|

काठमाडौं :  डेढ देशकदेखि नेपाली फिल्म उद्योगमा सक्रिय प्रदीप भारद्वाज चर्चित पटकथाकार हुन्। बाल्यकालदेखि नै पढ्न र लेख्न मन पराउने उनले पछि सिनेमा लेखनलाई करिअर बनाए।

उनले देवर बाबु, छोडिगए पाप लाग्ला, कसले चोर्यो मेरो मन, झ्यानाकुटी, कृ, पञ्चेबाजा, चङ्गा चेट लगायतका दुई दर्जभन्दा बढी सिनेमा लेखिसकेका छन्। चलचित्रमा पटकथा लेखनयात्राबारे भारद्वाजसँग थाहाखबरकर्मी मुक्ति पौडेलले कुराकानी गरेका छन्। 

विश्व सिनेमालाई हेर्दा नेपाली सिनेमाको अवस्था कस्तो छ?

जतिबेला युरोपमा औद्योगिक क्रान्ति सुरु भइसकेको थियो त्यतिबेला नेपाल एकीकरणको चरणमा थियो। भनेपछि हामी संसारभन्दा स्वत दुई सय वर्ष पछाडि छौँ। चेतनामा पनि हामी पछाडि छौँ। हामीले सिनेमा बनाउन सिक्यौँ बम्बैया सिनेमाबाट। राजा महेन्द्रले बम्बईबाट निर्देशक ल्याउनु भयो, बम्बईबाटै टेक्निसियन ल्याएर उतै सिकेर आएकाहरूले सिनेमा बनाए। अनि मान्छेले जे सिकेको छ त्यही बनाउने हो। 

यहाँका हाम्रा अग्रज सिनेकर्मीहरूले पनि त्यही हेर्नु भयो, त्यही सिक्नुभयो अनि नेपाली सिनेमामा अटोमेटिक बम्बैको छाप पर्न गयो। अझै पनि त्यो छाप छ। सिनेमामा बम्बई आफै पछि परिसक्यो अनि हामी अझै पनि त्यसैलाई आइडल बनाएर हिँडेका छौँ। त्यो भएर हामी अझै पनि पछि नै छौँ। बम्बईले ठूलो फड्को मारेको हुन्थ्यो भने नेपालले पनि त्यही अनुसारको फड्को मारेको हुन्थ्यो। 

एउटा राम्रो फिल्मका लागि स्क्रिप्टको भूमिका कस्तो रहन्छ?  

एउटा राम्रो कुरा बन्नको लागि सबै इलिमेन्टहरूको हात हुन्छ। स्क्रिप्टलाई हामी सिनेमाको मेरुदण्डको रुपमा लिन सक्छौँ। तर त्यो मेरुदण्ड केमा प्रयोग भइरहेको भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। मेरुदण्ड त कुकुरको पनि हुन्छ, मान्छेको पनि छ, गौतम बुद्धको पनि थियो। एउटा कुकुरमा प्रयोग भयो भने त्यो बलियो कुकुर भयो। स्यालमा प्रयोग भयो भने एउटा बलियो स्याल भयो।

बिन लादेनमा प्रयोग भयो भने बलियो लादेन भयो जसले ट्विन टावर उडायो र गौतम बुद्धमा मेरुदण्ड प्रयोग भयो भने त्यो महात्मा गौतम बुद्ध बन्यो। कहाँ प्रयोग हुन्छ र कसले प्रयोग गर्छ त्यसमा भर पर्छ। जेमा प्रयोग हुन्छ त्यो बलियो बनाउँछ तर के बनाउँछ भन्ने महत्त्वपूर्ण कुरा हो। 

नेपाली फिल्मका स्क्रिप्टको अवस्था कस्तो छ?

