गठबन्धन भाँडिए त्यहीँबाट लाभ उठाउने दाउमा एमाले

|

हेटौंडा : बागमती प्रदेशमा नयाँ सरकार गठनको लागी विपक्षी गठबन्धनमा मुख्यमन्त्री पद बाधक बनेको छ।

गठबन्धनमा रहेको दुईवटा दलले मुख्यमन्त्रीमा दाबी गरेपछि वर्तमान सरकारविरुद्व जान नसकेको विपक्षीलाई मुख्यमन्त्री पद बाधक बनेको हो।

अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार कानुनीरूपमै अल्पमतमा परेको दुईसाता भइसक्दा पनि नयाँ सरकार गठनको तयारीमा रहेको विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो लगाउन सकेको छैन।

शाक्य नेतृत्वको सरकारविरुद्व रहेको विपक्षी गठबन्धनले मुख्यमन्न्त्रीको टुंगो लगाउन नसक्दा वर्तमान सरकारको कार्यकाल लम्बिँदै गएको छ। भदौ २ गते अष्टलक्ष्मीले मुख्यमन्त्रीको शपथ लिँदा दुईसाताको लागि मुख्यमन्त्री बनेको भन्दै विपक्षीले टिप्पणी गरेका थिए। तर, शाक्य नेतृत्वको सरकार अल्पमतमा परेकै दुईसाता बित्दा पनि मुख्यमन्त्रीको टुंगो लगाउन नसक्दा विपक्षी गठबन्धन मुख्यमन्त्री शाक्यविरुद्व जान सकेको छैन।

केन्द्रमा रहेको पाँच दलीय गठबन्धनको बागमती प्रदेशमा तीन घटक मात्रै छन्। नेकपा माओवादी केन्द्र ,नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी तीनदलयीय गठबन्धनले बागमती प्रदेशमा नयाँ सरकार गठन गर्ने भने पनि मुख्यमन्त्रीको आकांक्षी दुईजना हुँदा अलमलमा परेको छ।

हाल गठबन्धनमा रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता ईन्द्र बानियाँ र नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा  दाबी गरिरहेका छन्। पाण्डेले आफूले मुख्यमन्त्री पाउने सहमति भइसकेको बताउँदै आएका  छन् भने बानियाँ गोप्य रुपमा लबिङमा छन्। 

गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत लिन समय दिएको बताउँदै आए पनि मुख्यमन्त्री नटुंगिँदा शाक्यविरुद्व अविश्वासको प्रस्ताव लैजान नसकेको गठबन्धनका एक सांसदले बताए।

‘मुख्यमन्त्रीमा दुवै दलले दावी छोडेको छैन। त्यसैले मुख्यमन्त्रकिो टुंगो नलागेसम्म वर्तमान सरकारविरुद्व जान नसक्ने भएपछि समय दिएको हो,’उनले भने।

राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सहमति भइसक्यो : समाजवादी

वर्तमान सरकार विस्थापन गरेर गठबन्धनको सरकार बनाउन निर्णयक रहेको नेकपा एकीकृत समाजवादीले आफ्नो दलले प्रदेश सरकारको नेतृत्व गर्ने सहमती भइसकेको दाबी गरेको छ।

केही दिनअघि काठमाडौंमा भएको एक कार्यक्रममा समाजवादीका अध्यक्ष माधव नेपालले समेत प्रदेश १ र बागमती प्रदेशमा समाजवादीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

प्रदेशमा मुख्यमन्त्रीको दाबेदार रहेका राजेन्द्र पाण्डेले पनि आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बन्ने सहमति भइसकेको बताउँदै आएका छन्।

समाजवादीको बागमती प्रदेशको संसदीय दलको उपनेता कृष्ण खनालले बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि गठबन्धनमा मुख्यमन्त्री बाधक नबनेको स्पष्ट पारे। उनले भने, ‘मुख्यमन्त्री समाजवादीले पाउने सहमति भइसक्यो। राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुन्छ, त्यसैले प्रदेशमा नयाँ सरकार गठनको लागि मुख्यमन्त्री बाधक बनेको छैन।’ खनालले मुख्यमन्त्री शाक्यलाई नैतिकताको आधारमा विश्वासको मत लिन वा मार्गप्रशस्त गर्न समय दिएको भन्दै दशैअघि गठबन्धनको सरकार बन्ने दाबी गरे।

‘मुख्यमन्त्रीलाई हामी विश्वासको मत लिन पूरै समय दिन्छौँ। उहाँले मत पनि लिनुभएन मार्गप्रशस्त पनि गर्नुभएन भने त्यसपछिको प्रक्रिया अर्कै हुन्छ' उनले भने, 'दशैँअघि नै बागमती प्रदेशमा गठबन्धनको सरकार बन्छ।’

