००
काम परेर उनको कोठामा पसेँ। कम्प्युटरमा टोलाइरहेकी थिई। मास्क चिउँडोमा थियो। दाहिने हात कम्प्युटरको ‘माउस’मा थियो। देब्रे हात नाकमा थियो। घरिघरि औँला छिराउँथी। निकाल्दै औँलाले डल्लो पारेर भुइँमा खसाल्थी ।
आफ्नो कार्यमा मग्न उसले म पुगेको पनि पत्तो पाइन।
केहीबेरको दृश्यावलोकनपछि सुटुक्क बाहिर निस्किएँ। उसलाई अप्ठ्यारो पार्न चाहिनँ।
०००
तपाईंको ईमेल गोप्य राखिनेछ ।