|

जनकपुरधाम ः रेल ढाकिएको पाल धुजाधुजा भइसकेको छ। रेलका पार्टपुर्जामा खिया लाग्न थालेको छ। ठाउँठाउँमा रेल्वे लिकका क्लिप पनि चोरी हुन थालेका छन्। तर नयाँ रेल गुड्ने कुनै सुरसार छैन।

गत वर्ष आजकै दिन भारतबाट दुई सेट रेल जनकपुर ल्याइएको थियो। नेपाली झण्डाको रङमा रंगिएका रेल्वे सेट हेर्न कोरोना महामारीको परवाह नगरी हजारौं नागरिकको भीड लागेको थियो।

रेल हेर्नेको भीड थामिनसक्नु थियो। कुर्था–जनकपुरधाम–जयनगरसम्म नयाँ रेलमा आवतजावत गर्न पाइने भएपछि आसपासका नेपाली निकै उत्साहित भएका थिए। रेल संचालन हुने विभिन्न मिति पटक–पटक तोकिए पनि रेल गुड्ने दिन आजसम्म जुरेको छैन।

भारतबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको रेल एक वर्षदेखि जनकपुर–जयनगर खण्डको इनर्वा स्टेशनमा खुला आकाशमुनी थन्क्याएर राखिएको छ। रेल छोप्न प्रयोग गरिएका त्रिपाल च्यातिएर धुजाधुजा भइसके छ।

नेपाल रेलवे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल चलाउन पटक–पटक मिति तोके तर रेल गुड्ने दिन जुरेन। रेल नगुडेरै भट्टराई पदमुक्त भए। नवनियुक्त महाप्रबन्धक निरञ्जनकुमार झा रेल सञ्चालनको लागि अहिले एकिन समय तोक्न नसक्ने बताउछन्।

उनले रेल संचालनमा अझै केही समय लाग्ने बताए। दुई सेट रेल खरिद भएर आएको लामो समय बिते पनि कानुनी तथा प्राविधिक जटिलताका कारण तत्काल रेल सञ्चालन हुने अवस्था नरहेको उनको भनाई छ।

महाप्रबन्धक झाले भने, ‘अहिले तत्काल नै रेल सञ्चालन हुने अवस्था छैन। रेलसम्बन्धी कानुन संसदबाट पारित भइसकेको छैन, प्राविधिक विषयहरूमा पनि समस्या छ, सञ्चालनका लागि अझै दुई–तीन महिना कुर्नुपर्ला जस्तो लागेको छ।’

रेल्वे ट्रयाक, स्टेशन, हल्ट, कर्मचारी आवास लगायतका भौतिक संरचनाहरू भारतीय निर्माण कम्पनीले हालसम्म हस्तान्तरण गर्नसकेको छैन। भाडा निर्धारण, यात्रु बीमालगायतका कामबारे पनि निर्णय नभएको झाले बताए।

रेल सञ्चालनको प्राविधिक सहयोगका लागि नेपाल सरकार अनिच्छुक देखिएको भन्दै भारतको कोंकण रेल्वे कम्पनीले केही दिनअघि सम्झौता रद्द गर्ने चेतावनी समेत दिएको थियो।

सम्झौता अनुसार नेपाल सरकारले भुक्तानी नगरेको भन्दै कोंकणले सम्झौता रद्द गर्ने आशयको पत्र रेल्वे कम्पनीलाई पठाएको थियो। महाप्रबन्धक झाले कोंकण कम्पनीलाई सम्झौता अनुरूप रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

उनका अनुसार सो कम्पनीलाई राष्ट्र बैंकमार्फत भारतीय रूपैयाँ पठाउनुपर्ने हुन्छ। त्यसको म्याद पनि गुज्रिसकेको छ। कोंकण कम्पनीलाई कसरी भुक्तानी गर्न सकिन्छ भन्नेबारे छलफल चलिरहेको उनले बताए।

भारत सरकारले करिब ९ अर्ब रुपैयाँको लगानीमा जयनगरबाट बर्दिबाससम्म रेलमार्ग बनाउने जिम्मा लिएको छ। जनकपुरसम्मको ब्रोडगेज रेलमार्ग तयार भएको तीन वर्ष बितिसक्यो।

रेल किनेरसमेत एक वर्षदेखि थन्काइएको छ तर किनेको रेलसमेत चलाउन सकस परेको छ। भारतको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सन् २०१० मा सम्झौता भएको थियो।

सन् २०११ माघ महिनादेखि निर्माण थालिएको जयनगरबाट बर्दिवाससम्म ६९ किलोमिटर भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इकर्न इन्टरनेसनल कम्पनीले लिएको छ।

परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना थियो।

जसमध्ये जयनगरदेखि कुर्थासम्मको लिक दुई वर्षदेखि पूर्ण तयारी अवस्थमा छ। कुर्थादेखि भंगहासम्मको लिक पनि लगभग तयारी अवस्थामा रहेको र पूर्ण तयारीका लागि दुई महिना अझै लाग्ने रेल्वे विभागका साइड इन्जिनियर विनोद ओझाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.