|

काठमाडौं :  मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कारका लागि नौवटा पुस्तक सार्वजनिक गरेको थियो। गुठीमा प्राप्त २२२ मध्येबाट ती पुस्तकहरू अन्तिम छनोटमा परेका थिए।

पुरस्कारको दौडमा एकलब्यको  देब्रे हात (गिरि श्रीस मगर), करिया (कृष्ण अविरल), कल्प-प्रन्थ (कुमार नगरकोटी), नृत्याक्षर विज्ञान (भैरवबहादुर थापा), फिलिङ्गो (प्रभा बराल), फुलाङ्गे (लेखनाथ क्षेत्री), मोक्षभूमि (केशव दाहाल), रमिते (जेसन कुँवर) र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत्‌ १७१९-२०२० (भगिराज इङनाम) थिए। अन्तत : इङनामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ले बाजी मार्‍यो।

लामो समयसम्म सरकारी जागिरे रहेका इङनाम ६५ वर्षअघि तेह्रथुममा जन्मिएका हुन्।  लिम्बु समुदायको दस्तावेज संकलनमा लागिरहेका उनी मदन पुरस्कारले दिएको सम्मानले खुशी छन्।

'नेपालमा ऐतिहासिक दस्तावेजहरू संरक्षण गर्नुपर्ने राज्यको दायित्व हो। यद्यपि‚ मैले मेरो बलबुताले सकेको काम गरेको हुँ। यसको मूल्यांकन गर्ने काम राज्य हो। गुठीले मेरो कामलाई सम्मान गरेको हो भन्ने कुराले म खुशी छु,’ उनी भन्छन्, ‘यो मेरो व्यक्तिगत प्रयास हो।'

'आफ्नो जातिको दस्तावेज हराउनु हुँदैन भन्ने मेरो मान्यता हो। जातिको इतिहास हराउनु भनेको एउटा ऐतिहासिक सभ्यता, संस्कृति र पहिचान पनि हराउनु हो। यो मेरा लागि स्वीकार्य हुने कुरा होइन। यस कारण नै मैले दस्तावेज संकलन गर्न दुःख गरेको हुँ।'

पञ्चायत विरोधी अभियानदेखि नेपालमा भएका राजनीतिक परिवर्तनको साक्षी पनि हुन् उनी। २०७१  सालमा जागिरबाट अवकाश पाएपछि दस्तावेज संकलन गर्न थालेको उनी सुनाउँछन्। भन्छन्, 'त्यसपछिका दिन मैले अनुसन्धानमा बिताएको छु।'

बिहीबार गुठीको निर्णय सार्वजनिक हुँदा उनी काठमाडौंको अनामनगरस्थित आफ्ने घरमा थिए। घरायसी काममै हुँदा पुरस्कारको खबर आएको थियो। उनले सुरुमा आफूलाई पत्यार नलागेको सुनाउँछन्।

कसरी खोजे उनले दस्तावेज?

दस्तावेजले लिम्बु समुदायको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक पाटोलाई समावेश गरेको छ। पुस्तकमा कयौं त्यस्ता कुराहरू समावेश छन् जुन अहिलेका पुस्ताका लागि आश्चर्य लाग्न सक्छ।  ३०० वर्षको नेपाली समाज र त्यसमाथि लिम्बु समुदायको चिनाउने आँखीझ्यालको रुपमा पनि पुस्तक महत्वपूर्ण रहेको छ।

किताब लेख्न लागेको समय यति नै भनेर तोक्न नसक्ने उनले सुनाए। उनी भन्छन्, 'औपचारिक दस्तावेज संकलनको कुरा गर्ने हो भने २०७१ देखि हो। तर, मैले त्यसअघिदेखि नै दस्तावेज संकलन गर्न थालेको थिएँ।'  तीन वर्ष यता चाहिँ आफू स्थलगत अनुसन्धान गर्न लागेको उनी सुनाउँछन्।

'संकलनको दु:ख, खर्च, लेखनका लागि मैले समय बिताएँ। मेरा लागि यो कष्टकर तर सुन्दर अनुभव रह्यो', उनी भन्छन्।  

यो सजिलो काम थिएन। दस्तावेजका लागि  कयौं दिन विभिन्न स्थानमा राजधानीका पुस्तकालय, संग्रहालय , सरकारी अड्डा र गाउँगाउँ पुगेका छन् उनी। 'गाउँ घरतिर लिम्बु समुदायको दस्तावेज पोको पारेको अवस्थामा, बाकसमा त कति धुलो‚ धुवाँ र किराले काटिसकेका अवस्थामा थिए‚' उनी भन्छन्, 'तर, कम्तिमा ती दस्तावेज सुरक्षित रहेछन् भन्ने लाग्यो।'  

९१६  पृष्ठ रहेको उक्त पुस्तकमा भगिराजले  सन १७१० देखि २०२० सम्मका लिम्बु समुदायसँग सम्बन्धित दस्तावेज संग्रहित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.