|
फाइल फोटो

जनकपुरधाम : नेपाल सरकारले निर्धारण गरे पनि समर्थन मूल्य पाउन तथा त्यसबाट लागत मूल्य उठ्न कठिन हुने धनुषाका किसानहरूले बताएका छन्। सरकारले चालु आर्थिक वर्षका लागि मोटो धानको मूल्य प्रतिक्विन्टल २ हजार ७५२ तथा मसिनो धानको मूल्य २ हजार ९0२ रुपैयाँ तोकेको छ।

धनुषाका अगुवा किसान दिनेशकुमार यादवले सरकारले निर्धारण गरेको मूल्यमा धान बिक्री नहुने विगत वर्षको अनुभव रहेको बताए। करिब सात बिघामा सवर्णा, वासमति तथा हर्दिनाथ जातको धानको खेती गरेको बताउँदै यादवले गत वर्ष तोकेको समर्थन मूल्य नपाएको गुनासो गरे।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान जोन कार्यक्रमका धनुषा संयोजक समेत रहेका यादवले अहिले धानको उत्पादन लागत निक्कै बढेको बताए। उनले गत वर्ष प्रतिकट्ठा ४०० रुपैयाँमा रोपाइँ भएकोमा यस ५०० रुपैयाँ लागेको बताए। उनको अनुसार मजदुरको मूल्यमा २० प्रतिशत वृद्धि भए पनि सरकारले समर्थन मूल्य गत वर्षभन्दा सात प्रतिशत मात्र बढाएको छ। यसका साथै रासायनिक मलको मूल्य पनि बढेकाले लागत उठाउन कठिन हुने उनको बुझाइछ।

गत वर्ष मोटो धानको मूल्य २ हजार ७३५ र मसिनो धानको मूल्य २ हजार ८८५ रुपैयाँ तोकिएको थियो। तर‚ किसानले तोकिएको समर्थन मूल्य पाउन सकेनन्।

मिथिला नगरपालिका–२ नक्टाझिजका किसान रामशंकर महतोले खाद्य संस्थानले कोटाअनुसार मात्र धान खरिद गरे पनि आम जनताको धान खरिद नभएको बताए। समर्थन मूल्य पाउन भारतीय धानको अवैध आयातमा कडाइ गर्न आवश्यक रहेको किसानहरु बताउँछन्। खुला सीमाना भएको कारणले भारतबाट धान आउने गरेको छ। भारतमा धानको उत्पादन लागत कम हुने भएकाले नेपालका धानले प्रतिस्पर्धा गर्न कठिन भएको महतोले बताए।

धनुषा जिल्लामा रहेका कृषि योग्य भूमिमध्ये ३५ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका धनुषाका इकाईका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.