पहिले भनेको सिनेमा भनेकै बम्बैया सिनेमा भन्ने थियो। जब शिक्षाको क्रम बढ्यो, मान्छेहरू देश विदेश जान थाले, बाहिरका सिनेमा हेर्न थाले त्यो सँगसँगै अरु इमोसनहरू थपिँदै गए। जस्तो ल्याटिन अमेरिकन सिनेमाहरू, युरोपियन सिनेमाहरू, इरानी सिनेमाहरू नजिकैको कुरा गर्दा बंगाली सिनेमाहरू। सबै खाले सिनेमाहरू हेर्दै गएपछि बल्ल सोचको दायरा फराकिलो हुँदै गयो।

पहिले बम्बैया भन्दा बाहेकका सिनेमा नै हुँदैन भन्ने थियो भने अहिले कम्तीमा त्यो बाहेकका पनि सिनेमाहरू हुँदो रहेछ भन्ने भएको छ। त्यो थाहा भएपछि विभिन्न खालका प्रयोगहरू भइहेको छ। एकैचोटी रेडिकल चेन्ज हुने त होइन, सकारात्मक बाटोमा जाँदैछ। त्यसपछि केही अर्थपूर्ण सिनेमाहरू बनेका छन्। कुनै पनि कुरा रुपान्तरण हुन समय त लाग्छ नै। 

नेपालको केसमा भन्ने हो भने पचास साठी वर्षदेखि हामीले सिनेमा बनाइरहेका छौँ भन्ने त भन्नको लागि मात्रै हो। नेपालमा एटज्याक्ट सिनेमा बन्न थालेको त पन्ध्र या बिस वर्ष मात्रै भयो। त्यो भन्दा अगाडि त कहिले सरकारले बनाउँथ्यो, कहिले के उत्सवमा बनाइन्थ्यो व्यवसायिक सिनेमाको सुरुवात भनेको राजेश हमाल सँगसँगै भएको हो। करोडपतिलाई पहिलो व्यावसायिक सिनेमा मान्न सकिन्छ। तर, अरूतिर भने सिनेमा धेरै अगाडिदेखि नै बनेका थिए। त्यसरी हेर्दा हाम्रो बिस पच्चीस वर्षको इतिहास छ अरूले सय वर्षअघिदेखि सिनेमा बनाउँदै आएका छन्। हुँदैछ, समय लाग्छ।

 सिनेमा लेखनको यात्रा कसरी सम्भव भयो? 

किताब पढ्न र लेख्न मलाई पहिलेदखि नै मनपथ्र्यो। म यस्तो पेशामा जिन्दगी बिताउन चाहन्थेँ जहाँ पठन, लेखन भन्दा टाढा जान नपरोस्। हाम्रो एकजना शिक्षक हुनुहुन्थ्यो, गणित पढाउने। राम्रो टिचर भएर पनि उहाँमा जिन्दगी यसरी नै बित्ने भो भन्ने एक किसिमको फ्रस्टेसन हुन्थ्यो। जबसम्म मान्छेले सृजनशील काम गर्दैन त्यसपछि मान्छेको जिन्दगी मेरो गणित पढाउने शिक्षकको जस्तो हुन्छ, टाइपकास्ट। मैले बुझेँ। म त्यस्तो जिन्दगी चाहन्नथेँ। 

कथा कविताहरू पहिलेदेखि नै लेख्ने गर्थे। पछि सिनेमाले हेर्न थालेपछि यसले ध्यान खिच्यो। सानैदेखि गर्दै आएको कुरा सिनेमामा प्रयोग किन नगर्ने भनेर मैले यो क्षेत्र रोजेँ। 

त्यो बेलामा सिनेमा बनाएँ भने यस्तो खालको सिनेमा बनाउँछु भन्ने त थियो होलानी

एकदम थियो। त्यो समयमा मैले लेखेका धेरै स्क्रिप्टहरूमा सिनेमा बनेनन्। त्यो समय भनेको यस्तो पनि सिनेमा हुन्छ? भन्ने खालको थियो। यो ४७ सालतिरको कुरा हो, जतिबेला म छ सात क्लासमा पढ्थेँ। त्यतिबेला नै मैले त्यो समयका आख्यान, गैर आख्यान सबैखाले किताबहरू पढिसकेको थिएँ। म मामाको घरमा बसेर पढेको, मामाको छोरा, मेरो दाइ कला र साहित्य मन पराउने मान्छे हुनुहुन्थ्यो। उहाँसँग दुईदिन वटा दराज भरी किताब थियो।

