दुई वर्षमा पाँचको मृत्यु, कैयौं बिरामी
दुई वर्षमा पाँचको मृत्यु, कैयौं बिरामी
हेटौंडा : मकवानपुरको कर्णाली भनेर चिनिने राक्सिराङ गाउँपालिका वर्षेनी भोकमरीको भुमरीमा पिल्सिने गरेको छ। शिक्षा , स्वास्थ्य तथा यातायात जस्तो विकासमा पछाडी परेको राक्सिराङ भोकमरीमा भने सबैभन्दा अगाडि छ।
चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकाको बासिन्दाहरु गरिवीको रेखामुनि छन्। उर्वर भूमि पनि कम भएकोले राक्सिराङका बासिन्दा हरेक वर्ष भोकमरीको चपेटामा पर्ने गरेका छन्। स्थानीय स्तरमा नै मेलापात गरेर दैनिकी चलाउने त्यहाँका बासिन्दा छाक टार्नैको लागि जंगली च्याउ खोज्न दैनिक जंगल धाउने गरेका छन्।
बिहान बेलुका खोलेफाँडो खाएर पेट भर्ने अवस्था नभएपछि चेपाङ समुदाय गिठ्ठा भ्याकुर खोज्न जंगल पस्ने गरेका हुन्। भिरालो जग्गा जमिन भएको राक्सिराङमा खेतीयोग्य जमिन पनि नहुँदा हरेक वर्ष भोमकमरी हुने गरेको छ। अति नै विपन्न वर्गमा पर्ने त्यहाँका चेपाङ र तामाङ समुदायको अशिक्षाका कारण परिवार संख्या भने ठूलो हुने गरेको छ। जसले गर्दा उनीहरू खानका लागि जंगल र खोलामा पाइने माछा तथा कन्दमूलको भर पर्ने गर्छन्।
विषालु च्याउ खादा पाँचजनाको मृत्यु
अन्नको अभावमा छाक टार्न जंगली गिठ्ठा भ्याकुरमा भर पर्ने त्यहाँ बासिन्दाले जंगलको विषालु च्याउ खादा वर्षेनी ज्यान पनि गुमाउने गरेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङमा हेर्ने हो भने, विषालु च्याउले पछिल्लो दुई वर्षको अवधिमा पाँच जनाको मृत्यु भएको छ भने १२ जना बिरामी परेका छन्। जसमा राक्सिराङ गाँउपालिका र मनहरी गाँउपालिकाका बासिन्दा रहेका छन्। २०७६ साल असार १३ गते राक्सिराङ गाँउपालिका—७ दराङकी १२ वर्षिय बुन्जिमाया चेपाङ, उनका बुवा ४५ वर्षीय दीपबहादुर चेपाङ र दाइ १९ वर्षीय बज्रलाल चेपाङको विषालु च्याउ खाँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।
बुन्जिमायाकी ७ वर्षिय भाई पोल्टा चेपाङ भने बाँच्न सफल भएका थिए। जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारको तीनजनाले ज्यान गुमाएका हुन्।
विकट क्षेत्रमा रहेको उनिहरुको उद्धारका लागि हेलिकप्टरको समेत सहायता लिइएको थियो। तर बुन्जीमायाको घरमा नै ज्यान गइसकेको थियो भने अन्य तीनजनालाई भरतपुर अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा बुवा दीपबहादुर र दाजु बज्रलालको केही दिनपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, राक्सिराङ—७ मा नै गत जेठ १७ गते कान्छीमाया प्रजाको जंगलको विषालु च्याउ खाँदा मृत्यु भएको थियो। जंगलमा पाइने कन्दमुलले पेट भर्दै आएकी कान्छीमायाको परिवारले नै जंगली च्याउ खाएका थिए। जसको कारण उनको मृत्यु नै भयो भने श्रीमान् र नातिनी बिरामी परेका थिए।
यस्तै, जेठ महिनामा पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पनि विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको थियो भने एकै परिवारको अरू ३ जना बिरामी परेका थिए। गएको जेठ १९ गते राक्सिराङ–९ खैराङको हरिशरण प्रजाको परिवारको ६ जना जंगली च्याउ खाएर बिरामी परे। अन्न अभावले भोकै बस्न बाध्य भएका प्रजाको परिवारले पेट भर्नको लागि जंगली च्याउ खाँदा परिवारका सबै बिरामी परेका हुन्।
च्याउ खानेबित्तिकै बान्ता भएकोले आफूहरु बाच्न सफल भएको हरिशरण बताउँछन्। मकवानपुरको विशेषगरी राक्सिराङ गाउँपालिकामा हरेक वर्ष जंगली च्याउ खाएर मृत्यु हुने गरेको छ भने कयौं मृत्युको मुखमा पुग्ने गरेका छन्।
फर्केनन् च्याउ खोज्न गएका हिरालाल
गत भदौ २ गते राक्सिराङ–३ लावती घर भएका ४० बर्षीय हिरालाल वाईबालाई खोलाले बगायो। २ गते बिहान च्याउ खोज्न गएका ५ जना राप्ती खोला तर्ने क्रममा उनी बेपत्ता भएका थिए। अन्य ४ जना साथी पारि च्याउ खोज्न जाँदा वाईबालाई कपडा कुर्न वारि नै राखिएको थियो। तर साथिको कुरा नमानी वाइबा खोला तर्न गए। अघिल्लो दिन भदौ १ गते शनिबार परेको निरन्तर पानीले खोलाको बहाव बढाएको थियो।
निरन्तरको पानीसँगै आएको बाढिले च्याउ खोज्न गएका वाईबालाई आफुसँगै बगाएर लग्यो। परिवारको पेट भर्न च्याउ खोज्न जंगल पसेका हिरालाल खोलामा आएको बाढिसँगै सधैको लागी अस्ताए।
राक्सिराङ गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लले आफ्नो गाउँपालिकामा भोकमरीले ठूलो समस्या निम्त्याउने गरेको कारण स्थानीयहरु जंगलमा पस्ने गरेको बताए। उनले गाउँपालिकाको कुल जनसङ्ख्याको ३७ प्रतिशत चेपाङ मात्रै भएको भए पनि तामाङ समुदाय पनि गरिबीको रेखामुनि रहेको बताए। मल्लले गरिबी, खडेरी, बालीमा हाल्ने मल अभाव र कोरोनाले गर्दा गाउँमा भोकमरीले सताएको बताए। अन्यको तुलनामा चेपाङ बढी प्रभावित छन्।
उनीहरू बाहिर गएर ठूलो रोजगारी गर्दैनन्, गाउँतिरै मजदुरी गर्छन्। जंगल जाने, माछा मार्ने र गिठ्ठा खोजेर खानमा नै उनीहरू खुसी पनि हुन्छन्। जसले गर्दा भोकमरीको चपेटामा पर्छन्,’ उनले भने। मल्लले जंगलमा पाइने कन्दमूलले पेट भर्ने गरेका राक्सिराङको बासिन्दा विषालु च्याउको कारण ज्यान गुमाउन बाध्य रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।