|

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सेवाग्राहीको घुइँचोले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ। जिल्लाका २० मध्ये १६ वटा स्थानीय तहका बासिन्दालाई एकै ठाउँबाट सेवा प्रवाह गर्दा चाप बढेको हो।

कर्मचारी अभाव र फितलो व्यवस्थापनका कारण सेवाग्राही नागरिकता नै  नलिई रित्तो हात फर्किनु परेको गुनासो गरेका छन्। ​हरिपूर्वा नगरपालिका–३ धनकौलका वसन्तकुमार सिंह नागरिकता बनाउन दुई दिन लगातार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय धाए तर उनले नागरिकता बनाउन सकेन। सिंहले दुई दिन लगातार अत्यधिक गर्मीमा लाइनमा बस्दा समेत नागरिकता बनाउन नसकेको गुनासो गरे।

उनले जस्तै अन्य सेवाग्राहीहरुलाई पनि अहिले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन निकै मुस्किल परेको छ। कार्यालयले नागरिकता र राहदानी बनाउन स्थानीय तहअनुसार आलोपालो प्रणाली लागु गरेको छ। आलोपालो लगाउँदा एउटा स्थानीय तहको १५ दिनपछि मात्रै पालो आउँछ। पालो परेकै दिन पनि थेगिनसक्नु घुइँचो हुन्छ। 

‘छोराको नागरिकताका लागि धाएको दुई दिन भइसक्यो, तर अझै बनेको छैन्,’ विष्णु गाउँपालिका–६, का बिक्रम कुमार मण्डलले भने, ‘दिन दिनभरि उभिँदा समेत पालो आएन। त्यसै घर फर्किनु पर्‍यो।’  

कार्यालयका सूचना अधिकारी राम नरेश रामले सहायक स्तरका कर्मचारीको अभावले नागरिकता वितरणमा समस्या भइरहेको बताए। ‘सेवाग्राहीको संख्या अत्यधिक बढिरहेको छ। जनसंख्याको बढ्दो चापका बीच कर्मचारीहरुको अभाव छ, त्यसैले यस्तो समस्या आएको छ,’ प्रशासकीय अधिकृत रामले भने, ‘एउटै कर्मचारीलाई दुई–दुई वटा फाँटमा खटाउनु परेको छ।’

कार्यालयमा तीन जना अधिकृतको दरबन्दी रहेकोमा एक जना रिक्त, १० जना नायब सुब्बाको दरबन्दी रहेकोमा सात जना रिक्त छ। जसमध्ये एक जनाको सरुवा भइसकेको छ। एक जना खरिदारको दरबन्दी रिक्त रहेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले कोरोना संक्रमणका कारण बीचमा केही महिना सेवा प्रवाह बन्द भएकाले पनि अहिले एकैपटक सेवाग्राहीको घुइँचो बढ्न गएको बताए। यस्तै, एसइईको नतिजापछि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको उपस्थिति, राष्ट्रिय परिचय पत्रको विवरण भर्नका लागि नागरिकता अनिवार्य गरिएको र च्यातिएको तथा झुत्रो भइसकेका नागरिकताबाट विवरण भर्न नमिल्ने भएकाले गर्दा नागरिकता बनाउन आउने सेवाग्राहीको अस्वभाविक किसिमले चाप बढेको प्रमुख जिल्ला अधिकारी महतोले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.