|

काठमाडौं : केही दशकयता फिल्म मनोरञ्जनको प्रमुख साधन बनेको छ। मनोरञ्जन मात्र नभएर समाज रुपान्तरणमा समेत यसको विशेष भूमिका रहेको छ।

फिल्ममा हरेक वर्ष खर्बौंको कारोबार हुने गर्छ। तर सन् २०२० देखि फैलन सुरु गरेको कोरोना भाइरसको महामारीले अन्य क्षेत्रलाई जस्तै फिल्मलाई पनि ठूलो असर पार्यो। लामो समय फिल्म हलहरु बन्द रहे। यहाँ हुने लगानीमा पनि गिरावट आयो।

कोरोनाकाल सुरु हुनुभन्दा पहिले नै प्रदर्शनको लागि तयार पारिएका सिनेमा पनि यसको चपेटामा परे। त्यतिबेलै प्रदर्शन मिति तोकेका धेरै फिल्मले अझै पनि प्रदर्शनको लागि सही मिति पर्खिरहेका छन्।

केही फिल्म जोखिम मोल्दै प्रदर्शनमा आए र ठूलो घाटा पनि ब्यहोरे भने केही फिल्मले सोचे अनुरुपको व्यापार नगरे पनि आफ्नो लगानी सुरक्षित गरे र केही मुनाफा पनि कमाए। यहाँ तिनै कोरोना महामारी सुरु भएपछि प्रदर्शनमा आएका सफल १० फिल्मको बारेमा चर्चा गरेका छौं।

१‍‍. एफ ९ (फास्ट एण्ड फ्युरियस ९) 


हलिउडको सबैभन्दा सफल फ्रेन्चाइज मध्येको एक फास्ट एण्ड फ्युरियसको नवौँ संस्करण 'एफ ९' यो वर्ष प्रदर्शनमा आयो। सन् २०२० मै प्रदर्शनमा आउने भनिएको उक्त फिल्म कोरोनाका कारण प्रदर्शनमा आउन सकेन।

यही वर्ष मे १९ देखि प्रदर्शनमा आएको जस्टिन लिन निर्देशित फिल्म कोरोना महामारी सुरु भएपछिको सबैभन्दा बढी कमाउने फिल्म हो। २ सय मिलियन डलरमा बनेको एफ ९ ले विश्वभरबाट ७ सय १६ मिलियन डलर कमाइ गरेको छ।

यद्यपी यो एफ ९ को अपेक्षित कमाइ भने होइन। फास्ट एण्ड फ्युरियस फ्रेन्चाइजमा पहिलोपटक देखिएका जोन सेनाका कारण पनि फिल्म चर्चामा थियो। 

२. गडजिल्ला भर्सेस कङ 


एडम विंगार्डको निर्देशनमा बनेको 'गडजिल्ला भर्सेस कङ' पनि कोरोनाकै कारण तोकिएभन्दा पाँच महिना ढिलो प्रदर्शनमा आएको थियो।

गत मार्चमा प्रदर्शनमा आएको फिल्मको कमाइ ४ सय ६७ मिलियन डलर रहेको छ। यो फिल्मको बजेट भने २ सय मिलियन डलर हो। 'गडजिल्ला फ्रेन्चाइज'का यसअघि 'कङः स्कुल आइल्याण्ड', 'गडजिल्ला : किङ अफ द मन्सटर' लगायतका फिलम प्रदर्शनमा आइसकेका छन्।
 

३. टेनेट


विश्व प्रसिद्ध निर्देशक क्रिस्टोफर नोलनको निर्देशनमा बनेको साइन्स फिक्सन एक्सन थ्रिलर फिल्म 'टेनेट'को बक्स अफिस कलेक्सन ३ सय ६३ मिलियन डलर रहेको छ।

गत वर्ष अगस्तमा बेलायत र सेप्टेम्बरमा अमेरिकामा प्रदर्शन गरिएको फिल्म पनि कोरोनाको मारमा परेको थियो। बहुप्रतीक्षित मानिएको उक्त फिल्मको बजेट २ सय मिलियन डलर रहेको छ। नोलनका 'इन्सेप्सन', 'द डार्क नाइट', 'मेमेन्टो' लगायतका फिल्म चर्चित छन्। 

४. स्याङ ची एण्ड द लेजेण्ड अफ द १० रिङ्स


यही वर्ष अगस्तदेखि प्रदर्शनमा आएको मार्वल स्टुडियोको फिल्म 'स्याङ ची एण्ड द लेजेण्ड अफ द १० रिङ्स' कोरोनाकालमा प्रदर्शन भएर सफल मानिएका कम फिल्ममध्येको एक हो।

