|

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको औषधि लिने लाइनबाट निस्केर मकवानपुरको मनहरी गाउँपालिका–१ की ७६ वर्षीया सीतादेवी पाण्डे छेउमा टुसुक्क बसिन्। अस्पतालको पर्खाललाई अढेस लगाउँदै उनले भनिन्‚ ‘बेक्कार अस्पताल आएछु, बरु घरमा हुँदा यति गाह्रो भएको थिएन। नदुखेको ठाउँ पनि दुखाउन आएछु।’

दम, प्रेसर र थाइराइडको समस्या भएको उनलाई पछिल्लो केही दिनदेखि स्वास्थ्यमा समस्या भएपछि सोमबार परीक्षण गराउन अस्पताल आइपुगेकी थिइन्। बिहान ६ बजे घरबाट हिँडेकी उनले दिउँसो साढे २ बजे मात्र औषधिको लाइनमा बस्न पाइन्।

‘झन् अस्पतालमा धेरै भीडभाड हुन्छ भनेर बुहारीले चाँडै जाऊ भनिन्‚’ हैरानी पोख्दै उनले भनिन्‚ ‘चाँडो गए चाँडो पालो आउला भनेको कहाँ पालो आउनु!’

उनले ६ घण्टासम्म चारवटा लाइन बसेको सुनाइन्। ‘सुरुमा टोकन लिन लाइन‚ त्यसपछि टिकट लिन पनि लाइन नै बस्नुपर्‍यो‚’ सीतादेवीले दिक्दारी सुनाइन्‚ ‘टिकट काटेर डाक्टरलाई देखाउन पनि लाइन अनि फेरि औषधि लिन पनि लाइन। अब त बिरामी भएर अस्पताल आउनुभन्दा घरमै मर्नु जाती जस्तो भयो।’

यस्तैगरी हेटौंडा उपमहानगरपालिका–१२ की देवकी अधिकारी छोरालाई जचाउन सोमबार बिहान ९ बजे हेटौंडा अस्पताल पुगिन्। ३ दिनदेखि उच्च ज्वरो र रुघाखोकीले ग्रस्त भएपछि उनले आत्तिँदै छोरालाई इमर्जेन्सी वार्डमा लगिन्। इमर्जेन्सीमा बिरामीको चापले उनको छोराको परीक्षण गर्ने पालो करिब आधा घण्टापछि आयो। परीक्षणपछि डाक्टरले छोरालाई भर्ना गर्नुपर्छ भन्दै टिकट काट्न पठाए।

देवकीकम छोरा एकनासले रोइरहे। तर‚ इमर्जेन्सी टिकट काट्न लाइन बसेकी उनले दुई घण्टापछि मात्रै पालो पाइन्। छोरालाई धेरै गाह्रो भएको भन्दै उनले आफूलाई अगाडि टिकट काट्न दिन लाइनमा बसेका अरुलाई बिन्ति पनि गरिन्। तर‚ कसैले सुनेनन्।

टिकट काटेर हतारिँदै इमर्जेन्सी वार्डमा पुगेकी उनलाई डाक्टरले औषधि ल्याउन भन्दै फेरि पठाए। औषधि लिन उनी छुट्टै दुई घण्टा लाइनमा बसिन्। औषधि लिएर इमर्जेन्सी वार्डमा पुगेपछि डाक्टरले उनले लिएर गएको केही औषधि छोरालाई लगाइदिए। फेरि बिरामीलाई भर्ना गर्नुपर्छ भन्दै अर्को टिकट काट्न पठाए। भर्ना गर्ने टिकट भने उनले आधा घण्टामा नै पाइन्।

‘अस्पतालको भीड र लाइनले गर्दा धेरै दुःख पाइयो। धन्न छोराले उपचार पायो,’ उनले भनिन्’‚ ‘ दिनकै यतिका धेरै बिरामी हुने भएपछि अस्पतालले टिकट काट्ने र औषधि लिने काउण्टर थप्नुपर्ने नि।’

