|

म्याग्दी : सबैभन्दा बढी उमेरमा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने उद्देश्यसहित हिमाल आरोहणमा निस्केका स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि ‘बेसक्याम्प’ आइपुगेका छन्।

धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता ११औं पटक प्रयास गर्दा पनि धौलागिरीको शिखरमा पाइला राख्न सफल भएका छैनन्। संसारको सातौं अग्लो धवलागिरि प्रथम (८,१६७ मिटर) आरोहण गर्न सोरिया फोन्टेन बेस क्याम्प पुगेका हुन्।

यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन्। कार्लोस र नेपाली महिला आरोही सेप्टेम्बर १३ मा म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरबाट हेलिकोप्टरमा धवलागिरिको सबैभन्दा तलको इटली क्याम्प उत्रेका हुन्।

धवलागिरि पदमार्गमा पर्ने बेनी–दरबाङ सडकको मालिका–६ मा पहिरोले यातायात अवरुद्ध भएपछि पर्वतारोही र सामग्री हेलिकोप्टरबाट बेसक्याम्प पुर्‍याइएको हो।  

उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटरमाथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ। यसपटक भने सफल हुनेमा उनी विश्वस्त छन्। सबैभन्दा बढी उमेरका पर्वतारोहीको कीर्तिमान राख्ने अभियानमा रहेका उनले धवलागिरीबाहेक तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ।

उनले धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका थिए। उनले ७५ वर्षको उमेरमा कञ्चनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए।

६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला चुम्न सफल भएका उनी नेपाल, पाकिस्तान र चीनमा रहेका ८ हजार मिटरमाथिका १४ हिमाल छोटो समयमा आरोहण गरी म्याग्दीमा निर्मल पुर्जाले कीर्तिमानी कायम गरेका छन्।

बेसक्याम्पमा आरोहीहरूको चहलपहल

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहणका लागि आरोहीहरूको चहलपहल बढेको छ। भदौ अन्तिम सातादेखि आधार शिविरमा हिमाल आरोहणका लागि ओरोहीहरू पुग्नेक्रम बढेको छ।

यो सिजनमा आरोहणका लागि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगीहरू गरि करिब ७० जना आधार शिविरमा पुगेका छन्। सेभेन समिट ट्रेक्सबाट मात्रै आरोहणका लागि ४६ जनाको टोली आधार शिविरमा पुगेको छ।

पाइनर एडभेन्चर र हिमालयन गाईड मार्फतसमेत आरोहणका लागि पर्वतारोहीहरू आधार शिविरमा पुगिसेका छन्। सबैभन्दा धेरै आरोहीहरूको आरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईका अनुसार यो सिजनको आरोहणको लागि अधिकांश आरोही आधार शिविरमा पुगिसेका छन्।

वर्षा र ७२ घण्टे पिसिआर रिपोर्टको मापदण्डका कारण अधिकांश आरोहीहरू म्याग्दीबाट हेलिकप्टरमार्फत नै आधार शिविर पुगेको गुरागाईले जानकारी दिए। अधिकांश आरोही सवारी साधन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम र मंगला गाउँपालिकाको बावियाचौरबाट हेलिकप्टरमार्फत आधार शिविर पुगेका हुन्।

सेभेन समिटको व्यवस्थापनमा यो सिजनमा २६ विदेशीसहित २१ जना नेपाली पर्वतारोहीले धौलागिरिको आरोहण गर्दै छन्। नेपाली महिलाहरूको तर्फबाट धौलागिरिको पहिलो आरोहणको तयारीमा रहेकी पत्रकार पूर्णिमा श्रेष्ठले अधिकांश टोली आधार शिविर पुगिसकेकाले आफू मार्फा हुँदैको पदमार्ग भएर आधार शिविरतर्फ जान लागेको जानकारी दिइन्।

‘गत वैशाखमा नै धौलागिरिमा नेपाली महिलाहरूको तर्फबाट पहिलो पटक धौलागिरिको सफल आरोहण गर्ने कोसिस गरेका थियौँ, त्यस समयमा आधार शिविरमा कोरोना संक्रमण फैलिएपछि आरोहण स्थगित गरेर फर्कनुपरेको थियो’ उनले भनिन,‘यसपटक तीनजना महिलाहरूले पुनः आरोहणको लागि आधारशिविरतर्फ लागेका छौँ।’

धौलागिरिमा नेपाली महिलाहरूको पहिलो आरोहणको किर्तिमानका लागि पूर्णिमा श्रेष्ठ, पासाङल्यामु शेर्पा र मायाँ शेर्पा यो सिजनमा धौलागिरि आरोहणको तयारीका लागि आधारशिविर हिँडिसकेका छन्। यो टोलीले आगामी अक्टोबर १५ भित्रमा आरोहण सकेर फर्कने गरि कार्यतालिका बनाएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.