‘जबजबारे मदन भण्डारीको देहान्तपछि छलफल हुनै छाड्याे’

|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी विभाजन अनपेक्षित रुपमा बैरी हँसाउने घटना भएको टिप्पणी गरेका छन्। 

एमालेको प्रथम विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रम तथा संरचनात्मक प्रस्तावमाथि आइतबारको स्थायी कमिटीको बैठकमा टिप्पणी गर्दै उनले भने, ‘हाम्रो आजको आम कार्यभार राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी हो भनेपछि त्यो कसरी सम्पन्न हुन्छ भन्ने कुराको प्रत्याभूति हाम्रो दस्तावेजले गर्दैन। हाम्रो लक्ष्य, कार्यदिशा, कार्यक्रम, संगठन र कार्य पद्धतिको व्याख्या यसमा छैन। त्यसले आजको कम्युनिष्ट आन्दोलनका समस्यालाई समाधान गर्न पार्टीलाई दिशा बोध गर्दैन।’

समाजको चरित्र र जनताको बहुदलीय जनवादजस्ता विषयको सैद्धान्तिक र तार्किक रुपले व्याख्या नभएको भुसालको भनाइ छ। सामन्तवाद, सामन्त वर्ग, सामन्तवादका अवशेषजस्ता विषयलाई अल्मल्याउन खोजेको टिप्पणी गरेका छन्। 

‘नेपालमा सामन्तवादको उन्मुलन भयो, यो समाज पुँजीवादी हो, त्यसमा दलाल पुँजीको वर्चस्व छ। त्यसलाई रुपान्तरण गर्दै, राष्ट्रिय पुँजीको विकास गर्दै र समाजवादको तयारी गर्दै जान्छौँ भनेर दस्तावेज अगाडि बढ्नु पर्छ‚’ उनले भने‚ ‘यस सन्दर्भमा मैले यहाँ हाम्रो दस्तावेजको एउटा रुपरेखा प्रस्तुत गरेको छु। केवल ३ दिनको समयमा त्यसभन्दा बढी गर्न सकिँदैनथ्यो।’ 

जनताको बहुदलीय जनवादबारे मदन भण्डारीको देहान्तपछि छलफल गर्न छोडेको बताएका छन्। ‘उहाँले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रुपमा अगाडि सार्नुभएको थियो। छैटौं महाधिवेशनमा त्यसलाई सिद्धान्त निर्माणको कुनै आधार नै नदिइकन सिद्धान्त भनियो‚’ नेता भुसालले भने‚ ‘सातौँमा नयाँ केही गरिएन। आठौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादका विशेषता के के हुन् भनेर कमरेड झलनाथ खनालले लामो व्याख्या गर्नु भयो। तर, सिद्धान्तको रुपमा त्यसको पुष्टि गर्नु भएन।’

जबजको विशेषताहरुलाई वामदेव गौतमले पनि व्याख्या गरेको भएकाले बहुदलीय जनवादलाई क्रान्तिको सिद्धान्त बनाउँदा नसकेको टिप्पणी गरेका छन्। 

‘लोकतान्त्रिक बाटोबाट श्रमजीवी वर्गको पक्षमा समाजको रुपान्तरण’ भन्नुपर्छ भनेर मैले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको थिएँ। वस्तुतः त्यसबारे आवश्यक छलफल भएकै छैन। कमरेड मदनले नयाँ जनवादी कार्यक्रममा १४ वटा विशेषता थपेको हुँदा त्यसलाई जनताको बहुदलीय जनवादी कार्यक्रम भन्नु पर्छ भन्नु भयो‚’ उपमहासचिव भुसालले भने‚ ‘ती १४ विशेषता हामीले अभ्यासनै गरिसकेका छौँ। वास्तवमा जनताको बहुदलीय जनवादले उल्लेख गरेभन्दा धेरै विषय हामीले अभ्यास गरिसकेका छौँ।’ 

पार्टीमा गुटमा नलागी स्वाभिमानपूर्वक पार्टीमा बाँच्न पाउने वातावरण बन्न सक्नुपर्ने उनको भनाइ छ। दलाल पुँजीवादी र भद्दा संसदवादी रोगबाट आधारभूत रुपले मुक्त भएर पार्टीका नीति–सिद्धान्तबारे जानकार भएको उल्लेख गरेका छन्। 

नवौँ महाधिवेशन, चुनावी गठबन्धन र पार्टी एकता हुँदै कम्युनिष्ट आन्दोलनमा निर्माण गरेको उचाइको आन्दोलन आज किन यस्तो स अवस्थामा आयो? भन्ने विषयमा दस्तावेजले जसलाई फराकिलो दृष्टिका साथ मूल्यांकन नगरेको टिप्पणी गरेका छन्। नवौँ महाधिवेशनको कार्यदिशा आन्दोलनको रक्षा र विकासका लागि महत्वपूर्ण भएको उनको बुझाइ छ। 

समाजवादको कार्यदिशालाई स्पष्टताका साथ अगाडि राखेको भएपनि त्यसतर्फ ध्यान दिन नसकेको दाबी गरेका छन्। पार्टीको एकिकरण आवश्यकता भए पनि मुलुक र आन्दोलनको आवश्यकता प्रतिविम्बित नभएको गुनासो गरे। पार्टी एकता साविक नेकपाको अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गोप्य सहमतिमा जसरी सुरु भयो त्यसैगरी अन्त्य भएको उनको भनाइ छ। 

‘प्रक्रियागत रुपमा के देखिन्छ भने त्यो एकता दुईजना अध्यक्षहरूको गोप्य पहलकदमी, आलोपालोलगायत सहमतिबाट शुरु भयो र त्यसैगरी अन्त्य भयो। हामीले त्यसक्रममा भएका सबै घटनालाई राखेर विश्लेषण गर्न सकेनौँ भने त्यसले हामीलाई पछिसम्म पनि दुःख दिनेछ‚’ भुसालले भने‚ ‘पार्टी विभाजन अनपेक्षित, बैरी हँसाउने घटना थियो। त्यसमा रहेका कमीकमजोरीबाट सिकेर, पार्टीका वैचारिक, सैद्धान्तिक तथा साङ्गठानिक प्रस्तावहरूमा समेत आधारित भएर भविष्यमा कम्युनिष्ट एकताको पहलकदमी हामी आफैले लिनु पर्नेछ।’ 

संसदीय लोकतन्त्रमा पार्टीहरू र उम्मेदवारहरूबीच हुने अनियन्त्रित प्रतिस्पर्धाले सामाजिक रुपान्तरणको उद्देश्यमा  पार्टी र त्यसका नेताहरुलाई टिकिरहन सजिलो नभएको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.