फुटबललाई उपाधि, भलिबललाई पदक, क्रिकेटमा पुनरागमन

|

काठमाडौं : अन्य क्षेत्रजस्तै नेपाली खेलकुदमा पनि केही आशा, केही निरासा र केही शिक्षा दिएर वर्ष २०७३ हामीबाट विदा हुँदैछ। यो १२ महिनाको अवधिलाई फर्किएर हेर्दा खेलकुद क्षेत्रमा निकै उतारचढाव देख्न सकिन्छ।

यो अवधि नतिजाका हिसाबले सुखद् नै रह्यो। नेपाली फुटबल टोलीले अन्तर्राष्ट्रिय उपाधि उचाल्यो। क्रिकेटमा पनि मुख्य प्रतियोगितामा ६ मध्ये ४ खेलमा सफलता प्राप्त भयो, यसलाई सुखद् नै मान्नुपर्छ। तर, व्यवस्थापकीय पाटोमा भने सम्झनयोग्य केही भएनन्। नेपाली खेलकुदका लागि कस्तो रह्यो त वर्ष २०७३ ? यहाँ बितेको १२ महिनाका उपलब्धि, आशा र निरासालाई विधागतरुपमा प्रस्तुत गर्दै समीक्षा गर्ने प्रयास गरिएको छ।

फुटबलमा सफल : (१ उपाधि, ४ जित, २ बराबरी र १ हार)

नेपाली फुटबलका लागि वर्ष २०७३ सफल रह्यो। यसक्रममा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि उचाल्यो। एएफसीले एसिया कप छनोटबाट बाहिरिएका टोलीहरुलाई समेटेर सोलिडारिटी कप आयोजना गरेको थियो। फुटबलको महादेशीय प्रतियोगितामा नेपालले उपाधि जितेको यो नै पहिलो अवसर हो।

नेपाली फुटलले गुमाइसकेको एउटा अवसर यही उपाधिले फर्कायो। एएफसी एसिया कप छनोट चरणबाट नेपाल पहिले नै बाहिरिए पनि एएफसीले सिधै तेस्रो चरणमा सहभागी हुने मौका दियो। तेस्रो चरणमा पुगेका टोलीहरु कुवेत र ग्वाम फिफा र एएफसीको कारबाहीमा परेपछि सोलिडारिटी कपको विजेताका रुपमा नेपाल र उपविजेताका रुपमा मकाउलाई मौका दिइएको हो ।

एएफसी सोलिडारिटी कप (उपाधि)

२० कात्तिक २०७३, टिमोर लिस्टेसँग ०–० को बराबरी
२३ कात्तिक २०७३, ब्रुनाईविरुद्ध ३–० को जित
२७ कात्तिक २०७३, लाओसविरुद्ध टाइब्रेकरमा ३–० को जित (सेमीफाइनल)
३० कात्तिक २०७३, मकाउविरुद्ध १–० को जित (फाइनल)

१६ जेठमा लाओससँगको मैत्रीपूर्ण खेल १–१ को बराबरी खेलेर सुरु भएको वर्ष २०७३ एएफसी एसिया कप छनोटको तेस्रो चरणमा फिलिपिन्ससँग ४–१ को हार बेहोरेर सकिएको छ। यसबीचमा ४ मंसिरका दिन फ्रेण्ड्स अफ जापानसँगको च्यारिटी म्याच पनि नेपालले १–० ले जितेको थियो।

एएफसी एसिया कप छनोट, तेस्रो चरण

१५ चैत २०७३, फिलिपिन्ससँग ४–१ ले पराजित

आगामी वर्षका लागि नेपाली टोलीको मुख्य चुनौती एएफसी एसिया कप छनोटको तेस्रो चरण नै हो। प्रतियोगितामा अब नेपालले फिलिपिन्ससँग १ तथा यमन र ताजिकिस्तानसँग २/२ खेल खेल्नेछ।