माधव नेपालले मात्रै भनेर हुदैन : कांग्रेस

नेपाली कांग्रेसको संसदीय दलको सचिव निमा लामाले बागमती प्रदेशमा मुख्यमन्त्री टुंगिनसकेको भन्दै एउटा पार्टीले मात्रै भनेर मुख्यमन्त्री नबन्ने टिप्पणी गरे। थाहाखबरसँग कुरा गर्दै लामाले भने, ‘माधव नेपालले मात्रै भनेर मुख्यमन्त्री बन्ने होइन नि। गठबन्धनमा अरू पनि दल छन्, अहिलेसम्म निर्णय भएको छैन। केन्द्रमा मन्त्रिपरिषद् विस्तार नभएसम्म प्रदेशमा पनि नयाँ सरकार बन्दैन।’

लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी यथावत रहेको भन्दै केन्द्रमा गठबन्धनको शीर्ष नेताहरूले गर्ने निर्णयअनुसार प्रदेशमा नयाँ सरकार बन्ने बताए। उनले केन्द्रमा मन्त्रिपरिषद् विस्तार नभएसम्म प्रदेशमा पनि गठबन्धनबाट नयाँ सरकार गठन नहुने दाबी गरे।

‘केही दिनमा नै केन्द्रमा मन्त्रिपरिषद् विस्तार हुन्छ होला, त्यसपछि बल्ल प्रदेशको कुरा अघि बढ्छ। हालसम्म कसले मुख्यमन्त्री पाउने भन्ने सहमति भएको छैन' उनले भने, 'हाम्रो दाबी कायमै छ दशैँअघि गठबन्धनको सरकार बन्छ।'

अहिले नै के गर्ने तय भएको छैन : एमाले

बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको एमालेले अहिले नै सरकार कसरी अघि बढ्ने भन्ने विषय तय भइनसकेको बताएको छ। एमालेको बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले हाल पार्टीको बैठक चलिरहेको र बैठकलगत्तै विधान महाधिवेशन रहेकोले संसदको विषयमा कुनै छलफल नभएको बताए।

उनले मुख्यमन्त्रीसँग विश्वासको मत लिन अझै केही समय बाँकी रहेको भन्दै हाल पार्टीको कार्यक्रमलाई मात्रै बढी महत्व दिएको बताए।

‘पहिला पार्टीको सबै कार्यक्रम सकौँ भनेर हामी यता लागेको छौँ तर हामीले सर्वोच्चमा रहेको मुद्‍दाको फैसला पनि कुरिरहेको छौँ,' उनले भने, 'फेरि केन्द्रमा यतिको समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नाले गठबन्धनमा समस्या भएको देखिएको छ। प्रदेशमा पनि विपक्षीले मुख्यमन्त्री टुंग्याउन सकेको छैन। गठबन्धन मिल्न नसके हामी त्यताबाट पनि लाभ लिन सक्छौँ भनेर हेर्दैछौँ।’ निरौलाले मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने अवस्था आए संसदमा मत लिने पनि स्पष्ट पारे।

बागमती प्रदेशमा साढे ३ वर्षसम्म एमोलले एकल बहुमतको सरकार चलाउँदै आएको थियो। तर पार्टी विभाजनपछि १३ जना सांसदले एमाले त्यागेर नवगठित एमाजवादी दल रोजेपछि एमाले नेतृत्वको सरकार बहुमतबाट अल्पमतमा झरेको छ।

पार्टी विभाजन भएर अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले संसदमा विश्वासको मत लिनुपर्ने भएको छ। विश्वासको मत लिन मुख्यमन्त्री शाक्यसँग अझै दुई साताको समय बाँकी छ। तर, विश्वासको मत माग्दा पनि उनले आवश्यक मत पाउने सम्भावना भने छैन। बागमती प्रदेशसभामा गठबन्धनबाहिर रहेको एमाले ४३, विवेकशीलको ३, राप्रपा र नेमकिपाको २-२ र एकजना स्वतन्त्र सांसद छन्। यी सबै मिल्दा पनि शाक्यसँग ५१ मत मात्रै हुन्छ। जुन सरकार गठनको लागि पर्याप्त मत होइन।

तर, विपक्षी गठबन्धनमा रहेका ३ वटा दल मिल्दा सरकार गठनका लागि बहुमत पुग्ने हुँदा शाक्य नेतृत्वको सरकार ढलेर गठबन्धनको सरकार बन्ने लगभग पक्का छ। गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रसँग २३, नेपाली कांग्रेससँग २२ र समाजवादीसँग १३ सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.