|

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका-११ सलकपुरमा २२ वर्षीया रोजिना गिरीको शव फेला परेको छ। शव आइतबार बिहान घरभित्रै ओछ्यानमा परेको अवस्थामा फेला परेको हो।

घाँटीमा सल बाँधिएको र  शरीरमा नीलडाम भएकाले उनको हत्या भएको माइती पक्षले दाबी गरेका छन्। रोजिनाको शव शंकास्पद अवस्थामा फेला परेकाले निष्पक्ष छानविन गरिनुपर्ने उनका हजुरबुवा यामकुमार गिरीले माग गरे।

‘नातिनीको शवको प्रकृति हेर्दा घटना रहस्यमय रहेको छ। घाँटीमा सल बाँधिएको छ। तर, शव ओछ्यानमा घोप्टो अवस्थामा फेला परेको छ। अनुहारमा भाग पनि पूरा कालो भएर शरीरमा चोटपटक लागेको छ। नातिनीको हत्या गरेपछि आत्महत्या देखाउन झुण्डाएका हुनसक्छ,’ यामकुमारले भने, ‘यस घटनामा परिवारका सदस्यलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरू गरिनु पर्दछ।’

रोजिनाको  गत भदौमा विनोद काफ्लेसँग विवाह भएको थियो। उनको माइती उर्लाबारी नगरपालिका-८ दुर्गापुरी हो। विनोद विवाहपछि  वैदेशिक रोजगारमा गएका छन्।

माइती पक्षले घटनाको अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन माग राख्दै परिवारका तीन जना सदस्यविरूद्ध किटानी जाहेरी पनि दिने तयारी गरेका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेर जाहेरी दिने तयारी गरिएको हजुरबुवा यामबहादुरले जानकारी दिए।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले मृतकको शव पोस्मार्टमका लागि  धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएको जानकारी दिए।

‘हामीले शवलाई पोस्टमार्टम गर्न पाठाएको छौं,’ उनले भने, ‘पोस्मार्टम रिपोर्ट आएपछि थप विषय खुल्नेछ। अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.