|

चारैतिर समुद्रले घेरिएको र टापू नै टापूहरूको देश भनेर चिनिने जापानका गगनचुम्बी भवनबाट दृश्य अवलोकन गर्ने क्रममा धेरैजसो गाइडहरूले बताउने गर्दछन्, 'बिचमा भूकम्प आयो र हल्लियो भनेपनि नडराउनु होला यसको जग बलियो छ।' सुनामी, तुफान, ताइफुन र भूकम्प नौलो होइन जापानको लागि।

एक, दुई दिनको बिचमा भूकम्प आएन भने के नपुगेको जस्तो महसुस हुने ठाउँ हो जापान। जतिपनि अग्ला,ठूला भवनहरू र दृश्यावलोकन टावरहरूको भ्रमण गरिन्छ, त्यसबेला भूकम्प आए कसरी सुरुक्षित हुने भन्नेबारे सुचित गरेका हुन्छन् उनीहरूले। धेरैपटक यो उदाहरणले पंक्तिकारलाई झकझक्याएको थियो ’जग बलियो छ’ भन्ने वाक्यले। 

अधिकांश व्यक्ति जीवन सफल बनाउन र प्रतिष्ठित भएर बाँच्नको लागि जीवनभर दौडधुप गरिरहेका हुन्छन्। एक अर्थमा यो सही छ, किनकी कर्मयोगविना व्यक्तिको घर चल्दैन। जीवनमा सहजता, सुबिधा र सुख प्राप्त गर्न भौतिक आर्जन जरुरी छ। 

बाहिर भूमिमा भूकम्प जान्छ, सुनामी आउँछ, ताइफुन, हावाहुरी आउँदा त जग बलियो भएको घरमा भयरहित भएर निश्चिन्त बस्न सकिदो रहेछ। के जीवनमा आउने सुनामीरूपी चिन्ता, पिर, असुरक्षाको महसुस, गरिबीको डर, सम्मानमा आँच आउला भन्ने पिर, अरू भन्दा कमजोर हुनुहुन्न भन्ने भयबाट मुक्ति पाउने, निर्भय हुने उपाय चाहिँ छैन होला ? अवश्य छ, त्यसको लागि आफूमा रहेको आध्यात्मिक चेतनाको जग बलियो हुनुपर्दछ।

जतिनै सम्पन्न र शक्तिशाली व्यक्ति पनि अधिकांश समय भयमा रहनुको कारण भौतिक सम्पदाको अभाव होइन कि उसको आध्यात्मिक जागरण कम हुनुको कारण हो।

सांसारिक भूमिका निर्वाह गर्दैगर्दा पनि आफूबाट छुटाउन नहुने स्व–बोध र साक्षीको साधनालाई मानिसले भुलिरहेको छ। त्यसैले त उसको जीवनमा र मनमा कम्पन र डरले कहिल्यै छोड्दैन।

मनको विकारको पहिचान

यसो हेर्दा अधिकांश व्यक्ति जीवन सफल बनाउन र प्रतिष्ठित भएर बाँच्नको लागि जीवनभर दौडधुप गरिरहेका हुन्छन्। एक अर्थमा यो सही छ, किनकी कर्मयोगविना व्यक्तिको घर चल्दैन। जीवनमा सहजता, सुबिधा र सुख प्राप्त गर्न भौतिक आर्जन जरुरी छ। तर, यसको वास्तविक परिणाम र जीवनमा प्राप्त गर्न खोजेको कुरा के हो त्यसमा मानिस अल्मलिएको छ।

कैयौं अदृश्य चिज छन्। जसको अभावमा जीवन नै सम्भव छैन। तर त्यसलाई बोध गर्ने कला छैन। बाहिर जे देखिन्छ र जे देखाउन सकिन्छ त्यसको प्रतिष्पर्धामा मात्र मानिस तल्लिन भयो। मनको मृगतृष्णारुपी चाहनाले उसलाई दौडाइरह्यो। त्यसकै लागि उसले व्यापार रोज्यो, राजनीति रोज्यो, जुन चिजले देखिने गरी जीवनमा सफलताको भ्रम दिन सक्छ त्यसमा तल्लिन भयो।

मनले जताजता लैजान्छ त्यतै त्यतै भड्कियो। उसका चाहना र ति पूरा हुँदा खुसी लाग्नु अनि पूरा नहुँदा दुखी हुनु यी त सब मनका विकार पो हुन् त। मन भन्दा भित्रको आत्मा भनौं या चैतन्य उसलाई त केवल अक्म्प र निर्भयताको ज्ञान छ। सानातिना कुराले उसलाई दुःखी र खुसी बनाउन सक्दैन।

