|

काठमाडौं : अहिलेसम्म घरमा बसेर पढाउन पाइएको थियो।

क्या गजब!

गाडी भाडा तिर्नु परेको थिएन। बाटामा हुने खाजाको खर्च पनि जोगिएकै थियो। पेट्रोलमा हुने खर्च पनि बचत नभएको होइन। कलेजले मार्कर किन्नु परेको थिएन। मार्करमा मसी भर्नु परेको थिएन।

पहिलो कक्षामा पसेर कति विद्यार्थी आए भनेर हाजिर गर्नु परेको थिएन। कलेजको गाडीले चक्रपथमा फन्का मार्नु परेको थिएन। चमेनागृहको रकम कति पुग्यो भनेर टाउको दुखाउनु परेको थिएन।

राजधानीमा डेरा भाडा मोटाउँदै गए पनि बिजुली, पानी, फोहोर, नेट, टिभी जस्ता कुराको शीर्षकमा पैसा तिर्नु नपरेकाले म र म जस्ता कैयौँ शिक्षक खुसी हुन पाएका थियौँ।

अब पो यी दिन गएर फेरि ती दिन आउँदैछन्। फेरि भौतिक रूपमा पढाउनुपर्ने भएकाले जिउ भारी भएर आइरहेको छ। क्या मजा थियो अनलाइन कक्षा।

के विद्यार्थी के शिक्षक के अभिभावक सबैलाई मजा थियो। के विद्यालय के नेटको सेवाप्रदायक यिनलाई झन् मजा थियो। मजा किनारा लागेर नमज्जाले अँगालो मारेजस्तो लागिरहेछ। मस्तीका दिन बाटा लागेर गस्तीका दिन नजिकिँदा साढे सातका दशाले समातेजस्तो भएको छ। विद्यार्थीले बुझेनन् त के भो।

विद्यालयले पढाएकै छौँ भन्थ्यो। छोराछोरी विद्यालय गएनन् त केभो। पूरा महिना अनलाइन चलाएकाले अभिभावकलाई पूरा पैसा तिर भन्थ्यो। आवश्यक डिभाइस किन भन्थ्यो। सक्ने नसक्नेमा के चासो यी सबै अभिभावककै कुरा हो भन्थ्यो।

बेलाबेलामा परीक्षा लिन्थ्यो। विद्यार्थीहरू घरमै बसेर परीक्षा दिन्थे। फेसबुक पेजमा एउटाले लेखेको उत्तर सबैकामा सेयर पनि भएनन्। अन्तिममा सबै उत्तर भेला गर्दा कसै कसैका उत्तर हुबहु मिले भने पनि त्यो भगवानको लीला मात्रै हो। त्यसैले उत्तर मिल्न गएमा यसलाई संयोग मात्र मानिन्थ्यो।

पहिले पहिले विद्यार्थीले लेखेको उत्तर हेरेर अंक पाइन्थ्यो। अनलाइनमा विद्यार्थी हेरेरै अंक पाइयो। सबै विद्यार्थी उत्तीर्ण भए। ज्ञान जति हासिल गरे पनि अंक जीवनकै अद्वितीय ल्याए। उत्तर अपलोड भएन तैपनि पास भयो। उत्तर बुझिएन। राम्रै लेख्यो होला भन्ने अनुमान भयो र फेरि पनि पास भयो। कसैले परीक्षा दिएन। भोलि हाम्रै विद्यालयमा आउला भन्ने भयो र पास भयो। अनलाइन परीक्षामा सधैँ असफल विद्यार्थीले पनि अनलाइन परीक्षामा राम्रै अंक ल्याए।

 साँच्चै अनलाइन कक्षा जीवनकै खास भयो। छोराछोरी बाउ आमाका मोबाइल र ल्यापटप भेला गरेर कोठामा पसे। बाउ आमा अनलाइन पढ्दै छन् भनेर मख्ख भएर बसे। उनीहरूले जुममा जोडिएर अर्थोक केही चलाएनन्।

