|

भक्तपुर : यन्या पुन्हीको अवसरमा आठ दिन मनाइने इन्द्रजात्राअन्तर्गत भक्तपुरमा मुपात्र जात्रा आज साँझदेखि सुरु हुँदैछ। प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म तीन दिन मनाइने यो जात्राको मुख्य आकर्षण मुपात्र जात्रा हो। मुपात्रलाई राक्षसका रुपमा लिने भएकाले यसलाई स्थानीयहरुले राक्षस जात्राको रुपमा समेत लिने गर्दछ।

जात्रामा एक जना मुपात्र र धिःचा नामक अन्य दुई जना सहायक गरी तीन जना राक्षसको सहभागिता रहन्छ। जात्रामा तीनै जनालाई राक्षसको जस्तो पोशाक लगाउन दिई अनुहारमा विभिन्न रंगको श्रृङ्गारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर पुरै परिक्रममा गराउने प्रचलन छ। नगर परिक्रमा गर्दा भक्तपर नगरको टोल टोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्दछ। यसको अर्थ जात्राको पहिलो दिन टोल टोलमा बाँधेर राखेका यमःद्योलाई छुटाउन क्षमा याचनासहित उसलाई बाँधेको डोरी काटेको भन्ने बुझिन्छ।

मुपात्र जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भिमसेन मन्दिरअगाडि त्रिशुल आकारको एक जोडा याँमता (आकाश दीप) बाली तचपालस्थित सँला गणेशलाई खटमा राखिन्छ। गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ। त्यसपछि मुपात्र जात्रा मनाइन्छ। जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमाहरुमा परिक्रमा गराइन्छ।

जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ। यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना बालेर आईसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ। याँमता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराउन लगिन्छ। याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ। सोही रात सँला गणेश र छुमा गणेशलाई आ–आफनो द्योःछे (देवगृह)मा पुर्‍याइन्छ।

जात्राको अन्तिम दिन आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवको गुठी संस्थान कार्यालयवाट विधिवत रुपमा बली पुजा गरिन्छ। पूजा सकिएपछि तल्लो टोलहरु तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछ। त्यही सुकुनामा  बुलुचास्थित ढुंगेधारामा एकजोडा याँमता बाल्छ। बालीसकेपछि याँमतासँगै त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ। यस दिन जात्रामा नायखिङ (खड्गी समुदायको विषेश)बाजा बजाएर भैरवनाथको खटलाई  नगर परिक्रमा गराइन्छ।    

भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपाडाले छोपेर अगाडीको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ। तमारीको भैरव मन्दिरअगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ। जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याईन्छ भने एक जनाले पुलुकिसी भित्र बसेर घण्टा बजाएर आउने परम्परा छ।

जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधा भन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा सुरु गरिन्छ। यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ।

इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भएता पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणहरुको संकलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको संस्कृतिकर्मीहरु बताउँछन्।

लोककथन अनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो। पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गर्‍यो। त्यसपछि जयन्तलाई दुई हात पछाडि बाँधेर राख्यो। पछि जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच संग्राम भई देवताको जित भएको खुशियालीमा यो जात्रा मनाउदै आएको किंवदन्ती रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताए।

जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ। सोअनुसार मुपात्र बन्ने व्यक्तिलाई अछुतको व्यवहार गरिन्छ। त्यसैले यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.