|

विराटनगर : चार दशक भारतको कोलकतास्थित दमदम जेलमा अनाहक जेल जीवन बिताएका इलाम माई नगरपालिका १० का  ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना यति बेला मानव सेवा आश्रमको सहारामा छन्।

उनको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएपनि उनी करिब एक महिना देखि आश्रमको साहारामा दैनिकी काटिरहेका छन्। उनको उपचार गर्ने प्रदेश सरकारले घोषणा गरेपनि कार्यन्वयन भने भएन।

उनलाई प्रदेश सरकारको समन्वयमा विराट मेडिकल कलेजमा उपचार गर्न लगिए पनि १६ दिन उपचार गरे पश्चात फलोअपका लागि प्रदेश सरकार मौन रहेको गोपाल तिम्सिना (दुर्गाप्रसादको भाइको छोरा)ले गुनासो सुनाए।

‘ठूलो बुवाको उपचारको जिम्मा प्रदेश सरकारले लिने भनेर समाचारमा आयो। तर सहयोग समाचारमा नै सिमित भयो। प्रदेश सरकारको समन्वयमा उपचारका लागि अस्पताल लगियो १६ दिन उपचार गरियो तर फलोअपका लागि कसैले सोधेन।’

दोश्रो पटक दुर्गाप्रसाद घरबाट बेपत्ता भए। त्यसपश्चात दीपकले आफ्नो पहलमा इलामस्थित मानवअधिकार मंच र माइ नगरपालिका प्रमुखको सहयोगमा मानवसेवा आश्रममा दुर्गाप्रसादकको  उपचारका लागि ल्याएको उनले बताए।

दुर्गाप्रसाद जेल मुक्त भएपछि कोकलता उच्च अदालतले सरकारसँग क्षतिपूर्तिसम्बन्धी धारणा माग गरेको थियो। तर क्षतिपूर्तिको विषयमा कुनै निर्णय भएको छैन।

भारतीय पक्षबाट क्षतिपूर्ति दिलाउन सरकारले पहल गर्नुपर्ने भएपनि  उनको क्षतिपूर्तिका लागि भारतीय दूतावास, विभिन्न संघ संस्था साथै प्रदेश सरकार समक्ष कुरा राख्दा अझैसम्म चासो नदेखाएको उनको परिवारको गुनासो छ।

१९ वर्षको उमेरमा इलामको मंगलबारे बजारमा तोरी बेच्न हिँडेका दुर्गाप्रसाद बुढेशकालमा घर आइपुगेका छन्। ‘४० वर्षपछि बंगाल रेडियो क्लवको माध्यमबाट ठूलो बुवा जिवित जेलमा हुनुहुन्छ भन्ने खबर आयो’, दीपकले भने,‘त्यसो त २०६९ मा दीपक जैसीको नाममा एउटा चिठ्ठी त आएको थियो ठूलो बुवाले जेलमा बस्दा नाम र थर दीपक जैसी भनेर उल्लेख गर्नुभएको रहेछ त्यही भएर ढिलो थाहा पाइयो।’

उनको परिवारका अनुसार दार्जिलिङमा दुर्गा जुन घरमा आश्रय लिएर बसेका थिए त्यही घरकी महिलाको चियाबारीमा हत्या भएपछि घटनाको दोष उनीमाथि थोपरिएको थियो।

प्रहरीमा झुठो आरोप दर्ता भएपछि पीडितको तर्फबाट एकपटक पनि फलोअप नभएको र बिनासुनुवाइ कारागार सार्दै कोलकतास्थित दमदम जेल पुर्‍याइएको थियो। लामो समय जेलमा मानसिक, शारीरिक यातनाका कारण उनको स्वास्थ्य अवस्था नाजुक छ।

हात हेर्दै दैनिकी बिताउँदै

बाँकी जीवन  घरजम गरेर परिवारसँग बिताउने इच्छा रहेको बताउने दुर्गाप्रसाद यतिबेला आश्रममा आउने जानेको हात हेर्दै दैनिकी कटाई रहेका छन्। उनको परिवारले भनेअनुसार उनी पहिलेबाट नै मानिसको चिना, हात हेरेर भविष्य भन्ने गर्थे। दुर्गाका रहर लाग्दा उमेर जेलको चार दिवाल (कोठा) मा नै थुनिए ।

उनका खुशी, उत्सव  त्यही जेलभित्रका पीडादायी भोगाइमा नै गुमनाम भइदियो। यद्यपी उनको भौतिक शरीर कैद भएपनि संसारको चित्रण गर्न भने उनले भुलेनन्। दुर्गाले सजाय भुक्तानको अन्तिम दिन गन्ती गरेर बसिरहँदा उनले आमाको न्यानो काख, गाउँघरको पाखा भित्ता र दुलही भित्र्याउने सुनौलो सपनालाई बन्द कोठामा कैद गर्न सकेनन्।

पहिलो पटक जेलमुक्त भएसँगै उनले भाइको छोरासँग भनेका थिए,‘ म निर्दाेष छु। घर गएर आमालाई भेट्छु, विवाह गरेर नयाँ दुलही भित्र्याउँछु।’ हिउँ झैँ सेतामे कपाल। चाउरिएको अनुहारमा ४० वर्षपछि छोरा फर्किएसँगै खुशी र हाँसो फर्किएको दुर्गाप्रसादकी ८६ वर्षीय आमा धनमाया तिम्सिनाले दुखले हुर्काएको छोराको अवस्था देख्दा मनै कुडिने गरेको बताइन्।

उनको स्वास्थ्य अवस्थामा केही सुधार आइरहेको छ। रिसाउने, एकोहोरो हुने जस्ता लक्षण भएको दुर्गालाई मानसिक रोग विशेषज्ञ डा. निकेशमणि राजभण्डारीले दिएको सल्लाहअनुसार औषधि सेवन गराइरहेको आश्रमका नवराज केसीले जानकारी दिए।

उनले दुर्गा विगतका दिनमा भन्दा पछिल्लो समय दोहोरो संवाद गर्न सक्ने भएको बताए। उनले भने, ‘उहाँ आश्रममा आइपुग्दा धेरै रिसाउने, फोहोर पानी खाने जस्ता कृयाकलापहरू गर्नुहुन्थ्यो आजभोलि केही सुधार हुँदैछ।’

परिवारको भनाई र लक्षण अनुसार उनलाई स्किजाफ्रेनिया रोग रहेको डा. राजभण्डारी बताउछन्। दुर्गाप्रसादको अवस्थाबारे जानकारी गराएपछि प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले आश्रममै गएर बुझ्ने बताए। ‘बिरामीको नाम, ठेगाना मलाई उपलब्ध गराउनुस्’, उनले टेलिफोन सम्पर्कमा भने, ‘म भोलि (शनिबार) आश्रममा नै गएर उहाँको अवस्थाबारे बुझ्नेछु।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.