|

काठमाडौं : केही दिनअघि राजधानीमा एउटा कार्यक्रम गरी नेपाली फिल्म 'डाँडाको बरपिपल'को गीत सार्वजनिक गरियो। तर‚ कार्यक्रमपछि सार्वजनिक गीत र आउन लागेको फिल्मभन्दा चर्चाको विषय बन्यो ‘महानायक’ र ‘महानायिका’को उपाधि। 

फिल्मबारे भनाइ राख्ने क्रममा माइक्रोफोन भुवन केसीको हातमा गयो। जो फिल्ममा विशेष अतिथिको रुपमा देखिँदै छन्। दुई वटा कारण दिँदै भुवनले आफू फिल्ममा कसरी जोडिएँ भन्ने प्रसंग सुनाए। उनको पहिलो कारण थियो‚ फिल्ममा रहेका युवा कलाकारहरू। आफू फिल्ममा जोडिनुको दोस्रो कारण बताउँदै उनले भने, 'सबैभन्दा इम्पोर्टेन्ट चाहिँ के छ भने यो फिल्ममा नेपाली चलचित्रको द रियल महानायिका गौरी मल्ल पनि हुनुहुन्छ।'

भुवनले आफूलाई महानायिका भनेपछि छेउमा उभिएकी गौरीको अनुहारको रंग फेरियो। उनले एउटा लामो सास लिइन्। उनलाई देखेर लाग्थ्यो कि विश्वास भइरहेको छैन‚ भर्खर उनको जे सुनिन्। एकछिनसम्म आफ्ना दुवै हातले मुख छोपिन्। उनको शारीरिक हावभावले यो उनका लागि एकदमै अनपेक्षित कुरा थियो भनेर देखाइरहेको थियो। उनले आफ्नो छेउमा उभिएका अर्का अभिनेता शिव श्रेष्ठले मात्र सुन्ने गरी केही भनिन्। त्यसपछि शिवले पनि गौरीले मात्र सुन्ने गरी केही भने। त्यति बेलासम्म भुवन गौरीको तारिफमा बोलिरहेकै थिए, 'मैले कुनै कन्ट्रोभर्सी कुरा गरेको होइन। म जे बोल्छु सत्य बोल्छु। गौरी मल्ल अभिनयको महारानी। अभिनयको महानायिका हुन्।'

भुवनले आफू फिल्ममा जोडिनुको दास्रो कारण आधा मात्रै भनेर सकेका थिए। त्यसपछि उनले भने, 'खुशी लाग्यो गौरी मल्ल त्यहाँ हुनुहुन्छ भनेर। अनि अर्को शिव श्रेष्ठ, जो नेपालको महानायक हुनुहुन्छ।’ यसले पनि शिवको शरीरमा सानो तरंग ल्यायो। यस्तो लाग्थ्यो शिवका लागि पनि यो कुरा अनपेक्षित हो। त्यसपछि कार्यक्रममा चर्चाको विषय बन्यो महानायक र महानायिका। 

शिवको बोल्ने पालो आउँदा उनले पनि भुवन र गौरीको प्रसंसामा दुईवटा गह्रुंगा शब्द बोले। उनले भुवनलाई जादुगर फिल्म मेकर बताए भने गौरीलाई इन्स्टिच्युट। शिवको प्रसंसाले गौरीको मुखबाट ‘ओ माइ गड’ निस्किसकेको थियो। भुवनले गौरीलाई दिएको महानायिकाको उपाधिलाई पनि समर्थन गर्दै शिवले भने, 'महानायिका गौरी मल्ललाई आज घोषित गर्छौँ।' त्यसपछि पररर ताली बज्यो। गौरीले इशारा गर्दै होइन होइन भनिन्। ताली बजिरह्यो। शिव गौरीलाई महानायिकाको उपाधि किन दिनुपर्छ भनेर बुझाउन लागे। 

केही बेरपछि गौरीको बोल्ने पालो आयो। 'हिन्दीमा एउटा उखान छ, जाना था जापान, पोहोँचगए चीन भने जस्तो भएको छ आजको प्रेसमिट' भन्दै गौरीले आफ्नो भनाइ राख्न सुरु गरिन्। 

'शिव, भुवन उहाँहरूसँग विगत तीस चौँतीस वर्षदेखि काम गरिरहेकी छु। त्यो आधारमा पनि उहाँहरूको एउटा निर्क्यौँल होला कि यसो पनि गर्न सकिन्छ। त्यो सबैले सोच्न सक्छ त्यसमा दुई मत छैन‚' गौरीले थपिन्, 'जहाँसम्म मैले यो पद लिने नलिने सवाल छ‚ त्यसमा केवल एउटै कुरा भन्न चाहन्छु, महानायक, महानायिका, सर्वश्रेष्ठ, विशिष्ट, धुरन्धर जे उपाधि दिए पनि त्यो उपाधि कागलाई हेलमेट लगाएको जस्तो हुनु हुँदैन। जसले पाए पनि। धान्न सक्ने पनि हुनुपर्‍यो। डिजर्ब पनि हुनुपर्‍यो।' कसैले आफूलाई कुनै सम्मान दिँदा आफू त्यसको लायक छु कि छैन भन्ने अन्तरबोध पनि हुनुपर्ने गौरीको भनाइ थियो।