टिममा टाँसिएर युट्युब पनि हेरेनन्। साँच्चै धरोधर्म हेरेनन्। किनभने विद्यार्थीमा पनि त धर्म हुन्छ। जथाभावी आरोप लाउनुहुन्छ? मरेपछि स्वर्ग जानुपर्दैन? उनीहरू विद्यार्थी हुन्। उनीहरूलाई जन्मदैँ दैवले धेरै शक्ति दिएर पठाएका हुन्छन्। त्यसैले उनीहरू दिनको छ घण्टा मोबाइलमा पढ्न सक्छन्। मोबाइलमै गृहकार्य गर्न सक्छन्।

मोबाइलमै पाएका पाठ्यपुस्तक थप अध्ययन गर्न सक्छन्। अरूबेला आधा घण्टा मोबाइल चलाउँदा बिग्रिन सक्ने उनीहरूका आँखा आठै घन्टा अनलाइन कक्षामा बसे पनि बिग्रेनन् बरु झन् बलिया र राम्रा भएर आए। यति सजिलो हुँदाहुँदै किन बन्द गर्नुपरेको होला यो अनलाइन कक्षा?

यो सबै सरकारलाई असफल बनाउने काइदा हो जस्तो लाग्छ। शिक्षकलाई पनि कम्ता मजा थिएन यो कक्षा। बिहानै उठेर लुगामा आइरन लगाउनुपरेन। बाटाको जाम झेल्नुपरेन। दिउँसोलाई भनेर पानीको घैँटो बोक्नुपरेन। तेल हाल्न पेट्रोल पम्पमा लाइन बस्नुपरेन।

माइक्रोमा खुट्टा टेकियो भनेर कसैसँग बाझ्नुपरेन। क्यान्टिनको खाजा नमिठो भयो भनेर चोसो पसार्नु परेन।

चलेकै थियो शानदारसँग अब पो कसरी चलाउने होला? कसैका सामु जाँदा मुख गन्हाउला कि भनेर दाँत माझ्नुपरेको थिएन। जिउ गन्हाउँछ कि भनेर दैनिक नुहाउनु परेको थिएन। कपडामा सेन्ट लगाउन त झन् परेकै थिएन।

न मोटाएर पाइन्ट सानो भयो। न दुब्लाएर पाइन्ट खुकुलो भयो। पाइन्ट नलगाईकन हाफ पाइन्टकै भरमा अनलाइन कक्षा सम्पन्न भयो। क्या मजा थियो। क्या गजब थियो। अब त केबल सम्झना मात्र होला जस्तो छ।

ल्यापटपलाई तार जोडेर डेस्कटप बनाउन पाइएको थियो। घरमै बस्न पाइएको थियो। आज किन चाँडो जानुपरेको भनेर कसैले सोध्नु परेको थिएन।

आज किन ढिला सवारी भएको नि भनेर कसैले घुर्नु परेको थिएन। अरू बेला घर घरका मान्छे रिसाएर हटस्पट बन्थ्यो। अनलाइन कक्षामा मोबाइलको हटस्पट चलाएर पढाइयो।

प्रविधिमैत्री शिक्षाको उच्च सम्मान गरिएको थियो। यस्तो मजाले चलेको अनलाइन कक्षालाई किन बन्द गर्नुपरेको होला? शिक्षकले बोलेको कुरा विद्यार्थीहरू कम कम सुन्थ्यौँ, भन्थे। विद्यालयले पनि यो कुरा हेर्थ्यो।

यता, नेटको समस्याले उता आवाज थोरै जान्थ्यो। उता नोटको समस्याले यता तलब थोरै आउँथ्यो। तैपनि सबैतिर राम्रै चलेको थियो। नहुनु मामाभन्दा चकलेट नल्याउने मामा जाती भनेझैँ सबैतिर राम्रै थियो।

अनलाइन कक्षाका कारण बुद्धहरू बुद्धु बनेकै थिए। बुद्धुहरू बुद्ध बनेकै थिए। आधा घन्टा धामीको जस्तो फलाकेर सुन्यौ भन्दा एउटाले सुनिँदैछ भन्थ्यो। सबैको नाम लिएर भिडियो खोल भन्यो। बल्ल एउटाले खोल्थ्यो र अलिकति कपाल देखाउँथ्यो। सबैले एकैस्वरमा नेट कमजोर भएको कुरा सुनाउँथे। नदेखिने कुरामा कस्तो एकता थियो। अरू बेला हल्ला गर्छस् चुप लाग भन्ने गरेको विद्यार्थी कति शान्त र मौन थियो।

