|

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस कार्यकर्ताले रिले अनशन सुरु गरेका छन्।

डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी कार्यालयमा बिहीबारदेखि रिले अनशन सुरु गरिएको हो। चार बुँदे मागसहित आफूहरू रिले अनशनमा बसेको कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले बताए।

हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा वडा अधिवेशनको मिति तय गर्नुपर्नेलगायतका मागहरू आफूहरूले अघि सारेको भट्टले जानकारी दिए।

आफूखुसी केन्द्रबाटै थप गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याएर अधिवेशन प्रक्रिया सुरुवात गर्न माग गर्दै रिले अनशन सुरु गरिएको उनले बताए। जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरेर एकलौटी रूपमा प्रहरी परिचालन गरेर सम्पन्न गरिएको वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराएपनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर अनशन बस्नुपरेको भट्टले सुनाए।

क्रियाशील सदस्यता विवाद कायमै रहेको र गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन अवैधानिक भएको ठहर गर्दै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले विरोध गर्दै आइरहेको छ। निर्वाचन अधिकृत तोकिएका लोकेन्द्रबहादुर बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार भदौ २५ गते वडा अधिवेशन गराएका थिए।

डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन्। जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ। सभापति देउवाको गुटमा पूर्व जिल्ला सभापति रघुवर भट्ट, गोविन्द बोहरा, र भीमबहादुर साउदलगायतका नेताहरू छन्। जिल्ला कार्यसमितिले क्रियाशील सदस्यका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले ४ सय ४४ जनाको नाम हटाइदिएको कार्यबाहक सभापति भट्टले बताए।

तर देउवाले आफू अनुकूलका ३ सय १२ जना थपेको पनि उनले आरोप लगाए। जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्वजिल्ला सभापति तथा परशुरामका पूर्व नगरसभापति तारीसिंह बोहरा, त्रिभुवन विश्वविद्यालयका पूर्व स्ववियू सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्टलगायतको नाम सूचीबाट हटाइएको भट्टले बताए। आफूहरूका माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने मल्ल पक्षको चेतावनी छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.