|

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ।

अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने जानकारी दिए। 

ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए।

यस्तै खोप शाखा प्रमुख सागर दाहालले काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने बताए यस्तै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ। त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ। 

बाँकी ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ । त्यसबाहेक यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अन्य जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप दिइरहेका बेला काठमाडौँ जिल्लामा भने असोजदेखि चिनियाँ खोप भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार नागरिक भेरोसेलको दोस्रो मात्रा लगाउन बाँकी रहेकाले काठमाडौँमा भने दोस्रो मात्रा लगाइने छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौँमा सोमबारदेखि तीन दिनसम्म भेरोसेलको दोस्रो मात्रा खोप लगाउने जानकारी दिए। 

काठमाडौँ जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गर्ने बताउँदै उनले तीन दिन भेरोसेलको दोस्रो मात्रा लगाएपछि पहिलो मात्रा सुरु गर्ने बताए। पहिलो मात्रा भने काठमाडौँमा एक लाख व्यक्तिलाई मात्र लगाइने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.