|

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन्।

हाल एनआरएनएको उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। उनले संघको  २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन्। ‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिशलाई सफल पार्न अहिले म आएकी हुँ।

आफैले इच्छा गरे मात्रै नेतृत्वमा पुग्न महिलाहरू सफल हुनेछौँ।’ उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउदै सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई अपिल गरिन्। ‘पहिलो पटक एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौँ। यो एउटा इतिहास रहनेछ।

अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस्’ थापाले भनिन्। परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको उनले जानकारी दिइन्।

सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन्।

‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन्। उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो, ‘उनले भनिन्, ‘समयमा नै चुनाव हुनेमा म विश्वस्त छु। परराष्ट्रमा परेको उजुरीको कारणले पनि हाम्रो टिमले पूर्णता पाउन ढिलाइ भएको हो। सबै देशहरूलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ।’

अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउने उनले बताइन्। उनले विदेशमा हासिल गरेका सीपलाई व्यावसायीकरण गर्ने योजना समेत रहेको बताइन्।

विदेशबाट एक जना नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सीपयुक्त बनाउन सकिने उनको भनाइ छ। संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनाव जितेकी थिइन्।

उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्। दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा अमेरिका निवासी थापा, बेलायतका कुल आचार्य र रसियाका डा.बद्री केसीबीच प्रतिस्पर्धा हुने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.