|

काठमाडौं : सत्तारूढ गठबन्धनले सरकारलाई पूर्णता दिन तयारी थालेको छ। गठबन्धनका शीर्ष नेताहरूले अबको केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक कार्यक्रममै यसैसाता सरकारले पूर्णता पाउने बताइकेका छन्।

नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रशिक्षणका लागि शनिबार जनकपुर पुगेका अध्यक्ष प्रचण्डले १–२ दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरेका छन्। उनले बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका कारण मन्त्रिपरिषद् विस्तार नअड्किएको पनि बताए।

यसअघि, एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि शनिबार नै मीनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिनेक्रममा यही सातामा मन्त्रिपरिषद् हुने बताएका थिए।

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पनि छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारी भएको थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। सरकारलाई पूर्णता दिन दलहरूबीचमा मन्त्रालयको पनि भागबण्डा टुंगिएको छ।

यस्तो छ मन्त्रालयको भागबण्डा

हामीलाई प्राप्त समाचार स्रोतका अनुसार नेपाली कांग्रेसले ७ र गठबन्धनका अरू दलले ६–६ वटा मन्त्रालय पाउने गरी भागबण्डामा सहमति भएको हो। ५ दल सहभागी गठबन्धनमा राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने यसअघि नै घोषणा गरिसकेको छ।

समाचार स्रोतका अनुसार आकर्षक मन्त्रालय पनि सबै दललाई समान हुने गरी भागबण्डा मिलाइएको छ। एमाले फुटेर बनेको एकीकृत समाजवादीले पाउने ६ वटा मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, उद्योग वाणिज्य तथा आपूर्ति र महिला बालबालिका तथा ज्‍येष्ठ नागरिक मन्त्रालय छन्।

केहीमा दोहोरो दाबी

तर, केही मन्त्रालयमा गठबन्धनमा आबद्ध दलहरूको दोहोरो दाबीले समस्या देखिएको छ। यस्तै, अहिले बनेका मन्त्रीहरूको जिम्मेवारीलाई हेरफेर नगर्ने पनि सहमति गठबन्धनमा भएको छ।

हाल कांग्रेसबाट प्रधामन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्की र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.