भीमफेदी गाउँपालिकाबाट आएकी ६० वर्षीया राममायालाई भने उपचार गराएर घर फर्कन नभ्याइने भयो भन्ने चिन्ता थियो। भीमफेदी गाउँपालिकाको पनि विकटमा घर भएकी उनी एकाबिहानै अटो रिजर्भ गरेर उपचार गर्न अस्पताल आइपुगेकी थिइन्। बिहान ९ बजे अस्पतार आइपुगेकी उनी दिउँसो २ बजेसम्म टिकट काट्ने लाइनमै थिइन्।

‘उपचार गर्न भनेर त्यति टाढाबाट आइहालें अब उपचार नगराई पनि कसरी फर्कनु?’ उनले भनिन्‚ ‘उपचार गराएर जाउँ भने पनि अझै कति लाइन बस्नुपर्ने छ पालो कहिले आउने हो!’

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा दैनिक सयौंको संख्यामा बिरामीको घुइँचो लाग्ने गर्दछ। अस्पततालमा बिरामीको चाप बढिरहेको भए पनि टिकट काट्ने र औषधि दिने काउण्टर भने एउटा मात्रै छ। जसले गर्दा टिकट काट्न र औषधि लिनै बिरामीहरुले घण्टौंसम्म लाइन बस्नुपर्छ। एउटा बिरामी एकपटक उपचार गराउँदा दिनभरि अस्पतालको लाइनमा घुमिरहनुपर्ने बाध्याता छ।

प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले मौसम परिवर्तन हुन लागेकाले बिरामीको चाप बढेको र बिरामीको चाप बढेको बताए। तर भौतिक संरचना नभएकाले अहिले नै अर्को काउण्टर र डाक्टर थप्न नसक्ने उनले बताए।

‘मौसम परिवर्तन हुन लाग्दा बिरामीको धेरै नै चाप बढेको छ। जसले गर्दा घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता रहेको पनि हामीले देखेका छौं‚’ उनले भने‚ ‘तर अहिले नै हामीले अर्को काउण्टर वा डाक्टर थप्न सक्दैनौं।’

प्रसाईंले अस्पतालमा बिरामीको चापलाई मध्यनजर गर्दै केही समयअघि मात्रै स्वास्थ्यकर्मीको संख्या थप गरेको बताए। अस्पतालको अहिलेको भवनमा काउण्टर थप्ने र डाक्टर बस्ने ठाउँ नभएकाले नयाँ भवन नबनेसम्म समस्याको समाधान नहुने उनको भनाइ छ।

‘मंसिरसम्म अस्पतालको नयाँ भवन बनिसक्छ भनेको छ। त्यसपछि हामी काउण्टर पनि थप्छौं र डाक्टर पनि थप्छौं‚’ उनले भने‚ ‘अहिले भने हामीसँग ठाउँ पनि नभएकाले यसलाई व्यवस्थापन गर्न गाह्रो छ।’

स्वास्थ्य बिमाले अस्पतालमा चाप

स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउन सरकारले ल्याएको स्वास्थ्य बिमाले हेटौंडा अस्पतामा बिरामीको चाप पनि बढेको छ। एकपटक स्वास्थ्य बिमा गरेपछि एक वर्षसम्म एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुने भएपछि अस्पतालमा जाने बिरामी बढेको हो।

केही समयअघिसम्म हेटौंडामा नै रहेको निजी अस्पताल चुरेहिलबाट पनि बिमाअन्तर्गतको उपचार गरिन्थयो। तर‚ अहिले हेटौंडा अस्पतालबाट रिफर भएका बिरामीलाई मात्रै चुरेहिलले उपचार गर्ने भएपछि हेटौंडा अस्पतालमा बिरामीको चाप धेरै बढेको रजिष्ट्रार प्रसाईंले बताए।

‘अस्पतालमा आउने ५० प्रतिशतभन्दा धेरै बिरामी स्वास्थ्य बिमा गर्नुभएको बिरामी नै हुने गर्नुहुन्छ,’ प्रसाईंले भने। सरकारले स्वास्थ्य बिमा ल्याउनुअघि प्राइभेट मेडिकल तथा अस्पतालमा जाने बिरामी पनि पछिल्लो समय बिमाबाट सेवा लिन हेटौंडा अस्पताल पुग्ने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.