बारले गठन गरेको एमिकस क्यूरीको नाम सर्वोच्चमा पुगेन

|

काठमाडौं : प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको सुनुवाइ आज स्थगित भएको छ। नेपाल बार एशोसियसनले आधिकारिकरूपमा एमिकस क्यूरीको नाम नपठाएका कारण सुनुवाइ स्थगित भएको हो।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले मिसिलमा एमकिस क्यूरीको नाम नदेखिएकाले आजको सुनुवाइ स्थगित भएको जानकारी दिए। न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो।

उक्त मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भएकाले आज सुनुवाइ नभएको दाहालले बताए। चाँडो एमिकस क्यूरीको नाम मगाएर अविलम्ब पेसी तोक्न आदेश भएको उनले जानकारी दिए।

सर्वोच्च बारले पूर्णमान शाक्य र रविनारायण खनाल तथा नेपाल बारले अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्व अध्यक्ष शेरबहादुर केसीको नाम टुंगो लगाएको सार्वजनिक भएको थियो। प्रधानन्यायाधीशले सो मुद्दाको सुरु र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधानविपरीत भएको दाबीसहित अधिवक्ता गणेश रेग्मीले रिट दर्ता गराएका थिए।

उक्त रिटमाथि न्यायाधीश हरि फुयालको एकल इजलासले लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न दिएको आदेश बमोजिम आज पेसी तोकिएको थियो। संवैधानिक परिषद्ले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवाद उत्पन्न भएको थियो।

सर्वोच्च अदालतले भने लिखित जवाफमा संविधानबमोजिम प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन नसक्दे जवाफ पेस गरेको छ। प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछिमात्र संवैधानिक नियुक्तिहरूविरुद्धको रिटमाथि सुनुवाइ अघि बढ्ने जनाइएको छ।

प्रधानन्यायाधीश संवैधानिक परिषद्को सदस्य भएकाले संवैधानिक नियुक्तिहरूविरुद्धको रिटको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नहुने कानुन व्यवसायीहरूले माग गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.