|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकका एक नगर र तीन गाउँपालिका कोरोना संक्रमणमुक्त भएका छन्। कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन्।

चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक/एक संक्रमित रहेको  जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ। केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण नपाइएको हो। आइतबार २६ र शनिबार १५ संक्रमित संक्रमणमुक्त भएका छन्।

काभ्रेमा ६ नगर र सात गाउँपालिका छन्। जिल्लामा हाल १०१ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा ३३, पाँचखालमा १६, धुलिखेलमा १८, पनौतीमा १०, नमोबुद्धमा ११ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा चार जना रहेको केन्द्रले जनाएको छ।

केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्यांकले संक्रमणदरभन्दा संक्रमणमुक्तदर अधिक रहेको देखाएको हो। जिल्लामा हालसम्म १४ हजार ४६२ मा संक्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ। हालसम्मका कुल संक्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार १६९ संक्रमणमुक्त भइसकेका छन्। गत भदौ महिनायता नगन्यदरमा संक्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ।

जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा यही असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। कोरोना संक्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नु परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.