झण्डै २ सय मिलियन डलरमा बनेको फिल्मले ३ सय २० मिलियन डलर बक्स अफिस कलेक्सन गरेको छ। विश्वका विभिन्न ठाउँमा यसको प्रदर्शन अझै पनि जारी छ। मार्वल कमिकमा आधारित फिल्मलाई डेस्टिन डेनियल क्रेटनले निर्देशन गरेका हुन्। 

५. द क्रुड्सः अ न्यु एज


नोभेम्बर २०२० मा प्रदर्शनमा आएको एनिमेटेड फिचर फिल्म 'द क्रुड्स : अ न्यु एज'लाई जोल क्रोफर्डले निर्देशन गरेका हुन्।

६५ मिलियन डलरमा बनेको फिल्मको बक्स अफिस कलेक्सन २ सय १६ मिलियन डलर रहेको छ। यसअघि २०१३ मा प्रदर्शनमा आएको 'द क्रुड्स'ले झण्डै ६ सय मिलियन डलरको कमाइ गरेको थियो। 


६. वन्डर वुमन १९८४


पेटि जेकिन्सको निर्देशनमा बनेको 'वन्डर वुमन १९८४' यो महामारीमा सबैभन्दा धेरै कारोबार गर्ने फिल्म मध्येमा पर्छ, तर फिल्मले लगानी भने सुरक्षित गर्न सकेन।

२ सय मिलियन डलरमा बनेको फिल्मको बक्स अफिस कलेक्सन जम्मा १ सय ६६ मिलियन डलर मात्र रहेकाे छ। 'वन्डर वुमन १९८४' सन् २०१७ मा प्रदर्शमा आएको 'वन्डर वुमन'को सिक्वेल हो। पेटि जेकिन्सकै निर्देशनमा बनेको उक्त फिल्मले ८ सय मिलियन डलर भन्दा बढी कमाएको थियो। 

७. टोम एण्ड जेरी


बिसौँ शताब्दीको सबैभन्दा चर्चित कार्टुन टम एण्ड जेरीको कथामा आधारित रहेर टिम स्टोरीले निर्देशन गरेको एनिमेटेड कमेडी फिल्म 'टम एण्ड जेरी' यो वर्षको सफल फिल्म मध्येमा गनिन्छ। ८० मिलियन डलरमा बनेको 'टोम एण्ड जेरी'को बक्स अफिस कलेक्सन १ सय ३२ मिलियन डलर रहेको छ। 'टोम एण्ड जेरी' यही वर्ष फेब्रुअरीमा विश्वव्यापी रुपमा प्रदर्शनमा आएको थियो। 

८. राया एण्ड द लास्ट ड्रागन


सय मिलियन डलर भन्दा बढीको लगानी रहेको फेन्टासी एक्सन एडभेन्चर फिल्म 'राया एण्ड द लास्ट ड्रागन'को बक्स अफिस कलेक्सन १ सय २२ मिलियन डलर रहेको छ। यसै वर्ष मार्चमा प्रदर्शनमा आएको फिल्मलाई डन हलले निर्देशन गरेका हुन्। 

 

९. मोर्टल कम्ब्याट


सिमोन म्याक्वेडको निर्देशनमा बनेको मार्सियल आर्ट फिल्म 'मोर्टल कम्ब्याट' यही वर्ष अप्रिलमा प्रदर्शनमा आएको थियो। ५५ मिलियन डलर बजेट रहेको फिल्मको जम्मा बक्स अफिस कलेक्सन साढे ८३ मिलियन डलर रहेको छ। मोर्टल कम्ब्याट एड बुन र जोन टोवियसले सन् १९९२ मा बनाएको भिडियो गेममा आधारित रहेर बनाइएको हो। 
 

१०. नोबडी 


इलिया नेसुलरको निर्देशनमा बनेको एक्सन थ्रिलर फिल्म 'नोबडी'लाई यो वर्षको प्रतीक्षित फिल्मको रुपमा लिइएको थियो।

गत मार्चमा प्रदर्शनमा आएको उक्त फिल्मको बक्स अफिस कलेक्सन साढे ५६ मिलियन रहेको छ। जुन बजेट भन्दा ४० मिलियनले बढी हो। ठूला बजेटमा बनेका, विश्व बजारमा सर्वाधिक चर्चा भएका तथा हलिउडमा मात्र नभएर विश्व सिने इतिहासमै सबैभन्दा सफल मानिएका फ्रेन्चाइजका फिल्मले समेत कोरोना महामारीको बिचमा प्रदर्शनमा आउँदा अनपेक्षित नतिजा देखेका छन्।

काेराेना संक्रमण सुरु भएपछि हलमा दर्शक कम हुँदै छन् भने डिजिटल माध्यमबाट फिल्म हेर्ने दर्शकको संख्यामा भने वृद्धि हुँदै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.