|

झापा : धारिलो हतियार (दाउ) ले काटेर एक भारतीय महिलालाई टुक्रा–टुक्रा पारी हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने भारत विहार राज्य किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत निवासी २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका-१ निवासी ३७ वर्षीय लखन टुडु, सोही ठाउँका ५६ वर्षीय सिरी साइँला भन्ने सोमाई हेमरम र २७ वर्षीय श्री हेमरम रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए।

पक्राउ परेका चारै जनालाई बुधबार प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्। घटनामा संलग्न मृतकका देवर किशनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ४५ वर्षीय मण्डल हेमरम फरार रहेका छन्।

प्रहरीका अनुसार गत भदौ २५ दिउँसो साढे १२ बजे झापा गाउँपालिका १ स्थित सानो माई खोलामा नाम थर वतन नखुलेको एक महिलाको टाउको, घाँटी, पेट (कम्मरभन्दा माथिको भाग) तथा घुँडाभन्दा मुनिको भाग नभएको शव फेला परेको थियो।

घटनाको प्रकृति हेर्दा हत्या गरी फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएपछि महिलाको पहिचानका लागि प्रहरी टोली परिचालन गर्‍यो। शव भेटिएको ५ दिनपछि अर्थात् भदौ ३१ गते एक भारतीय महिलाको हत्या गरिएको कुरा प्रहरीसमक्ष जानकारी आयो।

हत्या गरिएका महिला झापा गाउँपालिका-१ माइती घर भई हाल किशनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ५५ वर्षीय डोली भन्ने धोन्नी टुडु भन्ने पहिचान खुलेको एसपी भट्टराईले बताए। प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्दै उनीहरूलाई पक्राउ गरिएको एसपी भट्टराईको भनाइ छ। मृतक डोलीको सन्तान नभएको र उनको श्रीमानको १५ दिनअघि मात्र मृत्यु भएको थियो।

मृतक महिलाको सौता रहेकोले सौताले विभिन्न आरोप लगाई हेला गर्ने गरेको र बोक्सीको आरोप लगाउँदै आएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

‘मृतक र उनका देवरसँग जग्गा सम्बन्धी घरायसी विवाद थियो,’ उनले भने, ‘मृतक डोलीलाई अंशबन्डा नदिने योजना बनाएर हत्या गरिएको देखिन्छ।’ हत्या घटनामा मृतक महिलाकी सौताकी भाइ लखन, भान्जा ऐतवार र देवर मण्डल प्रत्यक्ष संलग्न देखिएको उनले बताए। यता पक्राउ परेका चारै जनालाई झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.