|

संखुवासभा : खोटाङमा डेंगुका बिरामी भेटिएका छन्। जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकका अनुसार एक साताको अवधिमा डेंगुका आठजना बिरामी भटिएका छन्। संक्रमितमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छन्। दिक्तेल रुपाकोट मझुवागढी १ का पाँच जना, वडा नम्बर ६ का १ जना र रावाबेशी गाउँपालिका–३ का एकजनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

तीमध्ये एक जना बिरामीलाई शरीरमा रगत कम भएकाले भदौ ३० गते अन्यत्र रेफर गरेको छ। यस्तै‚ दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अन्य बिरामी घरैमा रहेको डा. मल्लिकले जानकारी दिए। यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा समेत पाइने गरेको बताइन्छ। यसका प्रमुख लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि डा. मल्लिकले बताए। यसको संक्रमण भएपछि निको हुन दुईदेखि सात दिनसम्म लाग्ने उनको भनाइ छ।

यस रोगबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकको सुझाव छ। यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउन सकिने जिल्ला अस्पताल खोटाङका प्रमुख डा. मल्लिकले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.