|

सुर्खेत : कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर–४ सुर्खेतमा रहेको प्रदेशकै ठूलो अस्पताल हो प्रदेश अस्पताल। अस्पतालले केही समयअगाडिबाट मात्रै नयाँ भवनमा सरेर नयाँ–नयाँ तरिकाबाट सेवाग्राहीलाई दुःख नहुने गरि‍ी सेवा प्रवाह गर्दै आएको छ।

यस अस्पतालले अत्याधुनिक उपकरण, मेसिन र औजारहरूसँगै नयाँ किसिमबाट सेवा दिँदै आएको हो। विभिन्न सेवा अनुसारका करिब ६० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकहरू कार्यरत रहेका छन्।

प्रदेश अस्पताल २०३० सालमा जिल्ला अस्पतालको रुपमा स्थापना भएको थियो। त्यस समयमा अस्पतालको अवस्था नाजुक र भरपर्दो पूर्वाधार, विशेषज्ञ डाक्टर पनि थिएन। दुई जना डाक्टर मात्रै थिए।

सुर्खेतलगायत छिमेकी जिल्लाहरू दैलेख, सल्यान र जाजरकोटका बिरामीहरूक‍ा लागि पायक पर्ने अस्पताल भएपछि २०६२ साल फागुन ७ गते क्षेत्रीय अस्पतालको रूपमा स्तरोन्नति गरी ५० शय्याको बनाइयो। मुलुक संघीय संरचनामा गएपछि २०७५ साल कात्तिक १३ गते अस्पताल प्रदेश सरकार मातहतमा आयो। प्रदेश सरकार मातहतमा आएपछि भने अस्पतालको ठूलो फड्को मारेको छ। 

अस्पताल उपचारका लागि आउने सबै जसो बिरामीहरूको उपचारमा समेत थप सहज भएको छ। कर्णाली प्रदेशमै जटिल प्रकृतिका रोगकोे शल्यक्रियामा पनि सफलतापूर्वक हुने गरेका अस्पतालले जनाएको छ। यसले अब उपचारका लागि बाहिर जानैपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। 

प्रत्येक बिरामीको बेडमा पाइपबाटै अक्सिजन 

कुनै बेला यो अस्पतालमा बिरामीले सहज रुपमा अक्सिजन नै नपाउने समस्या थियो। त्यसमा पनि कारोना महामारीको बेलामा संक्रमितले अक्सिजनका लागि हानथाप नै गरे। तर अब अस्पतालले भने अक्सिजनको सहज व्यवस्थापन सुरू गरेको छ।

अस्पतालले आफ्नै लगानी र दाताको सहयोगमा अक्सिजन प्लान्टहरु थप गरेर उत्पादनको तयारी थालेको छ । जसअनुसार हाल केही बेडमा पाइपलाइनबाट अक्सिजन आपूर्ति भइरहेको भन्दै अस्पतालले चाँडै सबै बेडमा अक्सिजन सहज रुपमा उपलब्ध हुने जनाएको छ।


अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार थप अक्सिजन आवश्यक पर्ने बिरामीका लागि अक्सिजन प्लान्ट संचालनको तयारीमा समेत रहेको बताए। 

उनले भने ‘अब बिरामीले अक्सिजनको सिलिन्डर खोज्नुपर्ने अवस्था आउने छैन । हामी दशैँअघि नै पाइपलाइन बाटै हरेक बेडमा अक्सिजन आपूर्ति हुने व्यवस्था गर्दैछौं।’ 

ओपिडी टिकटका लागि डिजिटल प्राविधि

अस्पतालमा सेवा र सुविधा विस्तार भएपछि अहिले यो अस्पतालमा बिरामीको चाप बढे पछि अनलाइनबाट ओपिडी टिकट लिने मिल्ने गरि तयारी थालिएको छ।

बिरामीको चाप बढेका कारण चेकजाँचका लागि ओपिडी टिकट लिन घण्टौँ लाइनमा बसेर पालो कुर्नुपर्ने अवस्था भएपछि सेवाग्राहीलाई सहजताका लागि उक्त प्रविधिको तयारी गरिएको अस्पतालका सुचना अधिकारी हाड जोर्नी विशेषज्ञ डाक्टर बिकास केसीले जानकारी दिए ।

डाक्टर केसीका अनुसार अस्पतालले सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै अब अनलाइनबाटै टिकट काट्ने व्यवस्थाको लागि तयारी पुरा भएको बताए । यस्तै अस्पतालले हटलाइन सेवा पनि सुरु गरेको छ।

बिरामी र तिनका आफन्तले अब अस्पतालमा सिधै ९८५८०५७७५५ र ९८५८०४५७५५ मा फोन गरेर सेवा लिन वा गुनासो राख्न सक्नेछन्। यस्तै अस्पतालले आकस्मिक कक्षमा उपचार गराइरहेका बिरामीका लागि २४ सै घण्टा ल्याब, विलिङ् र औषधि सेवा पनि सुरु गरेको छ।

साथै अस्पतालले अब आर्थिक अवस्था कमजोर भएको र विपन्न परिवारका बिरामीका लागि निशुल्क खानाको व्यवस्थापन गर्नको लागि योजना बनाएको छ। यसका लागि दातासँग छलफल गर्न लागिएको अस्पतालले जनाएको छ।

आमा-बुबाको सम्झानामा ५० लाखको अक्षयकोष 

त्यस्तै प्रदेश अस्पताल कालागाउँ सुर्खेतका निर्देशक डा. डम्बर खड्काको परिवारले प्रदेश अस्पतालमा आफ्ना आमा र बुवाको सम्झनामा ५० लाख बराबरको अक्षयकोष स्थापना गर्ने भएका छन्।

प्रदेश अस्पताल कालागाउँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले उक्त अक्षयकोष अस्पतालमै स्थापना गरिने र सो कोषबाट आएको रकमले दिन दुःखिहरूको उपचारमा सहयोग गरिने बताएका हुन्।

‘मेरा पुज्यनीय आमाबुबाको सम्झनामा प्रदेश अस्पतालमा पचास लाख बराबरको अक्षयकोष स्थापना गर्ने भएको छु ।’ उनले भने, ‘यो कोषबाट भएको आम्दानीबाट कर्णालीका दुखी, गरिब, असहाय तथा गरिब बिरामीको उपचारमा केहि मात्रामा भएपनि सहयोग पुग्ने अपेक्षा गरेको छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.