कोर्सको किताबले मलाई पुग्दैनथ्यो। अनि खाली समयमा दाइका दराजबाट किताब निकालेर पढ्थेँ। दाइले मेरो किताबमा रस बसेको देखेर धेरै अंग्रेजी किताबहरू पनि ल्याएर दिनुहुन्थ्यो। दिमागमा तिनै किताब र किताबका पात्रहरू नै हुन्थे। म सिनेमा हेरेर हुर्केको होइन, एसएलसी पढ्दा सम्म मैले हेरेका सिनेमा भनेको तीन या चार वटा मात्रै हो। 

ती कथा, उपन्यास, आख्यान, गैरआख्यान पढ्दा बनेको मनस्थितिले त्यस्तै खालका कथाहरू लेखेको थिएँ। ति कथाहरूको संग्रह अझै पनि छ मसँग। तर जब म फिल्म इन्डस्ट्रीमा आए यहाँ मैले सोचेको जस्तो फिल्म इन्डष्ट्री थिएन। यहाँ उही बम्बैया सिनेमाले जग गाडेको थियो। त्यो मलाई सजिलो पनि भयो। दुई चारवटा सिनेमा हेर्ने बित्तिकै सिनेमा भनेको यस्तो रहेछ भन्ने भइहाल्यो। यस्तै चल्छ भने यस्तै बनाउनुपर्छ भन्ने भयो। त्यसरी बनाएका सिनेमाहरू सफल भइदिए, चाहे देवर बाबु होस, चाहे कसले चोर्यो मेरो मन होस्, चाहे छोडि गए पाप लाग्ला होस्। 

पछिल्लो समय मैले झ्यानाकुटी बनाएँ। यो स्कुल कलेज पढ्दा लेखेको स्क्रिप्ट हो। जुन त्यतिबेला बनिरहेका फिल्म भन्दा परको थियो। मसँग यस्ता स्टोरीहरू यति धेरै छन्, अब बल्ला तिनीहरूको पालो आइरहेको छ। पछिल्लो समय पञ्चेबाजा भन्ने सिनेमा बनाएँ, अहिले कुकुर हराएको सूचना बन्ने क्रममा छ यि त्यतिबेलाका सब्जेक्ट हुन् जतिबेला म बम्बैया सिनेमाबाट प्रभावित थिइन। 

बम्बैया सिनेमा त मैले आफूलाई माहोल अनुसार ढाल्नको लागि बनाउनुपर्यो। एउटा समयमा मैले बढीभन्दा बढी सिनेमा हेरेँ। मलाई या समीक्षकलाई मन पर्नु र नपर्नुले अर्थ राखेन, यहाँ टिक्नु छ भने बम्बैया सिनेमा बनाउनुपर्छ भन्ने मैले बुझेँ। मैले त्यही कुरा एडप्ट गरेँ।

यो कुराले मलाई चिनायो, यसको पनि अभ्यास भयो जे मसँग थियो त्यो त छँदै थियो। यदि बजारमा चलेको कुरालाई मैले आत्मसाथ नगरेको भए अहिले यसरी अफिसमा बसेर तपाईंसँग कुरा गरिरहेको हुने थिइनँ। कि त विदेश गइसकेको हुने थिएँ, कि त कै पढाएर बसेको हुने थिएँ, जहाँ गए पनि एक किसिमको फ्रस्टेसनको जिन्दगी बाँचिरहेको हुने थिएँ।

कमसेकम बम्बैया सिनेमाले मलाई फ्रस्टेसन हुनबाट बचायो। हामीले चाहेका सिनेमा त अब बन्छन् नै समाज पनि त्यसै अनुसार परिवर्तन हुँदैछ। कमसेकम अझै त्यो प्लाटफर्म त छ नि मसँग। यो नगरेको भए अहिले प्लाटफर्म पनि हुने थिएन। हिजो जे गरेँ ठिक गरेँ, किनकी त्यही कुराले मलाई चिनायो, इन्डस्ट्रिको सबैभन्दा महंगो राइटर बनायो। 