क्रिकेटमा आंशिक सफलता

नेपाली क्रिकेटका लागि वर्ष २०७३ आंशिक सफल रह्यो। क्रिकेटमा यो वर्षको सबैभन्दा ठूलो र महत्वको प्रतियोगिता आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप हो। झण्डै साढे २ वर्ष चल्ने यस प्रतियोगितामा नेपालले गत वर्ष नै ४ खेल खेलिसकेको थियो। तर, बिडम्बना अंक तालिकामा नेपालको १ अंक पनि जोडिएको थिएन। स्कटल्याण्ड र पीएनजीसँगका चारवटै खेलमा पराजित भएपछि निरासाको बीचमा सुरु भएको वर्ष २०७३ केही आशा र सम्भावना छाडेर विदा हुँदैछ।

प्रतियोगितामा यस वर्ष खेलेका ६ मध्ये ४ खेलमा नेपालले जित हात पार्‍यो। जसमा बलियो टोली नेदरल्याण्ड्सविरुद्ध उसकै घरेलु मैदानमा निकालेको जित पनि सामेल छ। यसका अलावा नेपालले नामिबियालाई दुबै र केन्यालाई एक खेलमा पराजित गर्‍यो। यी खेलहरु कीर्तिपुरमा नै भएका थिए। 

नेपाल अहिले ८ अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ। ४ खेल बाँकी रहँदा नेपालले शीर्ष चारमा पर्दै विश्वपक छनोट खेल्ने गणितीय सम्भावना अझै टरेको छैन। नेपालले आउँदो वर्ष हङकङ र युएईसँग २–२ खेल खेल्नेछ। यी चारवटै खेल नेपालबाहिर हुनेछ। 

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवम् सहायक प्रशिक्षक विनोद दास पनि वर्ष २०७३ लाई प्रदर्शनका हिसाबले सफल वर्ष मान्छन्। ‘पफर्मेन्सका हिसाबले त राम्रो रह्यो, लिग च्याम्पियनसिपमा ६ मध्ये ४ खेल जित्नु भनेको सानो कुरा होइन,’ थाहा खबरसँग उनले भने, ‘केन्यासँगको हार निरासाजनक रहे पनि समग्रमा राम्रो नै मान्नुपर्छ।’ उनी अब नेपालमा क्रिकेटले थप राम्रो गरोस् भन्ने चाहने हो भने सिस्टम बसाल्नु पर्ने बताउँछन्।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (४ जित, २ हार)

४ वैशाख २०७३, नामिबियाविरुद्ध ५ विकेटले विजयी
६ वैशाख २०७३, नामिबियाविरुद्ध ५ विकेटले विजयी
२९ साउन २०७३, नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित
३१ साउन २०७३, नेदरल्याण्डविरुद्ध १९ रनले विजयी
२८ फागुन २०७३, केन्यासँग ५ विकेटले पराजित
३० फागुन २०७३, केन्याविरुद्ध ७ विकेटले विजयी

इमर्जिङ टिम्स कप (१ जित, २ हार)

१४ चैत २०७३, पाकिस्तान यू–२३ सँग ६ विकेटले पराजित
१५ चैत २०७३, बंगलादेश यू–२३ सँग ८३ रनले पराजित
१७ चैत २०७३, हङकङविरुद्ध ७ विकेटले विजयी

एसिया कप महिला क्रिकेट प्रतियोगिता (४ हार)

श्रृलंकासँग ८ विकेट ले पराजित
बंगलादेशसँग ९२ रनले पराजित
थाइल्याण्डसँग ८ विकेटले पराजित
इण्डियासँग ९९ रनले पराजित

यू–१९ एसिया कप (१ जित, २ हार)

२ माघ २०७३, मलेसियाविरुद्ध १ विकेटले विजयी
३ माघ २०७३, भारतसँग ६ विकेटले पराजित
५ माघ २०७३, श्रीलंकासँग १ रनले पराजित

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भयो। दुई सय ९४ स्वर्ण, दुई सय ९४ रजत र चार सय ४७ कास्य पदकका लागि भएको प्रतियोगितामा नेपाली सेना पहिलो, सशस्त्र प्रहरी बल दोस्रो, नेपाल प्रहरी तेस्रो भयो भने मध्यमाञ्चल विकास क्षेत्र चौँथो भयो।

झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर, कास्की र पोखरामा प्रतियोगिता अन्तर्गतका विभिन्न इभेन्टहरु भएका थिए। प्रतियोगितामा एथ्लेटिक्स खेलाडीहरु खाली खुट्टा दौडिएको घटना, भलिबल र ह्यान्डबलका रेफ्रीमाथि कुटपिटका घटनाहरु विवादित बने भने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाका विषयमा पनि विवाद भयो। आठौं खेलकुद प्रतियोगिता आयोजनाको जिम्मा पश्चिमाञ्चल खेलकुद विकास समितिलाई दिने करिब पक्का भए पनि अन्तिम समयमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई दिइयो।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्समा महिलाहरुको ज्याबलिन थ्रो र सटपुटमा चन्द्रकला लामगाडेले राष्ट्रिय कीर्तिमान भंग गरिन् भने भारत्तोलनका केही खेलाडीले पनि राष्ट्रिय कीर्तिमान बनाए। अरु कुनै खेलमा कीर्तिमान बन्न सकेन। सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि मोरङको वैजनाथपुरमा क्रिकेट मैदान बन्यो भने सुटिङका लागि भवन पनि निर्माण भयो। सुनसरीको इटहरीमा खेलकुद परिषद्को भवन र एथ्लेटिक्सका ट्र्याकहरु निर्माण भए।

भलिबलमा पहिलो अन्तर्राष्ट्रिय पदक

नेपाली पुरुष भलिबलले पहिलो अन्तराष्ट्रिय पदक हात पार्‍यो। यही चैतमा माल्दिभ्समा सम्पन्न एसियन भलिबल संघ (एभीसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली पुरुष टोलीले कास्य पदक जितेको हो। जुन नेपाली भलिबल टोलीले एभीसी र अन्तराष्ट्रिय भलिबल महासंघ फिभबाट आयोजित तथा मान्यता प्राप्त प्रतियोगितामा जितेको पहिलो पदक हो। नेपाली पुरुष भलिबल सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल प्रतियोगितामार्फत अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो।
 
निरासाहरु :

आईसीसीद्वारा क्यानको निलम्बन

वर्षको सुरुवात अर्थात वैशाख महिनामा नै नेपाल क्रिकेट संघ क्यान अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा पर्‍यो। क्यानको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको, सरकारले क्यानमाथि अनावश्यक हस्तक्षेप गरेको र पछिल्लो समय नेपाली क्रिकेटमा नेतृत्वको शून्यता देखिएको लगायतका कारण जनाउँदै क्यानलाई आईसीसीले निलम्बित गरेको हो। निलम्बन अझै फुकुवा भएको छैन। नेपालमा भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आईसीसीकै संयोजनमा भए। यो विषय कहिले सल्टिने र नेपाली क्रिकेट सहज बाटोमा अघि बढ्ने भन्ने टुंगो लाग्न सकेको छैन। 

पूर्वाधार निर्माण र मर्मतमा उल्लेख्य प्रगति नहुनु

भूकम्पले क्षति पुर्‍याएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला, दशरथ रंगशाला अझै मर्मत हुन सकेको छैन। मर्मत सम्भार र आवश्यक सावधानीको अभावमा रंगशाला थप जिर्ण बन्दै गएको छ। मूलपानीमा निर्माणाधिन क्रिकेट मैदानहरु यो वर्ष पनि पूरा भएनन्। मूलपानीका २ मध्ये माथिल्लो मैदान हालै १६ लाख बजेट पाएपछि घरेलु प्रतियोगिताहरु सञ्चालन गर्न सक्ने गरी निर्माण कार्य सुरु भएको छ। तल्लो मैदानमा मुआब्जा विवाद अझै नसल्टिँदा काममा अवरोध पुगेको छ।

फुटबल लिग भएन

वर्ष २०७३ मा मुलुकमा फुटबलको राष्ट्रिय लिग हुन सकेन। अन्तिम पटक २०७२ मा भएको राष्ट्रिय लिग थ्रीस्टारले जितेको थियो। नियमित कार्यतालिका अनुसार यो वर्ष पनि राष्ट्रिय लिग हुनुपर्ने थियो, तर हुन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.