एकीकृत समाजवादी प्रवेशमा जबजको अड्को

|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएका वामदेव गौतम अन्योलमा छन्। नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बताउँदै आएका उनी अहिले अलमलिएका छन्।  

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले 'जनताको बहुदलीय जनवाद' (जबज) पूर्ण रुपमा आत्मसात नगरेको भन्दै तत्कालै यसमा समाहित हुने मनस्थिति उनले बनाएका छैनन्। 

एमालेबाट राजीनामा दिएपछि अन्योलमा रहेका गौतम आफूनिकट नेतासँग विभिन्न विकल्पबारे छलफल गरिरहेको उनीनिकट बाबुराम थापाले बताए। 

उनले भने, ‘उहाँले सबै विकल्पमा छलफल गरिराख्नु भएको छ। नयाँ पार्टी दर्ता गर्ने विषयमा पनि उहाँले आफूनिकट नेतासँग परामर्श गरिराख्नु भएको छ।’ 

नयाँ पार्टी गठनको छलफल

एमालेमै रहने, एकीकृत समाजवादीमा जाने वा नयाँ पार्टी दर्ता गर्ने भनेर छलफल भइरहे पनि कुनै निष्कर्षमा नपुगेको थापाले बताए। 

एमालेबाट त राजीनामा अस्वीकार भइसक्यो अब एमालेमै रहने सम्भावना के छ? थाहाखबरको प्रश्नमा नेता थापाले भने, ‘खुला विकल्पबारे छलफलमा हुनुहुन्छ। त्यो सम्भावना पनि नभएको होइन।’

जबजको सिद्धान्तलाई आधार बनाएर एकीकृत समाजवादी अघि नबढ्ने देखिएपछि उक्त पार्टीमा गौतमको प्रवेश रोकिएको जानकारी उनले दिए।

राजीनामा अस्विकार 

यता, उपाध्यक्ष गौतमको राजीनामा स्वीकृत नभएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ दाबी गर्छन्। 

उनी भन्छन्, ‘उहाँ (गौतम) ले दिनुभएको राजीनामा स्वीकृत भएको छैन, स्वीकृत नभएकाले निर्वाचन आयोगमा उहाँको पनि नाम पठाएका छौं।’ 

साविकको नेकपादेखि एकता अभियान चलाइरहेका उपाध्यक्ष गौतम एमाले विवादमा पनि नेकपा झैं अस्थिर बनि रहे।

नेता नेपालले पार्टी विभाजन गरे साथ दिने सार्वजनिक अभिव्यक्ति दिएका उनले एमाले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए। त्यसपछि उनी एमालेका कुनै पनि बैठकमै गएका छैनन्। 

कहिले यता, कहिले उता

नेकपामा पनि उनी कहिले ओली, कहिले प्रचण्ड-माधव समूहमा लाग्ने गरेको तत्कालीन नेकपाका नेताहरू बताउँछन्।

नेकपादेखि एमालेसम्म एकता अभियान चलाएका उपाध्यक्ष गौतमकै कारणले पार्टी विभाजन भएको आरोपसमेत उनीहरू लगाउँछन्। 

महाकाली सन्धिमा पार्टीभित्र एकमत नभएपछि ०५४ सालमा नेता गौतमले एमालेबाट विभाजित भएर नेकपा (माले) गठन गरेका थिए।

तर, निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि ०५८ सालमा उनी फेरि एमालेमै फर्किएका थिए। 

ओलीमाथि आरोपै आरोप

नेता गौतमले एमाले अध्यक्ष ओलीमा कुनै सुधार नदेखिएकाले राजीनामा दिएको बताएका थिए। 

ओलीमाथि आरोपै आरोप लगाएर राजीनामा दिएका गौतम अहिले आफैं ‘घर न घाट’ को अवस्थामा पुगेका छन्।

अध्यक्ष ओलीलाई सम्बोधन गरिएको राजीनामापत्रमा गौतमले लेखेका थिए, ‘तपाईंको कार्यशैली जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रूपमा सुझावहरू पनि दिएँ। तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो।’

 

गौतमले संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्त पालना नगरेको आरोप पनि राजीनामापत्रमा ओलीमाथि लगाएका थिए।  

‘तपाईंले अवलम्बन गर्नु भएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्काशनसम्म गर्नेजस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगाल्नुभयो,’ गौतमले लेखेका थिए, ‘त्यतिमात्र होइन, तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरूपयोग गर्नुभयो।’

उनले ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण पार्टीमा रहन असमर्थ भएको पनि उल्लेख गरेका थिए। 

जबजको अड्को 

नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्न गौतम जबजको अड्को थापेर बसेका छन्।

एकीकृत समाजवादीले जबज नअँगालेको भन्दै उनी पार्टीमा प्रवेश गर्न आनाकानी गरे। एकीकृत समाजवादीले जबज छाडेको भन्दै नेता गौतमले असन्तुष्टि व्यक्त गरे।

उता, उनले पार्टी प्रवेशमा अलमल गरिरहँदा एकीकृत समाजवादीले पार्टीका पदाधिकारी चयन गरिसकेको छ।

एमालेबाट राजीनामा गरेपछि न एमालेमै बस्नु, न तत्काल समाजवादीमा प्रवेश गर्नुको 'निल्नु न उगेल्नु' को अवस्थामा पुगेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.