उपत्यकामा ३८ हजार खसीबोकाको मासु चाहिने अनुमान

|
फाइल फोटो

काठमाडौं : सरकारले नजिकिँदै गरेको दशैँका लागि काठमाडौं उपत्यकामा तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ। नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले वीरगञ्ज, हेटौँडा, मुस्ताङलगायत जिल्लाबाट दशैँका लागि उपभोक्ताले सुपथ मूल्यमा किन्न पाउने गरी खसीबोका र च्याङ्ग्रा ल्याउन लागेको हो।

खाद्य लिमिटेड, बागमती प्रादेशिक कार्यालय थापाथलीका सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार अहिले विभिन्न जिल्लाबाट खसीबोका र च्याङ्‍ग्रा संकलन गर्ने काम भइरहेको छ। उपत्यकामा भने घटस्थापना भन्दा केही अघि मात्र ल्याइनेछ। 

दुई हजार खसीबोका र एक हजार च्याङ्‍ग्रा ल्याउने तयारी भइरहेको सूचना अधिकारी सुवेदीले जानकारी दिइन। ‘काठमाडौंमा यति खसीबोकाले त पुग्दैन,’उनले भनिन्,‘तर सरकारको मातहतबाट सुपथ मूल्यमा पहिला जस्तै उपभोक्तालाई सेवा दिने र मार्केटमा रहन ल्याउन लागिएको हो।’ 

उनका अनुसार निजी व्यवसायीहरूले आ-आफैँले खसीबोका ल्याउनेछन्। च्याङ्‍ग्रा भने मुस्ताङबाट ल्याइनेछ। गत वर्ष भने च्याङ्ग्राहरू नल्याइएको र खसीबोका १५ सयको संख्यामा मात्र ल्याइएको सुवेदीले जानकारी दिइन्।

थापाथलीबाट बिक्री वितरण

व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी सुवेदीका अनुसार दशैँका समयमा खसीबोका र च्याङ्‍ग्रा   बिक्री वितरण गरिँदै आएको थापाथलीमा ल्याइनेछ। उक्त ठाउँबाट घटस्थापना आसपासबाट बिक्री वितरण गरिनेछ।

यस वर्षको घटस्थापना असोज २१ गते परेको छ। ‘घटस्थापनाको भोलि वा पर्सिबाट बिक्री वितरण थाल्छौँ,’उनले भनिन्। उनका अनुसार खसीबोका र च्याङ्ग्राको मूल्‍यसूची पनि सोही दिन मात्र कायम गरिनेछ। 

उपत्यकामा यस वर्ष खसीबोका र च्याङ्‍ग्रा ३८ हजार चाहिने

यस वर्षको दशैँमा मात्र उपत्यकाभित्र ३८ हजार खसीबोका र च्याङ्‍ग्रा आवश्यक पर्ने आँकलन पशु सेवा विभागले गरेको छ। व्यवसायीसँग समन्वय गरेर आवश्यक मात्रामा खसीबोका र च्याङ्ग्रा  ल्याउने कार्ययोजना बनाएको विभागका सहायक सूचना अधिकारी श्यामसुन्दर यादवले जानकारी दिए।

उनले भने,‘विभिन्न संघसंस्था,बाख्रा व्यावसायीहरूसँग छलफल गरी मासुका लागि ३८ हजार चौपाया उपत्यकामा ल्याउने कार्ययोजना बनाएका छौँ, व्यवसायीहरूले खसीबोका र च्याङ्गा गरी ५१ हजार चौपाया उपलब्ध गराउने भएका छन्।’

क्‍वारेन्टाइन बनाई छिट्टै पोखरा, दाङ, इटहरीलगायत जिल्लाबाट उपत्यकामा चौपाया भित्र्याउने उनले जानकारी दिए। बर्सेनि उपत्यकाभित्र ५० हजार संख्या हाराहारीमा खसीबोका,भेडाच्याङ्‍ग्रा खपत हुने विभागको अनुमान छ। तर, यस वर्ष जनजीवन सामान्य बन्दै गएको हुँदा धेरै मानिस गाउँ जाने भएकाले कमै मासु खपत पनि केही कम हुने विभागको अनुमान छ।

बाख्रापालक महासंघले २० हजार खसीबोका उपलब्ध गराउने

नेपाल व्यावसायिक बाख्रापालक महासंघले यस वर्षको दशैँ, तिहार, तथा छठ पर्वका लागि २० हजार खसीबोका उपलब्ध गराउने जनाएको छ। महासंघका अध्यक्ष प्रेमसागर पौडेलले काठमाडौं उपत्यकाका लागि यी संख्यामा खसीबोका उपलब्ध गराउने जानकारी दिए।

‘हामीबाट विभिन्न जिल्लाबाट गरी ३३ हजार खसीबोका उत्पादन हुन्छन्,’उनले भने,‘सरकार र व्यवसायीले खोजेमा २० हजार खसीबोका उपलब्ध गराउन सक्छौँ।’   

सरकारले बजार व्यवस्थापन नगरेको गुनासो

सरकारले नेपालमा उत्पादन भएको खसीबोका खरिद तथा बिक्री नगरी भारतलगायत देशबाट आयत गरेर बिक्री गरिरहेको नेपाल व्यावसायिक बाख्रापालक महासंघको जनाएको छ।

महासंघका अध्यक्ष पौडेल सरकारबाट बाख्रापालन गर्नलाई केही प्रोत्साहित कार्यक्रम पनि नगरेको बताउँछन्। ‘शहरभन्दा गाउँघरमा बढी खसीबोका पालिन्छ,तर सडक नै नभएकाले एक जिल्लाबाट अर्को जिल्लामा लान सकिँदैन,बरु सरकारले भारतबाट खसी बोका ल्याउँछ, हामीले उत्पादन गरेको वास्ता गर्दैन,’पौडेलले भने।

उनका अनुसार केन्द्र,प्रदेश र स्थानीय तहले बाख्रा बिक्री वितरण गर्नका लागि बजार व्यवस्थापन गरिदिएको भए धेरै कृषक यस व्यवसायतर्फ आकर्षित हुने थिए। तर, यसतर्फ सरकारले ध्यान नदिँदा धेरै युवा खाडी मुलुक पलायन हुनुपरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.