|

सल्यान : स्वदेशमा रोजगारी नपाएपछि धेरै युवाहरू विदेश पलायन भइरहेका छन्। तर, कोही यस्ता युवा छन् जहाँ  विदेश गएर पनि  सोचेजस्तो काम नपाएपछि स्वदेशमा नै फर्किएर स्वरोजगारमूलक कार्यमा सहभागी हुन थालेका छन्। विदेश जाने युवाको संख्या बढे पनि पछिल्लो  समय वैदेशिक रोजगारीबाट नै  फर्किएका धेरै युवा कृषि व्यवसायमा संलग्न हुन थालेका छन्।

जिल्लाको कपुरकोट गाउँपालिका-३ दमारखोलाका थमन गिरीले पनि  १० वर्ष मलेसिया बिताए। लामो समय विदेशमा कष्टकर जीवन बिताए पनि उनले भने जस्तो काम पाउन सकेनन्। भनेजस्तो काम नपाएपछि विदेशबाट फर्किएर गिरीले अहिले आफ्नै गाउँमा व्यवसायिक तरकारी खेती गर्दै आइरहेका छन्।

विदेशमा गरेको दु:खलाई सम्झिँदा अहिले तरकारी खेतीमा बगाएको पसिना र परिश्रम आफूलाई  सामान्य लागेको उनी बताउँछन्। उनले भने ‘१० वर्ष मलेसियाको एउटै कम्पनीमा काम गरियो। विदेशमा गरिने दु:खलाई सम्झिदा यो तरकारी खेतीमा गरेको दुख सामान्य लाग्छ।’

२० रोपनीमा व्यवसायिक तरकारी खेती गर्दै आइरहेका गिरीले एकै सिजनमा ७  लाख आम्दानी गर्दै आइरहेका छन्। खुला आकाशमा तरकारी खेती गरिने भएकाले रोग किराको प्रकोप बढी हुने उनको भनाई छ। रोग किराले नसताएको र बजार मूल्य राम्रो भएको समय ८ लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ। उनले भने ‘हाम्रो आम्दानीको मुख्य स्रोत नै तरकारी खेती हो। तरकारी बाहेक आम्दानीको अर्को स्रोत नभएकाले तरकारीलाई जोड दिँदै आइरहेको छु।’

यस्तै, शारदा नगरपालिका-६ बरलाका प्रदीप वलीले पनि तरकारी खेतीबाट वार्षिक ४ लाख भन्दा बढी आम्दानी गर्दै आइरहेका छन्। तीन वर्ष खाडी मुलुक बिताएका वलीले विदेशको जति श्रम नेपालमा गर्ने हो भने विदेशको भन्दा नेपालमा धेरै आम्दानी गर्न सकिने बताए।

उनले भने, ‘विदेशको अनुभव पनि लिइयो तर विदेशको भन्दा नेपालमै धेरै राम्रो छ। विदेशको जति रगत पसिना यहाँ बगाउन सक्ने हो भने धेरै राम्रो कमाई गर्न सकिँदो रहेछ।’ ३ रोपनीमा बेमौसमी तरकारी खेती गर्दै आइरहेका वलीले विदेशमा जानुभन्दा स्वदेशमै तरकारी, बाख्रा, कुखुरा पालन गर्न आग्रह गरे।

विदेशमा सहजै पैसा कमाउन सकिन्छ भनेर धेरै युवा विदेश पलायन भए पनि सोचे जस्तो नभएको कपुरकोट गाउँपालिका–५ रिमका अर्का किसान नङगेन्द्र घर्तीले बताए। तीन वर्ष विदेशको अनुभव सँगालेका उनले विदेशमा भन्दा स्वदेशमै सानो काम गर्नु निकै उत्तम भएको बताए।

१० वटा टनेल र खुला ठाउँ गरी १५ रोपनी बढीमा तरकारी खेती गर्दै आएका उनले विदेशको भन्दा तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको बताए। उनले भने, ‘तीन वर्ष विदेश बसियो कतिसम्मको दुख पाइयो त्यो मलाई मात्र थाहा छ, त्यही दुख भोगेर आज मैले तरकारी खेती गरिरहेको छु।’

तरकारी खेतीबाट चार जनाको परिवार पालेर वार्षिक ४ लाख आम्दानी भइरहेको उनले बताए। 'घर खर्च, मल बिउ बिजन सबै कटाएर ४ लाख जति आम्दानी भएकै छ किन अर्काको देशमा भौँतारीरहनु', उनले भने।

कपुरकोट बेमौसमी तरकारीका लागि नेपालमै प्रख्यात छ। कपुरकोट गाउँपालिकामा रहेका झन्डै १८ हजार बढी जनसंख्याले व्यावसायिक तरकारी खेती अँगाल्दै आइरहेका छन्।

कपुरकोट गाउँपालिका भित्रबाट मात्र वार्षिक १५ देखि १६ करोडसम्मको तरकारी निकासी हुने गरेको कृषि उपज संकलन केन्द्र कपुरकोटका सचिव तिलक शर्माले बताए। उनले भने, ’यहाँका किसानले अन्य कुनै पनि अन्नबाली लगाउँदैनन्। भएको सम्पूर्ण खेती योग्य जमिनमा तरकारी खेती लगाउने गरेका छन्।’

कपुररकोट गाउँपालिका भित्र रहेका धनवाङ्ग, सिनवाङ्ग, रिम र गर्पाका सम्पूर्ण किसानको मुख्य पेसा तथा व्यावसाय नै तरकारी खेती भएको शर्माले बताए। विगतमा भारत तथा मुलुकका अन्य देशमा रोजगारीका लागि युवाहरू पछिल्लो समय स्वरोजगार बन्दै गएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.