'हामीले आफ्नो काम सुरु गर्दा कहिल्यै म महानायिका हुन्छु, महानायक हुन्छु या सर्वश्रेष्ठ बन्छु भनेर गरेको त होइन‚' उनले भनिन्, 'खास भन्ने हो भने यो देशमा यस्ता उपाधिहरूको कुनै औचित्य नै छैन। जस्तो कि म देखिरहेको हुन्छु, विभिन्न किसिमका उपाधिहरूले सिँगारिरहेको हुन्छ मान्छेहरूलाई। मानौं हामी भित्तामा सजाउनका लागि कुनै तस्वीर सिँगारिरहेका छौँ। मलाई उपाधि चाहिँदैन। काम दिनुस्, हामी श्रमजीवी हौं।'

अहिले आफूहरूले जे गरिँदै छ त्यो भोलिको पुस्ताले मूल्यांकन गर्ने र आज बोलेको कुरा सत्य भए पनि असत्य भए पनि इतिहास बन्ने भएकाले विचार पुर्‍याएर बोल्नुपर्ने उनले सुझाव दिइन्। 'हिजो राणाकालमा कसले कसलाई मारेको थियो हामीले देखेका थियौँ र? जे हामीले कोर्सबुकमा पढ्यौँ‚ त्यही नै सत्य मान्यौँ‚’ उनले थपिन्‚ ‘गगनसिंहलाई कसले मार्‍यो, जंगबहादुर कसरी आए, राजेन्द्रलक्ष्मीले केके गरिन्..। हामी त्यो कालमा त थिएनौँ। हामीले जे पढ्यौँ सत्य त्यही नै रहेछ भनेर पढ्यौँ। भोलिको जेनेरेसनले पनि त्यही नै सत्य मान्छ।' 

गौरीले भनिन्, 'कसैलाई पनि जुनै किसिमले श्रृंगार‚ अलंकार दिनुस्, सही मान्छेलाई डिजर्ब गर्ने मान्छेलाई दिनुस्। किनभने तपाईंहरूको गल्ती भोलि गएर इतिहास बन्छ।' आज लेखिएको अक्षरले भविष्यमा यो पुस्ताबारे बताउने भएकाले चार जनालाई खुशी बनाउन इतिहास बिगार्न नहुने उनले तर्क गरिन्।

साथै‚ आफू सधैं यस्ता कुराबाट टाढा भाग्ने र आफ्ना लागि काम नै सबैथोक रहेको उनले प्रष्ट्याइन्। यसरी दिइने उपाधि, पुरस्कार ठूलो कुरा नरहेको बताउँदै उनले भनिन्, 'ठूलो कुरा के हो भने, तपाईंहरूले दिने स्नेह हो। माया हो। तपाईंहरूले हामीलाई स्वीकार्ने जुन स्वभाव छ‚ त्यो ठूलो उपाधि हो। त्योभन्दा बाहिर कुनै उपाधि हुँदै हुँदैन।' 

नेपाली फिल्म क्षेत्रमा महानायकको टोपीलाई लिएर बेलाबेलामा विवाद भइरहने गर्छ। लामो समयदेखि राजेश हमालालाई महानायक भनिँदै आइएको छ। राजेशलाई महानायक भनेको चित्त नबुझ्नेहरू पनि छन्। विशेष गरी अघिल्लो पुस्ताका तीन मुख्य अभिनेता राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठका आफ्ना आफ्ना समर्थक छन्‚ जो आफ्ना आइडललाई महानायकको टोपी लगाएको देख्न चाहन्छन्। 

केही महिनाअघि एक कार्यक्रममा करिश्मा मानन्धरलाई महानायिकाको ताज लगाइएको थियो। त्यसपछि पछिल्लो कार्यक्रममा गौरी मल्ललाई महानायकको दावेदार शिव र भुवनले महानायिका घोषित गरेपछि फिल्म जगतमा एउटा अर्को तरंग फैलिएको छ। यद्यपि‚ गौरीले भने त्यो उपाधि लिन नै चाहिनन्।

फिल्म उद्योगमा कति योगदान दिए, कति वटा फिल्म खेलिए, सामाजिक सञ्जालमा कति फलोअर भए वा बाटो हिँड्दा कत्तिको भिड लाग्यो, कति वटा अटोग्राफ दिइयो भने महानायक भइन्छ भन्ने कुनै मापदण्ड छैन। एउटाले टोपी लगाइदियो, अर्कोले मानिदियो। तर, महानायकको टोपी लगाएका र नलगाएकाबीच फरक कति छ? 

राम्रोसँग उभिनका लागि संघर्ष गरिरहेको नेपाली फिल्म उद्योगलाई कसरी अगाडि लैजाने भनेर सबै एकजुट हुनुपर्ने बेलामा यस्ता उपाधिका लागि हुने विवाद अर्थहीन छ। गौरी मल्लले भने जस्तै यो देशमा यस्ता उपाधिहरूको कुनै औचित्य छैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.