विद्यार्थी विद्यार्थीबीच कहिल्यै झगडा भएन अनलाइन कक्षामा। कसैले कसैको पाइन्टमा पुच्छर लायो भनेर अफिसमा उजुर आएन। कसैको किताब कापी हराएन। कसैले कसैको डटपेन चोरेन। कसैले कसैलाई आँखा झिम्क्याएन।

कसैले कसैका कापीका च्यापमा प्रेमपत्र पठाएन। तपाईँको बच्चा त आज आएन नि कहाँ गयो? भनेर विद्यालयले अभिभावकलाई सोध्नुपरेन।

आज बच्चा किन आइपुगेनन् भनेर अभिभावकले विद्यालयलाई फोन गर्नुपरेन। क्या राम्रो थियो वातावरण। क्या अनुशासित थिए विद्यार्थी। आखिर हामीले चाहेको पनि त यही थियो। अनलाइन कक्षाले नै भए पनि सबैको चाहना पूरा गरेकै थियो, यस्तो बेलामा किन बन्द गर्नुपरेको होला यस्तो गजबको कक्षा।

अरूबेला मोबाइल माग्दा नपाउने विद्यार्थीले अहिले नमागीकन नै मोबाइल पाएको थियो। अरू बेला मोबाइल नकिन्दिनु है कुरो बिग्रन्छ भन्ने शिक्षकले अहिले आफैँ मोबाइल किनिदिन अभिभावकलाई अनुरोध गरेका थिए।

नेट चलाउने चलेका थिए। फोन फलाउने फलेका थिए। ब्यालेन्सको बाढी बगेकै थियो। अरू बेला फालिएको मोबाइलले पनि सम्मान पाएकै थियो। पसलेकामा वर्षौं थन्किएको मोबाइलले पनि मूल्य पाएकै थियो। बेच्ने मालामाल।

किन्ने मालामाल। बनाउने मालामाल। बिगार्नेले पनि नयाँ पायो ऊ झन मालामाल। सबै मालामाल भएको यो अनलाइनको युगमा कसले गोलमाल गर्नलाई बन्द गर्‍यो।

बुझ्नै सकिएन बा ! आफ्नो भिडियो अफ गरेर ढल्केर पढाए हुन्थ्यो। फोन आएमा म्युट गरेर बात मारे हुन्थ्यो। विद्यार्थीलाई एउटा भिडियो देखाएर आफू अर्थोकै खेलेर बसे हुन्थ्यो। बसेर, सुतेर, पल्टेर, ढल्केर जसरी पनि पढाउन पाइने।

चिया खाजा खाँदै पढाउन पाइने। यो अनलाइन कक्षा कम्ता मजा थियो र! पानी परेर नेट गयो भन्न पाइन्थ्यो। बत्ती गएर नेट गयो भन्न पाइन्थ्यो। आज चार्ज सकियो है भन्न पाइन्थ्यो। जे बहानामा पनि बिदा लिन पाइन्थ्यो। विद्यालयमा कहिल्यै यस्तो सुविधा पाएको हो र! अलि दिन पाएको सुविधामा तुषारापात भयो। भौतिक कक्षाको युग फेरि आयो।

कठैबरा अनलाइन कक्षाका युग फेरि गयो। कोरोनाका बिरामीलाई जुन आनन्द थियो। अनलाइन कक्षाका बिरामीलाई त्यही आनन्द थियो। घरमै भएर पनि घरमा नभएजस्तो।

दिनभर घरमा नभएर पनि घरमै भए जस्तो। अब अनलाइन कक्षा मजा भएन भन्न पाइएन। प्रभावकारी हुँदैन भन्न पाइएन। जिउ दुख्यो भनेर घरमा ठग्न पाइएन। आँखामा दबाइहाल्न पाइएन। कक्षामा उपस्थित भएर टिभी हेर्न पाइएन।

अब कहिल्यै एक्लै बर्बराउन पाइएन। साह्रै दुःख पो पाइयो गाँठे। अनलाइन कक्षा बन्द गर्दिनाले अब यो आनन्दको वर्णनबाहेक उपयोग गर्नै पाइएन।

घिमिरे अध्यापन पेशामा संलग्न छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.