|

काठमाडौं : 'कमेडी च्याम्पियन'ले नयाँ च्याम्पियनको घोषणा आज साझ गर्दैछ। दोस्रो सिजनको उपाधिको प्रतिष्पर्धामा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र भारतको सिक्किमका विक्की अग्रवाल छन्।

 यी तीन जनामध्ये भोटिङका आधारमा एकजना कमेडी च्‍याम्पियन छानिनेछन्। विजेताले कार र २५ लाख नगद पुरस्कार पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः बाइक र स्कुटर पुरस्कार पाउने आयोजकले जनाएको छ। 

निर्देशक विशाल भण्डारीले शनिबार राति ९ बजेदखि कार्यक्रम सुरु हुने बताए। राति १० बजेदेखि ग्रान्ड फिनाले सुरु हुने र राति ११ बजेसम्म उपाधिको कसको पोल्टामा पर्छ भन्ने सार्वजनिक हुने भण्डारीले उल्लेख गरे।

नजिताको समय नजिकिँदै गर्दा उपाधि होडमा कसले बाजी मार्छ भन्ने धेरैमा कौतुहलता रहेको छ।  'कसले जित्छ भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था छैन। तीन जना प्रतिष्पर्धीलाई दर्शकले रुचाउनु भएको छ', भण्डारी भन्छन्, 'प्रतिष्पर्धा रोचक हुने देखिएको छ।'

उपाधिका दावेदार मानिएका भरतमणि र विक्कीलाई सन्तोषले काउण्टर दिने सम्भावना पनि उत्तिकै छ।  उत्कृष्ट तीनका सन्तोषको 'कन्फेशन कमेडी'ले धेरैको मन जित्न सफल भयो।

उपाधिका दावेदार भरतमणिको घरबेटीबाको प्रस्तुती, गोकुल बाँस्कोटा, रामनारायण बिडारी र पारस शाहको क्यारिकेचरले दर्शकको मन जित्न सफल भएका थिए। च्याम्पियनमा धेरै पटक पर्फर्मर अफ द राउण्ड बनेका भरतमणिले विभिन्न प्रस्तुति दिए। दर्शकले रुचाए। दर्शकको रोजाइमा भरतमणि पर्ने सम्भावना उत्तिकै छ। उनको समर्थनमा पूर्वमन्त्री योगेश भट्टराई, पूर्वमन्त्री गगन थापा भरतका लागि भोट मागिरहेका छन्।

विक्की च्याम्पियनका अर्का दाबेदार हुन्। च्याम्पियनको ३४ औं भागमा कमेडियन विक्कीले गरेका ‘पेन्टोमाइम' ले दर्शकको ध्यान तानेको थियो। उनको मौलिक र फरक प्रस्तुति दिएर दर्शकको मन जितेका छन्। उनलाई नेपालभित्र र सिक्किमका जनताको समर्थन छ।  उनको सफलताका लागि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले व्यक्तिगत रूपमा नै ५ लाख रुपैयाँ सहयोग गरेका थिए।

च्याम्पियनमा यी दुईलाई काउण्टर दिने काम सन्तोषले गरेका छन्। उनले टप तीनमा जुन हिसाबको कन्फेस प्रस्तुति दिए, त्यो कन्फेशन उनका लागि उपाधि जित्न सक्ने बलियो दावेदार बनाइदिएको छ। सन्तोषको इमोशनल कन्फेस, पुलिस, डन,  मेन पावरको मान्छे र पानीको जार ओसार्नेसम्मको भूमिकामा उनी अब्बल प्रस्तुती दिए। 'नेपाली टिचेर' को प्रस्तुतीले उनलाई थप हाइप दिएको थियो। सन्तोषलाई उपाधि जिताउन गोरखाका मेयरदेखि स्थानीयसम्मले कसरत गरिरहेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि सन्तोषलाई जिताउन कम्मर कसेका छन्।  उपाधिका लागि प्रतिष्पर्धा गरिरहेका सन्तोष पनि बलिया प्रतियोगी हुन्। उत्कृष्ट ३ मा उनले दिएको प्रस्तुतिले सन्तोषलाई गतिलो हाइप दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.