महिलालाई जिस्क्याउने र अभद्र व्यवहार, कोरोना संक्रमण फैलिने जोखिम अत्यधिक

|

काठमाडौं : काठमाडौंको  गोठाटारस्थित बालुवाखानीको नाम पछिल्लो समय फेरिएको छ। हिजोआज 'लभ डाँडा' का नामले चिनिन थालेको बालुवाखानी महिलाहरूका लागि भने असुरक्षित बन्न थालेको स्थानीयको गुनासो छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसँगै जोडिएको र लगभग उत्तिकै उचाइमा रहेको फराकिलो ठाउँ भएकाले त्यहाँबाट राजधानीको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। डाँडामा चिसो हावा सरर वहने हुँदा अँगालोमा बेरिने युवायुवतीदेखि टिकटक बनाउने र मादक पदार्थ सेवन गर्नेसम्मको अत्यधिक भीड लाग्ने गरेको छ। 

सार्वजनिक बिदाको दिन शनिबार त 'लभ डाँडा' मा यति धेरै ठेलमठेल हुन्छ कि खुट्टा राख्ने ठाउँ पाउन कठिन हुन्छ। एकातिर युवायुवती मोबाइल घुमाइघुमाइ सेल्फी लिन व्यस्त छन् भने छेवेमा ठिटाहरू बियरका बोतल तेर्स्याएर हाहा र हुहु गरिरहेका छन्।

अर्कातिर पाल टाँगेर बनाएको अस्थायी पसलमा थरीथरीका रक्सीका बोतलका बिर्का खोलेर गिलासमा रित्याइँदैछन्। पर्तिर दर्शकको भीड लागेको छ, किशोरीहरू नाचेको टिकटक बनाएको हेर्न। कतै किशोरहरू फुटबल खेल्दै छन्, कतै साइकल कुदाइरहेका छन्।

यहाँ यस्ता रमिता हेर्न समेत कतिपय जाने गरेका छन्। तर, पछिल्लो समय यो ठाउँ मापसे (मादक पदार्थ सेवन) गर्नेको थलो बन्दै गएको छ। यहाँ गएको शनिबार पाल टाँगेर बनाइएका १५ भन्दा बढी जाँडरक्सी पसल चलाइएका थिए।

यहाँ दिनहुँ हुने अत्यधिक भीडले कोरोना संक्रमण फैलिने जोखिम पनि उत्तिकै छ। भीडभाड र मापसेको होहल्लाले स्थानीयसमेत त्रसित हुन थालेका छन्।काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय– काठमाडौं, भक्तपुर र ललितपुरले कोरोनाको जोखिम कायमै भएकाले भीडभाड गर्नमा अझै रोक कायमै राखेका छन्। 

महिला असुरक्षित

बालबालिकादेखि युवायुवती र महिलासमेत आउने यस्तो ठाउँमा मापसे गरेकाहरूले धेरै होहल्ला र छाडा बोल्ने गरेकाले वाक्क भएको वरिपरिका बासिन्दा गुनासो गर्छन्। मापसे गर्नेले हाहाहुहु मात्र नगरेर छाडा बोल्ने तथा युवती तथा महिलालाई जिस्क्याउनुका साथै अशिष्ट व्यवहारका कारण महिलाहरू असुरक्षित भएको स्थानीय बताउँछन्। 

स्थानीयका अनुसार शनिबार मात्र नभएर साताभरि नै यहाँ आउनेको घुइँचो हुन्छ। मापसे गरेकाहरूले दैनिकजसो झगडासमेत गर्ने गरेका छन्। तर 'लभ डाँडा'मा दैनिक भीडभाड भइरहँदा पनि यहाँको अव्यवस्था अनुगमन र नियन्त्रणमा कागेश्वरी–मनोहरा नगरपालिका रमिता हेरेर बसेको छ। 

उक्त डाँडामा अधिकांश किशोरकिशोरी, युवायुवतीलगायत महिलाहरू खासगरी टिकटक बनाउन जाने गर्छन्। शनिबार थाहाखबरकर्मी पुग्दा युवतीहरू टिकटक बनाइरहेका थिए। तर, रमिता हेरेर वरिपरि उभ्भिएका पुरुषहरू भने उनीहरूलाई जिस्क्याइरहेका थिए।

कोही भनिरहेका थिए ‘डान्स राम्रो छ’ भने कोही ’हामीलाई पनि सँगै राखेर नचाउनुस् न!’ यस्ता अवान्छित कुरा सुनेर महिलाहरू अप्ठ्यारो मान्दै टिकटक नै नबनाइ हिँडिरहेका थिए।

कागेश्वरी–मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीका अनुसार यो ठाउँ पहिलादेखि नै उरन्ठेउला युवाको गाँजा खाने अड्डा थियो।

अहिले पनि त्यो रोकिएको छैन। यहाँ अनेक अनैतिक काम हुने गरेको प्रस्टै देख्न सकिन्छ। त्यसैले यो ठाउँ महिलाका लागि दिउँसै असुरक्षित छ भन्छन् वरिपरिका बासिन्दा।

‘प्रहरी परिचालन गरी भीडभाड गर्न दिदैनौँ’

नगरपालिकाका प्रवक्ता पुडासैनीले अब यहाँ प्रहरी परिचालन गरिने र अवान्छित क्रियाकलाप रोक्ने बताए।

‘अहिले पनि कोरोनाको जोखिम कायमै छ, त्यसैले भीडभाड गर्नु हुँदैन, सबै सचेत हुनुपर्छ। प्रहरी परिचालन गरी भीडभाड व्यवस्थापन गर्छौं,’ प्रवक्ता पुडासैनीले भने।

त्यस ठाउँमा पशुपति–हिन्दु विश्वविद्यालय, पशुपति अस्पताल, पशुपति–गौशाला बनाउने, पशुपति ग्राम, पशुपति वृद्धाश्रम र पशुपति उद्यान बनाउने पशुपति क्षेत्र विकास कोषको गुरुयोजना छ। तर, कोषले पनि अहिलेसम्म यीमध्ये कुनै काम गरेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.