जो अन्तरआत्मासँग नजिक हुन सक्दछ ऊ निर्भयमा पुग्दछ। अन्तरआत्मा, परमात्मा, ईश्वर, चैतन्य जे नाम दिएपनि आफूलाई भित्रबाट बोध गर्न सक्नु अध्यात्म हो। यो अध्यात्म बाहिर सिक्ने कुरा होइन जीवनसँगै लिएर आएको स्वभाव नै अध्यात्म हो। आफ्नो स्वभावमा स्थिर रहनु अध्यात्म हो।

त्यसैले त अध्यात्मको जग बलियो भयो भने, आफ्नो स्वभाव र आत्मसम्मानमा स्थिर रहन सक्यो भने व्यक्ति भयमा बाँच्नु पर्दैन। कुनैपनि प्रतिकुलता उसलाई समस्या जस्तो लाग्दैन। कुनै समस्या आएपनि उसले सहजतापूर्वक सम्हाल्न सक्ने खुबी राख्दछ।

अध्यात्ममा बाँच्न जान्नेलाई भौतिक सफलता अस्तित्वले आफैं उपलब्ध गराइदिएको हुन्छ। तर, त्यसलाई बोध गर्न सक्ने क्षमता र विवेक मानिसमा नहुँदा उसले दुखै गरेर आर्जन गर्नुपर्छ। सम्पन्नता भन्ने ठान्दछ। अरुबाट लुटेर, अरुलाई ठगेर, भ्रस्टाचार गरेर, झुक्याएर, राजनीति गरेर मात्र प्राप्त हुन्छ भन्ने विकार बोकेर हिँडेको मानिस सहजता र निर्भयमा कसरी बाँचोस त?

प्रेरक जीवन बाँच्ने कला

मुल्ला नसरुद्धिन मध्यपान गरेर साथीहरूसँग रमाइरहेका थिए। एकजना साथीले उनको शिरमा हात राख्दै भनेछन्, 'मुल्ला तिमीलाई पनि बुढ्यौलीले छोएछ, कपाल त सेतो भएछ।' मुल्लाले झटपट जवाफ दिएछन्, 'कपाल सेतो भएर के भयो त मन अझै कालो नै छ।'

मानिसको बढ्दै जाने उमेर र अनुभवले पनि रुपान्तरण ल्याउन सकेन भने उसले जीवनमा के पायो? के सिक्यो? के दियो? त्यसले महत्त्व राख्दछ छ। सन्तहरू भन्छन्, 'ठिक छ तिमीले जीवनमा आवश्यक अर्थोपार्जन गर्‍यौं, सम्मान, पद, प्रतिष्ठा आर्जन गर्‍यौं। राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा ख्याती कमायौ, पुरस्कार प्राप्त गर्यौं, प्रशंसकहरूको संख्या प्रशस्त कमायौ। तर तिम्रो व्यक्तित्व अरूको लागि कति प्रेरक बन्न सक्यो ?'

तिमीले अरूलाई हानी नपुर्‍याइ, दुख नदिई, धोका नदिई, भ्रस्टाचार नगरी प्राप्त गर्‍यौं या सहजै आफ्नो कर्मद्वारा प्राप्त गर्‍यौं त्यसले विशेष अर्थ राख्दछ। तिम्रो उपलब्धिले कसैको जीवनमा सकारात्मक प्रेरणा भर्न सक्यो भने त्यो तिम्रो वास्तविक आर्जन हुनेछ। आफ्नो जीवन बाँच्न र आफू खुसी अनि सुखी हुन कसैले कसैलाई सिकाउनु पर्दैन। तर, आफ्नो खुसी र सफलताले अरुलाई सकारात्मक प्रेरणा दिन सक्यो भने त्यो वास्तविक जिउने कला हो।

केवल प्राप्त गर्न र के र कसरी प्रश्न र जिज्ञासाले मात्र भरिएको व्यक्तिले जवाफ र अर्ति पनि सुन्दैन बरू उसमा एकपछि अर्को प्रश्न उब्जिदै जान्छ, उसले जवाफमा पनि प्रश्न नै देख्दछ। प्रश्न नै प्रश्नको जीवन बाँच्न बाध्य बनिरहेको हुन्छ। बाहिर भौतिक सुविधा जति नै होस् भित्र मनबाट द्विविधामै बाँचिरहेको हुन्छ। थोरै मात्र चैतन्य खुल्यो भनेपनि उसले त्यसमा सयौं प्रश्न सृजना गर्दछ। 

