झुक्याएर विहे गर्ने युवक प्रहरीकाे खाेरमा

|

विराटनगर : इलामकी एक युवती र रौतामाई गाँउपालिका–७ मार्कुचेका २४ वर्षीय सुदीप कार्की (परियार)को सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भयो। त्यही चिनजानलाई उनीहरूले म्यासेन्जर च्याटमा सक्रिय बनाउदै सम्बन्धलाई निरन्तरता दिए।

सामान्य हाई हेल्लोबाट सुरु भएको उनीहरूको कुराकानी मायाप्रेममा परिणत भयो। केही समयको अन्तरालपछि च्याटमा सिमित उनीहरूको संवाद फोनमा समेत हुन थाल्यो। दैनिक जस्तो फोनमा हुने लामो कुराकानीले प्रेमको यात्रामा दौडिएका उनीहरूको सम्बन्ध थप प्रगाढ बन्यो।

प्रविधिको माध्यमबाट जोडिएको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्ने निधो गरे। संवादको क्रममा सुदीपले आफू अमेरिका जान लागेको युवतीलाई सुनाएका थिए। उनीहरू बीचको प्रेम सम्बन्ध सम्बन्ध र विवाह गर्ने निधो बारे दुबैले परिवारलाई सुनाए। दुबैको परिवार विवाह गरिदिन सहमत भए।

परिवारको सल्लाहअनुसार असोज ३ गते युवतीका अभिभावकले विधिपुर्वक टिकाटालो गरेर छोरीलाई सुदीपको जिम्मा लगाए। उनीहरूको विहे भने एक दिन पनि टिक्न सकेन।

अमेरिका जाने काल्पनिक यात्रा बनाएका उनीहरूको वैवाहिक यात्रामा नै असोज ४ गते जिल्ला प्रहरी कार्यालय उदयपुर पुगेर ब्रेक लाग्यो। ‘अमेरिकामा लिने सपना देखाएर विवाह गरेका सुदीपले अमेरिका जाने भनेर मात्रै ढाँटेनन् जात ढाँटे,’ ति युवतीले भनिन्, ‘कार्की भने पनि नागरिकतामा भने ‘ढोली’ लेखिएको पाइयो।’

तत्कालै अमेरिका जान लागेको भन्दै युवतीलाई प्रलोभनमा पारेर विवाह गरेको आरोप लगाउदै युवतीको परिवारले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले युवतीका आफन्तले केटा कार्की नभएर ढोली भएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको बताए।

सुदीपले अमेरिकाको नक्कली भिसा युवतीलाई देखाएर झुक्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। हाल युवतीलाई अभिभावकको जिम्मा लगाइएको डिएसपी गौतमले बताए। सुदीपलाई भने अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.