|

काठमाडौं :  आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले ओमानमाथि ऐतिहासिक जित निकाल्यो। यसअघि सिरिजका सबै भेटमा नतिजा गुमाएको नेपालले  घरेलु टोलीमाथि सात विकेटको जित निकाल्दै राजीनामा दिइसकेका प्रशिक्षक डेभ ह्वाटमोरको सुखद बिदाइ गरेको छ।

उनै प्रशिक्षक ह्वाटमोरले नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव दिलाउनका नेपाल क्रिकेट संघ (क्यान)ले पहल गर्नुपर्ने सुझाव दिएका छन्।

त्रिकोणात्मक सिरिजअन्तर्गत ओमान भ्रमणमा नेपालले दुई खेलमा जित निकाल्दा दुई खेल गुमाउन पुग्यो। भ्रमणमा नयाँ अनुहारले स्थान बनाउँदा प्रदर्शन पनि सुधारिएको देखियो। कप्तान ज्ञानेन्द्र मल्लसहित आसिफ शेख, कुशल भुर्तेल जस्ता युवा खेलाडीले सम्झन लायक प्रदर्शन गरे।

ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित पनि गर्‍यो। कप्तान ज्ञानेन्द्रले आफ्नो एक दिवसीय करियरको चौथो अर्धशतक पनि पूरा गरे। उनी चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान भए। युवा खेलाडीको प्रदर्शनबाट पुस्ता हस्तान्तरण हुन लागेको हो भन्ने प्रश्नमा कप्तान ज्ञानेन्द्र मल्लले खुसी भएको प्रतिक्रिया दिए। पाएको सफलतालाई निरन्तरता दिनका लागि गृहकार्य जरुरी रहेको मल्लले बताए।

उता प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक ह्वाटमोरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरैभन्दा धेरै पाएको खण्डमा राम्रो गर्ने अनुभव सुनाए। ह्वाटमोरले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको तर क्यानले खेलाडीलाई धेरैभन्दा धेरै खेलहरु आयोजना गरेर अनुभव दिनुपर्ने सुझाव दिएका छन्। भएको क्षमताभन्दा माथि उठ्नका लागि नेपालले बलियो टिमसँग खेल्न आवश्यक रहेको औंल्याए।

ओमान भ्रमणको क्रममा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो। अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आठौं खेलमा सुखद् जित निकालेको नेपाल तालिकाको चौंथो स्थानमा उक्लिएको छ। ८ खेलबाट ८ अंक नै जोडेको नेपाल भन्दा माथि शीर्ष स्थानमा १३ खेलबाट २० अंक जोडेको ओमान रहेको छ। दोस्रो स्थानमा १५ खेल खेलेर १४ अंक जोडेको अमेरिकाका छ भने तेस्रो स्थानमा ८ खेलबाट ९ अंक बनाएको स्कटल्याण्ड अटाएको छ। नामिबिया, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी (पिएनजी) क्रमश पाँचौ, छैठौं र सातौँ स्थानमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.