|

काठमाडौंः युट्युब ट्रेण्डिङ नम्बर एकमा 'जति सम्झ्यो उति मन रुन्छ' बोलको गीत छ। प्रेमसागर पौडेलको परिकल्पना तथा शब्द रहेको गीतलाई दुई हप्ताअघि संखुवासभामा भएको हत्या प्रकरणमा आधारित भनिएको छ। जहाँ एकै परिवारका ६ सदस्यको विभत्स ढंगले हत्या गरिएको थियो।

अनुसन्धानको क्रममा प्रहरीले सबैभन्दा पहिले मृतकका भतिज पर्ने लोक बहादुरलाई दोषी पायो। प्रहरीको अनुसन्धान अझै जारी नै छ। लोक बहादुरलाई नै दोषी देखाएर एक हप्ताअघि उक्त गीत सार्वजनिक भयो। जसलाई सत्य घटनामा आधारित भनेर प्रचार पनि गरियो। त्यसै कारण यतिबेला युट्युबको ट्रेण्डिङ नम्बर एकमा छ। 

अनुसन्धानकै क्रममा रहेको प्रहरीले घटनामा संलग्न अन्य ४ जनालाई सार्वजनिक गरेको छ। घटनाको छानबिन गरिरहेका संखुवासभाका डिएसपी लालध्वज सुवेदीले भनेका छन्, ‘सामूहिक योजना र सबैजना मिलेर नै हत्या गरेको देखियो।’ अझ उक्त प्रकरणमा मुख्य योजनाकार लोक बहादुरका काका खड्ग बहादुर रहेको पनि अनुसन्धानबाट थाहा लागेको छ। अनुसन्धान अझै जारी छ।

प्रहरी उक्त घटनाको अझ नजिक जाने कोसिसमा छ ताकी सत्यतथ्य सबै बाहिर आओस्। युट्युब ट्रेण्डिङ नम्बर एकमा सत्य घटनामा आधारित भनेर घटना र अपराधीको विवरणसहितको गीत छ।

उक्त गीतलाई यो समाचार तयार पार्दासम्म ६ लाख ३६ हजारभन्दा बढीले हेरिसकेका छन्। जसमा १८ हजार लाइक र ५ सयभन्दा बढी प्रतिक्रिया आइसकेको छ। गीतमा आएका सबैजसो प्रतिक्रिया गीतका लागि सकारात्मक छन्। एकजना दर्शक गीतको प्रशंसा गर्दै लेख्छन्, 'सुन्दर शब्द चयन, सन्दर्भमा आधारित गीत। यति छिटो गीत निकाल्न सक्नु, सर्जकको खुबी मान्नै पर्छ। यो गीतले सयौँ वर्षसम्म यो घटनालाई ताजै बनाइराखेको हुनेछ।'

पछिल्लो समय चर्चामा आएका घटना तथा व्यक्तिलाई लिएर म्युजिक भिडियो बनाउने ट्रेण्ड चलेको छ। यसो गर्दा भिडियो ट्रेण्डिङमा जान्छ, भ्युज धेरै आउँछ अनि पैसा पनि। भ्युजको लोभमा बनेका म्युजिक भिडियो तथा कुनै पनि भिडियो कन्टेन्ट युट्युबमा हरेक दिन अपलोड भइरहेको हुन्छ। लाखौँले त्यसलाई हेरिरहेका पनि हुन्छन्।

माथि भनिएजस्तै गीतको आयु सयौँ वर्षको हुन्छ अझ बढी अथवा आयु नै हुँदैन भन्न पनि सकिन्छ। त्यसरी हेर्दा एउटा गीतले सयौँ वर्षसम्म कुनै घटनालाई जिवित राखिराखेको हुन्छ। गीत भविष्यको लागि अहिलेको अभिलेख राख्ने राम्रो माध्यम पनि हो। हामी गीतमार्फत सूचना प्रवाह गर्छौँ भन्न पाइन्छ तर गलत सूचना प्रवाह गर्दा यसको असर सँधै रहिरहन्छ र यो पनि एउटा अपराध हो भन्ने कुरामा सर्जक सचेत हुन जरुरी हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.