|

काठमाडौं : काठमाडौंको किलागलस्थित गणेश मन्दिर नजिकैको किसी गल्लीमा एउटा पुरानो कलात्मक घर छ। जुन घरको बुट्टाले भरिएको झ्याल ढोका मक्किएका छन्। कुनै मकिने क्रममा छन्। 

घरको भित्ताका कुनै वाल झरिसकेका छन् त कुनै ठाउँका भित्ता चिरा परेका छन्। रङरोगन खुइलिसकेको छ। त्यही घर हो स्वरसम्राट नारायण गोपालकाे। वि.सं. १९९६ मा त्यही घरमा बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट नारायण गाेपालकाे जन्म भएको थियो। संरक्षणकाे अभावमा अहिले त्यो घर जीर्ण बन्दै गएको छ।

चार तलाको घर २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍यायाे। त्यसो त एक तला भत्काएर अहिले तीन तलाको मात्रै छ। भूकम्पबाट क्षति भएकाले घरभित्र बस्न त्रास छ। तर‚ ऐतिहासिक घर संरक्षण गर्न कुनै सरोकारवाला निकायको आँखा पुग्न सकेकाे छैन।

त्रासबीच पनि घरमा अहिले बहालवाला बसिरहेका छन्। गीतकार प्राडा विश्वम्भर प्याकुरेलका अनुसार उक्त घर नारायण गोपालका बुबा आशा गोपालले बनाएका हुन्। उनले भने,‘त्यो घर उनका बुबाले बनाएका हुन्, कति सालमा बनाएको हो भन्ने थाहा छैन, जन्मिन चाँहि त्यही जन्मिनु भएको हो।’ 

नारायण गोपालले भने सन् १९८१/८२ सालतिर महाराजगञ्जमा घर बनाएको प्याकुरेलले सुनाए। ‘म सन् १९८० मा अमेरिका गएकाे थिएँ, त्यो बेला जग्गा भने उहाँले किनिसक्नुभएकाे थियाे, घर बनाउने दाैडधुपले त्यो बेला मेरो मोटरसाइकल उहाँलाई दिएको थिएँ‚’ उनले सुनाए‚ ‘म अमेरिकाबाट फर्किंदा घर बनाइसकेर बस्नु भएको थियो।’

प्राडा प्याकुरेल आफ्नै घरको परिवारजस्तै नारायण गोपाललाई ठान्छन्। उनीहरूको पहिलो भेट भने सन १९६९ सालमा भएको थियो।

७३ वर्षीय प्याकुरेल सम्झिन्छन्, ‘म रेडियो नेपालमा गीत गाउन जाँदा नयाँ सडकमा उहाँलाई देखेको थिएँ, उहाँ नि रेडियो नेपालमा आउँदा बोलचाल भयो। उहाँ एकदमै शालीन स्वभाव अनि मिलनसार हुनुहुन्थ्यो। प्रत्येक शनिबार मेरो छुट्टी हुन्थ्यो, म उहाँको घरमा गएपछि मात्रै डिनर खान्थ्यौँ।’ 

उनले २०३१ सालपछि भने दुईजनाको सम्बन्ध टाढिँदै गएको सुनाए। ‘म २०३१ सालदेखि त्रिभुवन विश्वविद्यालयमा शिक्षक जागिर सुरू गरें,’ प्याकुरेलले सुनाए‚ ‘त्यसपछि रेडियो नेपाल जान छाडें, त्यसपछि हाम्रो भेट पातलिँदै गयो। अहिले पनि उहाँ मेरो मन मस्तिष्कमा हुनुहुन्छ।’

‘घर नभत्काइ संरक्षण गर्नुपर्छ’

सरकारले गत साउनमा काठमाडौं महानगरपालिका-३० मैतिदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्कायो। घर किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेपछि सम्पदा अभियन्ताहरू विरोधमा उत्रिए।

अधिवक्ता संजय अधिकारीले पुरातात्विक घर भत्काउनु गलत रहेको भन्दै सर्वोच्च अदालतमा रिट हाले। भदौ १३ गते उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले पुरातात्विक महत्वका धरोहर संरक्षण गर्न आदेश दिइसकेको छ। 

देवकोटाको घरजस्तै काठमाडौं महानगरपालिका-१८ मा रहेको नारायण गोपालको घर भत्काउन नहुने स्थानीयको माग छ। बरू सरकारले घरको मर्मत गरी संरक्षण गर्नुपर्ने उनीहरू बताउँछन्।

सोही ठाउँका स्थानीय भाइकाजी महर्जन भन्छन्, ‘यो घर ऐतिहासिक छ, अहिले भने बस्नै नहुने भएको छ, त्यसैले सरकारले यसको मर्मत गरी संरक्षण गर्नुपर्छ।’
अर्का स्थानीय राकेश तिरूवाका अनुसार २०७२ को भूकम्प अगाडिसम्म घर बस्न लायक थियो। तर‚ भूकम्पले बस्न नै नहुने गरी क्षति पुर्‍यायाे। उनले भने, ‘भूकम्पले घर क्षतविक्षत बनाएकाले यो वरिपरि हिँड्डुल गर्न सर्वसाधारण डराउँछन्।’ घर ऐतिहासिक रहेकाले भत्काउन नहुने उनको पनि धारणा छ।

‘घर ऐतिहासिक छ, तर संरक्षण नहुँदा सबै झ्यालढोका मक्किसकेका छन्,’ उनले भने‚ ‘त्यसैले सरकारले मर्मत गरी संरक्षण गर्नुपर्छ।’ 

बागमती प्रदेशसभा सदस्या तथा  विवेकशील साझा पार्टीका नेता सम्पदाप्रेमी विराजभक्त श्रेष्ठले पनि कलात्मक झ्याल भएको नारायण गोपाल जन्मिएको ऐतिहासिक घर संरक्षण नभएको देख्दा दुःख लागेको बताए। 

‘स्वरसम्राट नारायण गोपालको कलात्मक झ्यालहरू भएको घरको उचित संरक्षण नभएको देख्दा सारै दुःख र चिन्ता लागेको छ,’ उनले भने, ‘सरकार यस्तो बहुमूल्य सम्पदाप्रति गम्भीर नहुनु र स्वरसम्राटको घरको संरक्षण र प्रवर्धन नगर्नु दुःखद् नै छ। मूर्त अमूर्त सम्पदाको संरक्षणमा राज्यको ध्यान पुग्न जरुरी छ।’

यसो भन्छ पुरातत्व

नेपालको ऐतिहासिक वस्तु तथा सम्पदाहरूको संरक्षण गरी अभिलेख राख्नु पुरातत्व विभागको दायित्व हो। तर, नारायण गोपालको घर संरक्षण गर्ने भन्दा पनि घर कसको स्वामित्वमा रहेको छ भन्नेमा भर पर्ने विभागका महानिर्देशक दामोदर गौतमले बताए। 

‘घर कसको स्वामित्वमा छ त्यो थाहा छैन,’ महानिर्देशक गौतमले थाहाखबरसँग भने, ‘निजी स्वामित्वमा रहेको हो भने संरक्षण सरकारले गर्दैन, सरकारी स्वामित्वमा रहेको छ भने मात्रै सरकारले संरक्षण गर्छ।’

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले पनि नारायण गोपालको घर संरक्षणका लागि केही योजना नआएको जानकारी दिए। उनले भने‚ ‘उहाँको घर संरक्षण गर्ने भनी प्रतिष्ठानबाट केही कार्यक्रम भएको छैन।’

तस्बिर : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.