संसारमा जति पनि सामाजिक, राजनीतिक र वैज्ञानिक परिवर्तनहरू भएका छन् तिनलाई हेर्दा परम्परागत रुपमा चलिरहेका स्थापित मान्यताका स्थानमा नयाँ मान्यताको चिन्तनले त्यसको जग हल्लाइदिएपछि मात्र नयाँ परिवर्तनको जग बसेको पाइन्छ।

हृदयबाट आउने प्रश्न र जिज्ञासालाई छायाँमा पारेको हुन्छ फेरि मन र बुद्धितिरै भड्किन्छ। व्यक्ति आफ्नो भित्रको चेतनासँग परिचित हुन खोज्दैन। ऊ खोज्दछ त केवल प्रश्न, ति प्रश्न न त जीवनसँग, न त् अनुभूतिसँग, न त स्व–चैतन्यसँग नै सम्बन्धित हुन्छन्।

द्रष्टाको अनुभूति

जीवनभर यो आँखाले अरूलाई हेर्छ। अरू कस्तो छ हेर्छ र वकालत गर्छ। राम्रो, नराम्रो, वासना, स्मृति, कल्पना, विचार, बुद्घि, विवेक, अहंकार जस्ता दृश्य सिनेमाको पर्दामा परिवर्तन भएझैं मन जता जान्छ त्यही देख्छ। यहि मनको फैलावट त संसार हो।

मनलाई भित्र मोडेर, त्यही आँखाले आफ्नो भित्र हेर्न शुरु गर्‍यो भने थाहा हुन्छ, 'म मार्फत यो संसार देखिएको छ। म मार्फत यो सृष्टि देखिएको छ। कल्पना र विचारमा भएका सबै चिज अब दर्शक भएर होइन द्रष्टा भएर देखेको छ। '

जसलाई जे देख्न चाहेको थियो र वकालत गरेको थियो त्यो आज आफैंले अनुभूति गरेको छ। आफ्नो मनको कम्प, क्रोध, लोभ, घृणा, द्वेष जतिपनि विकार छन्। अब त्यसलाई आफ्नै आँखाले हेर्न शुरु गरौं त !

होशपूर्ण देख्न शुरु गर्नासाथ साक्षीको अवस्थामा पुगिन्छ अनि द्रष्टा बनिन्छ र अनुभूति हुन थाल्दछ कि, 'यो त मैले नै देखिरहेको छु, मेरो आँखाबाट अस्तित्व मलाई नै हेरिरहेको छ। मेरो आँखाबाट जसलाई हेरेको छु उसले पनि मलाई नै हेरिरहेको छ।'

यसको निरन्तर अभ्यासले एउटा क्षण आउँदछ जहाँ केवल साक्षी, शुन्यता, निर्भय, अकम्प र गुनासोरहित अवस्था। जीवनभर इन्द्रीय मार्फत अनुभव लिने र गुण दोष छुट्टयाउने काम हुन्छ। इन्द्रिय भन्दा पर मन, मन भन्दा पर बोध, कम्प भन्दा पर अकम्प र त्यसभन्दा गहिराइमा सुमिरन अर्थात् अस्तित्वसँगको साक्षात्कार अवस्था यहि नै अध्यात्मको अनुभूति हो।

सांसारिक जीवनका आयाम र यसका पत्रलाई थोरै भित्र भित्र पल्टाउदै जान सकियो भने सहजतापूर्वक बोध हुनेछ। त्यसैले हामीले राष्ट्रको विकास या व्यक्तिगत विकास जे खोजेपनि त्यसको लागि सामाजिक, आर्थिक वा वैज्ञानिक जुनसुकै आयाम अपनाए पनि त्यहाँ सामाजिक विश्वास, सोच र चिन्तन प्रणालीको परिवर्तनले भूमिका खेलेको हुन्छ।

संसारमा जति पनि सामाजिक, राजनीतिक र वैज्ञानिक परिवर्तनहरू भएका छन् तिनलाई हेर्दा परम्परागत रुपमा चलिरहेका स्थापित मान्यताका स्थानमा नयाँ मान्यताको चिन्तनले त्यसको जग हल्लाइदिएपछि मात्र नयाँ परिवर्तनको जग बसेको पाइन्छ।

मानिसले जानेको र प्रयोगमा ल्याएको भनेकै एकै किसिमको विश्वास–प्रणाली, चिन्तन, सोच र व्यवहारका साथ जीवन बाँचिरहनु, कहिल्यै पनि सोच, चिन्तन र व्यवहारमा व्यापक झड्का महसुस गर्ने साहस नगर्नु हो।

अब समय भएको हो कि आफ्नो अध्यात्मको जगमा टेकेर सांसारिक सफलताको अनुभूति र रुपान्तरण गर्ने?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.