|

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्यअनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन्।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पुर्‍याउने अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको दाबी गरे।

मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेशनल कमिशन अफ जुरिष्ट्स, एडभोकेसी फोरम, एम्नेष्टि इन्टरनेशनल नेपाल, जुरी नेपाल र नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)का पदाधिकारीसँगको सामूहिक भेटमा उनले आफूहरू सरकारमा आउँदा मुलुकमा कोभिडको ठूलो आतंक रहेको र हाल आएर त्यसलाई सामान्य अवस्थामा पुर्‍याउन सफल भएको पनि दाबी गरे।

मन्त्री कार्कीले सरकार जनतालाई कोभिडबाट मुक्त गर्ने र मुलुकमा सुशासन कायम गर्दै दिगो शान्ति र दिगो आर्थिक विकासको कामलाई अगाडि बढाउने काममा सरकार अग्रसर भइरहेको पनि बताए।

उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी मुलुकलाई दिगो आर्थिक विकासको बाटोमा अगाढि बढाउन सरकारलाई साथ, सहयोग र समर्थन गर्न पनि सबैलाई आग्रह गरे। ‘सबै नेपालीलाई भ्याक्सिन लगाउने काममा सरकार अगाडि बढिरहेको छ। र त्यो लक्ष्य पूरा हुन्छ।

जनताको जीवन रक्षा नै सरकारको प्रथम कर्तव्य हो। त्यो दायित्व पूरा गरी राखिएको छ’ कार्कीले भने। मन्त्री कार्कीले वर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पनि गम्भिरतापूर्वक काम गरिरहेको बताउँदै ‘नो भ्याक्सिन’ को अवस्थाबाट मुलुक सामान्य अवस्थामा आउनु ठूलो उपलब्धी भएको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.