त्यो समय त्यस्तै थियो आफ्नो कथा बम्बैया शैलीमा बेच्यौँ बिस्तारै कथा मात्रै होइन शैली पनि हाम्रो आफ्नै हुँदैछ। केही बनेका छन् आफ्नै कथा आफ्नै शैलीमा ति केही सफल भए केही व्यवसायिक रुपमा असफल भए त्यो सेकेन्डरी कुरा हो। जुन दिन हामी हाम्रा कथा हाम्रै शैलमा भन्न थाल्छौँ अनि ति सिनेमा बिक्न थाल्छन् अनि मात्र इन्डस्ट्रिले गतिलोसँग फड्को मार्छ। 

कोरोनाले गर्दा उद्योग जसरी थला परेको छ, यसको असर लामो समयसम्म देखिएला है?

त्यस्तो हुँदैन। कुनै पनि घटनामा नेगेटिभ र पोजेटिभ कुराको जन्म एकैचोटी हुन्छ। अहिलेको निष्क्रिय अवस्था सँगसँगै एउटा सक्रिय अवस्था जन्मेको छ। जसरी एउटा बच्चा जन्मिँदा मृत्यु पनि सँगै जन्मिएको हुन्छ। यसको पोजेटिभ कुरा के हुन्छ भने जसले हिजोसम्म बम्बैया सिनेमा मात्रै हेर्नुहुन्थ्यो अहिले नेटफ्लिक्स, अमेजन जस्ता साइटमा विभिन्न फिल्म, सिरिज हेरेर आफूलाई अपडेट गर्नुभएको छ। त्यसको रिजल्ट आउन बाँकी नै छ।

म त भन्छु, यो निष्क्रियता दश वर्ष अगाडि हुनुपथ्र्यो। निष्क्रियतापछिको सक्रियताको साइज अझ ठूलो हुन्छ। विश्वका महान घटनाहरू हेर्ने हो भने सबैजसो एकदमै क्रिटिकल अवस्थापछि भएका छन्। मेरो हिसाबले अब ठूलो फड्को मार्ने समय हो। हो, प्लाटफर्म चेन्ज हुन सक्छ। पहिले सिनेमा हलमै गएर हेर्नुपथ्र्यो भने अब डिजिटलाइज हुन सक्छ तर सिनेमा चाहिँ अब राम्रा बन्छन्। 

 मन परेका सिनेमाहरूको बारे चर्चा हुँदा  कुनकुन सिनेमा दिमागमा घुम्छन्?  

अंग्रेजी सिनेमामा मलाई एकदमै मन परेको चाहिँ द शशांक रेडएम्सन हो।  अनि द गड मस्ट बि क्रेजी जुन मैले सय चोटी हेरेहुँला। फरेस्ट गम्प पनि मलाई मन परेको सिनेमा हो। हिन्दी फिल्ममा मन परेको तारे जमिन पर, थ्रि इडियट्स अनि पछिल्लो समय तुम्बाद एकदमै मन  परेको थियो।

इरानी सिनेमामा  मन पर्ने चाहिँ चिल्ड्रेन अफ हेवन,  इरानकै स्टोरी भएको द काइट रनर पनि मन परेको सिनेमा हो। नेपाली सिनेमामा कालो पोथी, सेतो सूर्य, पशुपतिप्रसाद मन परेका सिनेमा हुन्। आफैँले बनाएकोमा झ्यानाकुटी मनपर्छ। लिलिबिली र कसले चोर्यो मेरो मन पनि राम्रा व्यावसायिक सिनेमा लाग्छन्। तर एकदमै गहिरो छाप छोडेको सिनेमा भने  द शशांक रेडएम्सन नै हो। ​

अनि किताबमा? 

किताबहरूको कुरा गर्दा चाहिँ चाइनिज सन्त लाओत्सेको ताओ उपनिषद् सबैभन्दा मन परेको  किताब हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.