|

काठमाडाैं : टिनटिन टिनटिन पहिलो घण्टी बज्छ सबैजना लाइनमा बस्छन्, टिनटिन टिनटिन दोस्रो घण्टी बज्छ दर्शक नाटकघरभित्र छिर्ने क्रम सुरु हुन्छ। टिकटमा प्वाल पारेर, हातमा स्यानिटाइजर दलेर भित्र छिर्नेबित्तिकै लाग्छ यो अर्को दुनियाँ हो।

दिमागमा अर्को घण्टी बजे जस्तो लाग्छ टिनिनिनि...। खाली कुर्सीले दर्शकलाई पर्खिरहेका हुन्छन्। तर लाग्छ नाटक सुरु भइसक्यो। तर कति बेलादेखि? घण्टी त भर्खर बजेको हो।

कि यो नाटक सकिएको घण्टी हो? होइन। सबै जना भर्खर छिर्दैछन्। हल बिस्तारै भरिँदै छ। तर लाग्छ नाटक साँच्चिकै सुरु भइसकेको छ। एकैछिन अघि लाइन बस्दा सुरु भएको हो? कि सिँढी चढ्दा चढ्दै? कि तल बबाल चिया पसलमा चिया पिउँदै गर्दा? कि त्यो भन्दा अगाडि नै? आज हरेक बबाल कुरा नाटक हेर्न जानुपर्छ भनेर सोच्दादेखि नै?

तपाईं कुर्सीमा बस्नुहुन्छ। नाटक चलिरहेकै छ। तपाईं एकदमै नजिकबाट नाटक हेरिरहनुभएको छ। आफूभित्र केही सलबलाइरहे जस्तो, बिस्तारै तरल हुँदै गएजस्तो र कतै मिसिए जस्तो लाग्छ।

तपाईं मात्र होइन तपाईं जस्तै सबै तरल भए जस्तो, सबै एकैठाउँमा मिसिए जस्तो। मानौ मञ्च एउटा सुन्दर पारदर्शी भाँडो छ अनि तपाईं र तपाईं जस्तै सबै, हलमा बलिरहेको प्रकाश, बजिरहेको संगीत, हो कि जस्तो लागिरहेको त्यो गन्ध सबै सबै त्यही भाँडोमा छ। अब त्यो भाँडोमा नाटक छ, तपाईं हुनुहुन्छ। तपाईं नाटक भित्र हुनुहुन्छ, नाटक तपाईं भित्र छ। अब यो दुईटा अलग कुरा होइनन्।

आकांक्षा कार्कीको निर्देशनमा कौसी थिएटरमा मञ्चन भइरहेको नाटक 'हरेक बबाल कुरा'ले यस्तै आभास दिलाउँछ। डनक्यान म्याकमिलनको 'एभ्रि ब्रिलियन्ट थिङ'लाई अनुवाद गरिएको नाटक मानसिक स्वास्थ्यलाई केन्द्रीय विषयवस्तु बनाएर तयार पारिएको छ।

आकांक्षा र क्षितिज पराजुलीले अनुवाद गरेको नाटकमा सुदाम सिकेको अभिनय रहेको छ। जसले सबै दर्शकलाई आफूसँगै घोलेका पनि छन्।

यो नाटकले आफूलगायत धेरै जनाको मानसिक स्वास्थ्यसँगको संघर्षलाई समेटेको  निर्देशक कार्की बताउँछिन्। 'कोरोनाको प्रकोपले हामीलाई शारीरिक रूपमा धेरै जोखिम त पुर्यायो नै, सँगसँगै मानसिक रूपमा पनि हामीलाई लाचार, विवश र एक्लो महसुस गरायो।

यो नाटक जीवनका जटिलता र विभिन्न लडाइँहरू जित्दै आउनुभएका सबै मानिसहरूप्रति समर्पित छ', उनी भन्छिन्, 'कहिलेकाहीँ क्षणिक सुखानुभूतिले हामीलाई यो प्रश्न बिर्साइदिन्छ, र पनि हामी पटकपटक एक किसिमको भूमरीमा अल्झिरहन्छौँ। जीवन के हो भन्ने प्रश्नको उत्तर त मलाई थाहा छैन, तर के कस्ता कुराले मलाई बाँच्ने आधार दिन्छन् भनेर बुझ्ने प्रयास गरिरहेको छु।'

भदौ २५ देखि मञ्चन सुरु भएको नाटकलाई दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन्। शुक्रबारसम्म मञ्चन हुने भनिएको नाटक दर्शकले निकै रुचाएपछि दुई वटा शो थप गरिएको थियो।

शनिबार र आइतबार  एकएक शो  थप गरिएकोमा दुवै शो फुल भइसकेका छन्। केही दिनपछि नाटकलाई पुनः मञ्चन गर्ने तयारीमा कथा घेरा रहेको छ। लामो समयदेखि बन्द रहेर खुलेका नाटकघरमा दर्शकको यस्तो उत्साहजनक उपस्थिति हुनु सिंगो रंगमञ्चको लागि सुखद समाचार हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.